धमिला राता दागहरू


YYY




कल्पनाको निलो सगरतल
इन्द्रेणी रंगका यी प्रसूनहरु
मलाई घामको झुल्को जस्तै लाग्छन
म हेरी रहन्छु ।







तेल अभिभ केन्द्र नजिकैको यो सानो शहर, सानो वस्ति डीजिन्गोफ़, हरेक विहान जसले पश्चिमतर्फको भू मध्यसागरको सामुद्रिक आद्रता र पूर्वको न्यानो घाम एकैसाथ महशुश गर्छ। प्रभात संगै उदाउछ मेरो झ्याल पनि, जहा निलो आकाश र कंक्रीटको अपार जंगलले भरिएको अजब दृश्य नचाहेरै पोखिइसकेको हुन्छ । सुन्दर डिजाइन र वास्तुले सजिएका यी आलिशान महलहरु गगन चुम्न उद्यत भएझै क्षितिजपर सम्म यस्तै एकोहोरो फैलिएका छन ।

झ्यालमा टांगिएको एकतामासको दृश्य पर क्षितिजतिर हेर्छु अनि घर सम्झन्छु हिमाल पहाड़ र खोलानालाहरु.....। प्रकृतिको त्यो तरंगमा क्षणभर हराउदा जून अतुलनीय सुखद अनुभव हुन्छ,त्यो अन्य सबै आयातित खुसी र भौतिक सुबिधा भन्दा मिठो चोखो र आत्मीय हुन्छ, लाग्छ कल्पनाका तिनै डुबुल्किहरु मेरा जिउने आधार हुन।

सागर किनारका वगरहरु, सर्लक्क उठेर घरहरुको घना जंगलमा अनुवाद भएका मात्र छैनन, मान्छेका बिचार र भावना पोखने मंचहरू, मनको कुरा बाड़ने मेला र चौतारीहरु कम्प्यूटर भित्र सांघुरिएदै गएका छन, यद्यपि सल्लेरी पाखा कै तृष्णा मेटिने गरि ठाउं ठाउं मनोरम उद्यान, पार्कहरु पनि बनेका छन र सागरका छालहरु पाइपको अन्तरकुन्तर बाटो भएरै पनि शहरको भित्री उपवनमा संगीतमय झरना र फोहोरा बन्न आइपुगेका छन। यो शहर जहाँ मान्छेले प्रकृति र प्राविधिको संयोजन गरेर यसरी सजाएका छन मानु कुनै शिल्प कुचिकारका रेखा र रंग हरुले क्यानभास् सजिएको हुन्छ प्रत्यक शहर बाटो घाटों पार्क र घर अनि कोठाका भित्री तह सबै सबै योजित कलात्मक र सुन्दर ......।

सबेरै कसैले फोन गर्छ "ओ राजनितिक कवी के छ हालखबर?"
उसले भर्खरै मेरो एउटा ग़ज़ल पढेको छ फेसबुकमा ।

विगतमा मैले मेरा धेरै रचनाहरुमा श्रृंगार र प्रेम भन्दा क्रान्ति वा राजनीतिलाइ अली बढ़ी नै उठान गरेको थिए, त्यसो त मध्यपूर्वको यो रणभूमिमा बसेर लेखिएका मेरा प्राय सबै लेख रचनाहरु युद्धकै सरोफेरोमा केन्द्रित छन । त्यसैले उ शतप्रतिशत गलत चाहि थिएन। देशको स्थितिले भित्र वा बहिर प्रत्यक्ष/परोक्ष प्रभाव पारेकै हुन्छ र मेरो साहित्य यसबाट अछुतो कसरी रहन सक्छ, भनेर उसलाई सम्झाउने कोशिश गर्छु। हैन ग़ज़लमा सौंदर्य र प्रेम मात्र सुहाउछ, कोमलता मात्र सुहाउछ उसको ठम्याइ छ ।

अब मैले देखाउन भए पनि अराजनीतिक विशुद्ध केही लेख्नै पर्छ।

तैपनि भन्छु -नेपालको अविरल गाईजात्रा र वितंडाको त कुरै नगरु! देखेका छैनौ टुडिखेलमा घोडेजात्रा देखाए झै यहाँ कसरी बेला बेला आकाशको विशाल रंगशालाबाट क्षेप्यात्र र युद्धक विमानको संहारकारी जात्रा देखाउछन? र शत्रुको नाश गर्यौ भन्छन ?

को हो मान्छेको शत्रु ?

अली अगाडी मैले धाइबाको ढकमक्क काठमांडू शीर्षकको संप्रेषण पढेको थिए एउटै कुराको वाक्क दिक्क लाग्दो विषयलाइ पनि अली पृथक दृष्टिकोण बाट चियाउदा यदाकदा त्यो सुन्दर पनि हुन्छ म अलीकती प्रभावित भएँ ।

त्यसो त म नियमित ब्लग लेख्दिन , कार्यव्यस्तताका धारिला समयहरूबाट आफुलाई जोगाएर फाटफुट कविता ग़ज़ल कोर्छु .त्यसमा पनि कहिलेकाही वरीपरी शास्त्रीय फ्रेम र मीटर लिएर घुमिरहने केही साथीहरुदेखि डर लाग्छ । युद्धभूमिमा बसेर घुमिफेरी त्यही युद्धकै कुरा, संघर्ष, वेमेल र विसंगतिका कुरा कति लेख्छस? कति धुवाउछस आगोको गन्थन, कहिलेकाही फुलको कुरा गर, प्रकृतिको कुरा गर --मलाई धेरैले सुझ्याएका छन ।

आज त्यस्तै केही कोर्न चाहे तर सकिन, पुरानै धंगधंगीले पराजित गर्यो, र फेरी हारयो मेरो सिर्जना !





