माइली नाना


YYY
एक छलांग
रगत को रातो छाल
आँखै अगाडी छल्किएर बग्छ
स्देरोत, अस्कोलोन, अनि जेरुसलेम शहर भरिभरि
रॉकेट का घाट हरु दुख्दै जान्छन ।

अनि तिम्रो देशको धर्म
तिम्रो देशको समाचार
तिम्रो देशको साहित्य
तिम्रो छातीभरि भातृत्व माथी बिरोध सल्काउछ ।
र तिम्रो आँखा भरी भरी आगोका कोपिला हरु उमार्छ
र तिम्रो देश इजरायल आगो जस्तै रापिदै जान्छ ।


बिस्फोटन संग तर्सिएर
फेरी अर्को जागीर खोज्दै भौतारीएकी हाम्री माइली नाना,
गाजा र पश्चिम किनारमा
रगत को हिसाब किताब गर्नु लम्किएका
तिम्रा सैनिक जत्था र ट्यान्कका लश्करहरु हेरिरहेकी छिन ।

बी टू भीषा र अनिश्चिताका गहिरा चोट हरुमा
उनी इराकको आतंकमा मारिएका भाईहरु सम्झिन्छिन,
हाम्रै अनीता तामांग र कुवैतकी डोमा शेर्पा लाइ सम्झिन्छिन,
हाम्रो नियति ले यस्ता कथाहरु लेख्न
कहिले छोड्छ हँ ?

परदेशी हुनुको पिडामा
प्रवास यसबेला हाम्रो स्वीकारोक्ति बनेको छ ।
अरबका खाडी र मलायाका जंगलहरुमा मात्र होइन
भुगोल्का रेखा रेखा हरु छिचोल्दै,
हामी अभाव र आवश्यकता बिरुद्ध का संघर्ष हरु रचिरहेका छौं ।
बर्षों देखि समयको अस्वीकृत इतिहासमा
बहादुर लाहुरेवा परदेशीको बिबशताका कथाहरु लेखिराहेका छौं ।

जब विदेशको बिरानो पन,
हाम्रा चेतनाहरुमा,
समझानाका चोटहरु बनेर बिझाउने गर्छ ।
बिकासको आतंकले त्रस्त नगर हरु बाट
युगौं देखि सदियौं देखि,
घरको समझाना बिझेका हामी सीमाहीन प्रवासी हरु
सम्बेदनाहीन मान्छेहरुको व्यस्त भीड़बाट
अपनत्व र आत्मीयता खोजिराहेका हुन्छौं ।
राष्ट्र र राष्ट्रीयता खोजिरहेका हुन्छौं ।

तिम्रो मृतसागरमा
हामी मृत्यु का सुशुप्त इतिहास र कथा ब्यथा
खोतल्न आएका होइनौं ।
न त यी बगर हरु मा लुकेका
प्यालेस्ताइन का प्यासहरू अनुभव गर्न नै ।

कति हामी
जहि तहि मान्छे दुखेको घाइते परिवेश को बयान गरौं ।
कति युद्ध बारूद र सैनिक का कथा हरु सुनाऊं ।

आऊ प्रवास को आँगन बाट आजैदेखि
देश नभएको भावना को कुरा गरौं
आऊ हामी नेपाली भाषा,कला साहित्य
र संस्कृतिको कुरा गरौं ।

आऊ हामी प्रतिभाको कुरा गरौं ।
आऊ हामी नेपालको कुरा गरौं ।।

(प्रतिभा समूहका लागि कृष्ण थापा)

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]