रीत ..


YYY
 तस्वीर - www.crunchyroll.com


ठिक छ तिमीले भन्यौ
यो रीत हो- वियोग

मिलन पछिको विछोड ..
घाम पछिको छाया ...
भेटिनु अनि छुटिनु ..

तर खै त
रात पछिको दिन
प्रतिक्षा पछिको प्राप्ति

फेरि यसबेला .. भन त
तिमी किन सम्झाइरहेछौ
रीत सधै रीत जस्तो हुदैन ..... .

कृष्णजी, ब्लगलाई किन माया मार्नु भएको ?, शुक्लपक्ष लागेर उज्यालो भेटीयो कि कसो :) यस्तै हरफहरु फेसबुकमा टासिन थालिसकेका थिए ... कतै केहि नकेरेको धेरै भएको थियो ।






ब्लग लेखन को यो बिश्राम - कारण के थियो? हुनसक्थे - विदेशको वसाई, जागीरको प्रकृति वा अर्थमोह.... इ त पहिले पनि थिए वा सधै नै रहिरहनेछ्न । त्यस बाहेक पत्रिका प्रकाशनको व्यस्तता, अनेसासका कार्यक्रमहरु, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलको साधारण सभा, श्रम मन्त्रीज्युको इजरायल भ्रमण र इजरायलको रोजगारीका लागि नेपालीको फसेको करोडौं रकमको उद्धार हुने झिना आशा र त्यसले उब्जाएको व्यग्रता ..

व्यस्तताको सेरोफेरो धेरै लामो थियो , तथापि यी सबै केवल बहाना मात्र थिए भनेर मभित्रको ब्लगर बारम्बार गुनासो गरी रहेछ ।


त्यसो त लेखन पनि वहाना लाग्न थालेको छ - मन बुझाउने , मनको भारि बिसाउने वा भावनाको पनि अस्तित्व कतै हुन्छ भनेर देखाउने..तर कति उदासी हरु यस्ता हुन्छन जो न कतै लेखेर हल्का हुन्छन न कसैलाई सुनाएर । लाग्छ जो पोख्नु र नपोख्नु को कुनै अर्थ नै छैन । तर अर्को मनले त्यो पनि मान्दैन उ भन्छ तिम्रा भावनाहरु अभिव्यक्तिकै लागि मात्र हुन्, जब तिमी तिनलाई थुन्छौ ती अझ ज्यादा कष्टप्रद हुनेछन । त्यसो भए किन थुन्छ मान्छे आफुलाई र लुकाउछ अरुसंग कहिलेकाही ? मनहरुको अंतर्द्वंदमा धेरै हप्ता बितिसकेका छन - यतिखेर दोश्रो मन संग सहमत भएको छु र लेख्न बसेको छु ।

इखिलोभ भन्ने ठाउँ छ , टेड अरिसन स्वास्थ्य तथा अनुसन्धान केन्द्र, अर्थात सौरास्की अस्पताल । घडीले रातको दुइ हानिसकेको हुन्छ । झ्यालबाहिर दिउसो भन्दा पनि रमाइलो र झिलिमिली उदाइसकेको छ । म लोरिया लाइ सम्झिरहेछु, उ भर्खर भर्ना भएकी हो, त्यहि तलामा यियाल पनि भर्ना भएको छ म केहि हप्ता देखि यहि छु त्यसैले सदा भन्दा व्यस्त छु, (ब्लग विश्रामको मुख्य कारण पनि यहि हो ।) उनीहरु बिरामी हुन् म होइन , म काम गर्छु । अरु पनि छन - रसियन, रोमानी, माल्दोवा, फिलिपिनी वा इस्रयालीहरु । उनीहरु विहान सात बज्दा नबज्दै ड्युटी सकेर गैसकेका हुन्छन , म भने १० बजेसम्म बस्छु । कारण - मेरो ९३ बर्षको बिरामी छ- उ हरेक बिहान ९ बजे "फोर्टेओ" नामको सुइ लगाउदै आइरहेछ र त्यो मैले नै दिनु पर्छ । यो अलि नया र झन्झटिलो भएकोले नर्समा पनि उसको विश्वाश छैन ।

93 बर्षको यो बुढो मान्छेलाई जीवनको कत्रो मोह! उसको रगतमा हेमोग्लोबिनको मात्रा १२ १० हुदै ७ सम्म झरे पछी राति नै २ पैक रगत दिइयो, HB बढ्न थालेको संकेत पाएपछि उसको चाउरे अनुहारमा छाएको मुस्कान, हेर्नलायक हुन्छ, म हेरी रहेछु । त्यो जिजीबिषा रातको उज्यालो मा पनि चम्किरहेको उसको मधुरो बोली र इशारा बाटै प्रष्ट देख्न सकिन्छ ।