धमिला राता दागहरू

आशाको किरणहरु छरिरहेको
न्यानो घाममा बसेर
एकदिन मेरा कल्पनाहरुलाई मैले
सगरको विशाल तलाऊमा सयर गर्न दिएँ
र हराएँ वादल पारी पारी सम्म ...

सगरमाथाको उचाइमाथि पुगेर म टक्क रोकिन्छु,
र नियाल्छु- नदी नाला हिमाल पहाड़ र हरिया जंगलहरु,
लेक, बेसी, मैदान, वगर, किनार र सागरको गहिराई,
र अनुभूत गर्छु धरती, नभ, ब्रम्हाण्ड र प्रकृति।
सधै झै यसपाली नि मौसमले बाह्रमासे थुंगाहरु लिएर आएका थिए
मेरो दृश्यको आँगन भरी भरी
प्रकृति फक्रिएको थियो ।

खेत बारी, मान्छेले कोरेको माटो अनि बाटो
र उसले गाएको गीत, अहा! कति धेरै सुहाएको
प्रकृति संगको उसको आत्मीयता र उसलाई प्राप्त
यी अनमोल खजाना र उपहार
शायद ईर्ष्यालु भएर मनमनै मैले भने
मान्छे तं कति भाग्यमानी ?

हो यहिबेला आज
मात्र यो पल, धर्तीको छाती माथी
रगतको सांध कोर्न हिडेका
अन्त्यहिन जुलुशको कुरा गर्न मन भएन
विद्रोह र समर्थनका रयाली,
सैनिकका जत्थाहरु, विध्वंसकारी ट्यान्कका लाम
वा गंतव्यहीन दिग्भ्रमित संवत्सरका लश्करसंग
केही गुनासो गर्न मन भएन
हो आज म वहारमा रम्न चाहन्छु ।

रगतको प्यास बोकेको
तिम्रो राजनितिक रणभूमि र
रुखो माटो संग र
हरघडी विश्फोटनको आवाज़ले तर्सन अभिशप्त
तिमीहरुसंग पनि मौसम अनि प्रकृति
कहिल्यै उदासीन भएनन ।
बरु क्षेप्यास्त्र र युद्धक विमानहरुको पृष्ठभूमि
निलो आकाश पारी
फेरी आशा र उमंगका क्षितिजहरु उघारीरहे
उब्जीरहे अन्नहरू, भरिई रहे किसानका भकारीहरु ,
तिमीले कैद पारेको गमला मै सही
फुलिरहे खुसीका फुलहरु ।

हो भाचिएपनि, चुँडिएपनि प्रकृति पलाउँछ
प्रकृति आशा हो,
म त्यही लेख्न बस्छु ।

सागरको लहरसंग खेलि सकेर
समथर तराईबाट उक्लँदै पहाड़का थुम्काहरु
र ठोक्किदै हिमालको चिसोपना सँग
निरन्तर बगि रहने यी चंचल हावाका झोंकाहरुको कुरा गर्छु
जो कहिल्यै भन्दैनन
म दुखेँ --बारूदको पिरो गन्ध संग मिसिएर .
वा म घाइते भएँ --राँको र टायरका धुंवाले ।

ए मान्छे ,
म आज रक्ताम्य गह्रारुको कथा बिर्सिन्छु,
र लेख्छु भन्छु -जस्माथी क्रान्ति जस्तै एक एक गर्दै
छपक्कै उम्रिएका सुन्दर फुलहरुका कुरा,
पहेला टुसाहरुका कुरा र हरिया मुनाहरुका कुरा,
अनि सधै उत्साह बोकेर उदाउने प्रभातका कुरा ,
जसले मेरो आँखाको गुलुबभरी स्वर्णिम रंग पोतेका छन ।

कल्पनाको निलो सगरतल
इन्द्रेणी रंगका यी प्रसूनहरु
मलाई घामको झुल्को जस्तै लाग्छन
म हेरी रहन्छु ।

धेरै पछि पृथक मुडमा
फूलको सौंदर्यको बयान गर्न खोज्छु
ती नदी पहाड़ र हिमालका चित्र कोर्न थाल्छु
मनको आँखा भरीभरी
रंगाउन चाहन्छु प्रकृतिको रंग मेरो कवितामा ।

हठात
स्वप्नभंग भए झै अनायास झस्कन्छु,
कानैमा बज्रिएको चर्को नाराबाजीको कोलाहलले
खै कहाँ कहाँ बाट मेरो निलो क्यानभासमा
राता र धमिला रंगहरु बेढंगले लत्पतिन्छन ।




भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]