केहि समय म साच्चिकै कृष्णपक्षको अँध्यारोमा धकेलिएँ । रातभरको ड्युटी अनि दिनभरको सुताई त्यो भन्दा अरु अँध्यारो संसार अरु कुन बेला अनुभूत हुन सक्ला? ८ घण्टा भंदाका थप एक्स्ट्रा हावरहरु वाध्यतावश डलर संग साटिएका थिए र त्यसपछि बचेको समयले यताउता बरालिने बाहेक लेख्ने पढ्ने मा कहिले स्थान पाएन । पहिले ड्युटीमै यी सब हुन्थे, अहिले यहाँ "काखे निषेधित क्षेत्र" लेखिएको थियो ।


टिभी हेर्ने, रसियन फिलिपिनी वा रोमानिहरु मिलेर गफ चुट्ने बाहेक अरु कुनै उपाय थिएन , बिदाका दिन कुनै न कुनै प्लान पहिले नै तय भै सकेका हुन्थे ।


म यहाँ छु भन्ने थाहा पाएर मारिसेल माथिल्लो तलामा आइ । मारी लोरियाकी साथी । "क्रिश ! तिमीलाई कसैले सुनायो? लोरीलाई त क्यान्सर भएछ नि, अब के गर्ने होला? म तल्लो कक्षमा नपुग्दै उसका साथीहरुले लोरीलाई लम्फोसाइटिक लिम्फोमा अर्थात लिम्फ ग्ल्यांडको क्यान्सर भएको कुरा भने" ।

लोरीलाई क्यान्सर.... ? मैले हाम्री देवीमाया दिदीलाई सम्झिएँ । पोहोर साल उनि यसरी नै बिरामी परिन, डाक्टरहरुले उनलाई पाठेघरको क्यान्सर भएको ठहर मात्र गरेनन अवस्था जटिल भएको र उनी बाच्ने दिनहरु केहि महिना मात्र रहेको तोकेरै भिनिदिए । त्यो यहि तीजको बेला थियो । एउटा सांस्कृतिक कार्यक्रम मार्फत पांच लाखजति जम्मा गरेर एन आर एन तथा अन्य संस्थाहरुले सहयोग गरे ।

कुनै गणना छैन यस्ता कति देवीमायाहरु... लोरियाहरु, पराइको आँगनमा कर्म गर्दा गर्दै मृत्युसंग नजिक भैरहेछन । यसपाली पनि तीज उसैगरी आयो, कृषिमा काम गर्ने दाजुभाईहरुले आफ्नै हातले उत्पादन गरेका अन्न, तरकारी, फलफुल, दुध र घ्युले प्रवासमा रहेका १२०० भन्दा बढी चेली हरुलाई सामुहिक दरभोजको आयोजना गरेर माइतीको परिचय दिए । तेल अभिभको यो विशाल लेविन्सकी पार्कभरि राता र रंगीचंगी पहिरनमा सजिएर दिदीवहिनीहरु नाचे, मादलको घिन्तांग शहरी भरि गुन्जियो, विदेशी पत्रकार तथा टेलिभिजन च्यानल हरुले रमाइलो मानेर समाचार बनाए ।

तीजकै सन्दर्भ पारेर, राता तस्विरहरु टासेर चिटिक्क परेको टासो लेख्ने सोच त्यो दिनभर रह्यो, फेरी कुनै कारणले त्यो पुरा हुन पाएन । अर्को दिन महामहिम राजदूतको निवासमा मन्त्रीज्यूको स्वागतार्थ आयोजित रात्रिभोजमा सरिक भइयो । इजरायल सरकारले भर्खर नेपाली हरुको ४०० पेड भिसाहरु रद्द गरेको थियो , तत्काल रेस्क्यु हुन नसके करिब २० करोड बराबरको हाराहारीमा नेपाल र नेपालीको पैसा फस्ने पक्का छ । चाहे त्यो म्यानपावरको होस् चाहे ऋण काढेर विदेशिन लागेका गरिब बेरोजगार नेपाली दिदीबहिनीको ...त्यो हाम्रो पैसा हो । नेपालीको हो।

शुरुदेखि इजरायलको एउतै शर्त छ- म्यानपावरहरुले मनपरी पैसा उठाए, त्यो प्रथा तुरुन्त अन्त्य गरी यदि न्युनतम लागतमा कामदार आउने अवस्था हुने हो भने इजरायलको रोजगार आजै खुल्नेछ, तर अवस्था त्यस्तो छैन ।

वैदशिक रोजगारमा आउनु र दोश्रो दर्जामा उभिएर श्रम गर्नु नेपालीको रहर नभई वाध्यता हो । विग्रदो अर्थतन्त्र, वेरोजगारी. र असुरक्षाले त्यो सब निम्त्याई रहेको छ ।र सुरक्षित गन्तव्य खोज्दै हामी आफै "को भन्दाको कम" गरी लागत रकम बढाबढ गर्न वाध्य भैरहेका छौं ।


किन नियतिले अझै लेखिरहेछ हाम्रो भाग्यमा पराइभूमिमा यसरी दोश्रो दर्जामा उभिन र कर्म गर्न .. र स्वाभाविक भै रहेछन विदेशिने रहरहरु । लोरिया, उसको देश फिलिपिन्स पनि रेमिटेन्सलाई अर्थतन्त्रको महत्वपूर्ण हिस्सा बनाएर उभिएको छ ... घर छाड्नु वा विदेशिनु संग त उनलाई कुनै गुनासो थीएन । उसको गुनासो यो छोटो जीवन संग छ, या यो अस्वाभाविक मृत्यु संग ।

सबिना, लोरिया, मालो, नुया, सारा,जोहन, लोर्ना, सुदर्शन मारी...हामीहरु संगै दिजिंगोफमा रहदाका ती रमाइला दिनहरु सम्झन्छु । समुन्द्रको किनार सम्म लम्किएको लामो बगैचा क्याफे, गोरेटा र गल्लिहरु...हामीले संगै हासखेल गरेका, खाएका र डुलेका क्षणहरु फर्केर हेर्छु, कति छिटो बितेछ यो एक बर्ष? बिदाका दिनहरु एक अर्काको अनुपस्थितिमा हामिलाई खल्लो महशुश हुन्थे र अर्को दिनको प्रतीक्षामा रहन्थ्यौं । छुटिनु त हामीले छदै नै थियो एकदिन, तर लोरियासंग यस्तरी बिछोडिनु पर्ला भन्ने कलपना सम्म थिएन । प्रेमी प्रेमिकाको नाम नदिई यदि कसैले त्यो भन्दा बढी माया बाड्न सक्छ भने हाम्रो मित्रताको परिभाषा शायद यस्तै केहि हुन्थ्यो होला ।

जीवन गन्तव्य हैन यात्रा हो , त्यसो भए के यो यात्राको गन्तव्य "मृत्यु" हो त? त्यो महाशुन्य जहाँ सबै भावनाहरु निमिट्यान्न हुन्छन । जसको नजिकै आज उ उभिएकी छ । जीवनको यो कालो अन्तिम बिन्दुका विषयमा ज्यादा बहस नगरिए पनि या जति नै डराएर टाढा रहन खोजे पनि, मृत्यु हाम्रो अस्तित्वको एउटा अकाट्य वास्तविकता हो वा अझ भनुँ मृत्यु हाम्रो अस्तित्वको समाप्ति हो जुन कुनै पनि घडी आउन सक्छ , त्यो घडीका बिषयमा अनभिज्ञ हुनु हाम्रो अज्ञात सुख हो, जसबाट लोरिया बिमुख भएकी छ ।

"किन मलाई नै हुनु परेको? " शुरुमा उसका धेरै आसुहरु बगे ...उसंगको भेटले पनि सान्त्वना भन्दा अझ पिडा दिएजस्तो आभास हुन्थ्यो मलाई । तर यो घातक समाचार पछिको अस्वीकृति, आक्रोश, निराशा र समयसंग्को सम्झौता वा स्वीकारोक्ति सबै चरणहरु लोरियाले पत्याई नसक्नु संग सजिलै पार गरी ।

"जीवन त आजको नाम हो वर्तमान हो, त्यो मसंगै छ , भोलि के थाहा?" लोरिया हामीलाई नै सम्झाउन थालेकी थिई । उ भन्न थालेकी थिई , मसंग अझ धेरै बिहानहरु छन् हास्नलाइ, अझ धेरै साँझहरु छन् रम्नलाइ ... "म जतनले ती दिनहरु खुसि संग जिउन चाहन्छु" ।

पहिलो किमोथेरापी पश्चात उ यहाँ बस्दिन , हिजोका रहर र सपनाहरु सबै सबै भत्किसकेका छन । कामना र प्रार्थना बाहेक हामीसंग अब केहि छैन उसलाई दिन ।

लोरिया तिमीले त स्विकारि सक्योउ त्यो नियतिलाई जसको प्रतिवाद गर्ने कुनै अदालत छैन , तर कति गाह्रो छ त्यो कालो खबरलाइ स्वीकार गर्न म केवल अनुमान मात्र गरिरहेछु ।


यसबेला अरुणा लामाको स्वरमा सजिएको यो गीत
असाध्य सम्झना आइरहेछ --

भेटिनु छुटिनु त के हो र जीवनको रीत हो
नसम्झ तिमी यो मेरो विदाको गीत हो ...

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]