अधुरा सपनाको बाटो हुँदै.....


YYY
१. अधुरा सपना :

जीवन र मृत्यु बिचको दुरी छोटिदै मेटिदै गएको वा अझ समिपै आइरहेको सत्य देख्दा मान्छेको मनभित्र त्रासदीका भावहरु कति उद्वेलित हुँदा हुन् ? उसभित्र जीवनप्रतिको मोह र उसको जिजीविषाले कस्तो आकार लिदो हो ?आमाशयको क्यान्सर लागेर त्यस्तै भयमा बाँचिरहेका एकजना दाजुको लागि कार्यक्रममार्फत सहयोगको हात बढाउन अनुरोध सहित फेसबुकको इनबक्समा पत्रहरु भरिएका थिए ।

भरे सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै थियौं, कार्यक्रममा गरिने नाटक रिहर्सल र अन्य तयारीमा अनिदो थियो रात । सांस्कृतिक प्रेम र सामाजिक सन्देशको कुनै मिठो प्रेरणाले मोहित र अभिप्रेरित भएर म लगायत सहकर्मीहरु दिनेश प्रसाई, रुपा घिमिरे र ओम प्रसाई हिजो पनि राती तीन बजे मात्र निदायौं, र केहि दिनदेखि अहोरात्र यही प्रक्रिया चल्दै थियो। कार्यक्रमको मिठो कल्पना थपक्क आएर परेलीमा बसेपछि निन्द्राको बादल सबै पन्छिदो रहेछ । बिहानै पनि उत्तिकै फ्रेश थियौं, शायद यो अनुभव पहिलो पटक थियो ।

... तर घामको झुल्को झुल्किनु भन्दा अगाडी वाण जस्तो गरि आएको तितो खबरले अघि बुनेको स्फुर्तिको महल सबै भत्काइदियो एकै पलमा । खबर थियो, एउटी चेली गीता गुरुङ,जो सुन्दर भविस्यको सपना साँचेर परदेशमा संघर्ष गर्दा गर्दै बितिन । उनका सपनाहरु यहीं थाति रहे, यहि कतै अल्झिए यो बिरानो मुलुकमा । खुसीमा अनुवाद भएर साकार हुन अब कहिले नेपाल फर्कने छैन उनका रहरहरु - फर्कने छ त केवल एउटा निष्प्राण देह।

मैले व्यक्तिगत रुपमा उनलाई चिनेको थिए, इजरायल आएदेखि उनीसंग धेरै पटक भेट पनि भएको थियो, उनी मिलनसार थिईन । मृत्यु कति अपत्यारिलो सत्य? निमोनियाको बहाना पारेर चुडेर लग्यो उसको जीवन । उनको असामयिक निधन भयो ।

इश्वरले धेरै रहस्यको ज्ञानबाट वर्जित गरेको छ मान्छेलाई । त्यसमध्य एउटा हो मृत्यु, जो अनिवार्य जोडिएको हुन्छ जीवनसँग । यदि त्यस्तो थिएन भने अस्पतालको शैयामा गीता गुरुङले पक्कै भन्ने थिईनन् आफ्ना संगीहरु संग -
" म बिरामी हुदाको, यो मेशिनको, यो पाइप जोडिएको बेलाको राम्रो राम्रो फोटो खिचेर राख्नु है केटी हो, निको भएपछि हेर्नुपर्छ"
तर उनी यसरी निदाइन - अस्पतालका अन्तिम घडीका ती तस्वीरहरु अब उनले कहिलै हेर्न पाइनन् ।





२ परदेश र सांस्कृतिक तिर्सना

मध्यपूर्व इजरायलको मध्यभागमा अवस्थित यो शहर तेल अभिभ, अनि मेरोसंदेश सांस्कृतिक साँझको रमझम । हामीसंगै खुसि बाड्न चउरभरि भेला भएका छन परदेशी मनहरु ।

जुनको महिना, लेविन्सकी पार्कको फराक आँगनमा हामीले सांस्कृतिक र सन्देशमुलक कार्यक्रम गर्यौं । सुनौलो भविष्यको कल्पना सहित सधैं घर परिवार वालबच्चा सम्झिएर संघर्ष गरिरहेका ती हजारौं दीदीबहिनी र दाजु भाइहरुका कथा व्यथाहरु सुनायौं जो सधैं ओझेलमा परे, तिनका आवाजहरु उठायौं र प्रवासमा फैलिदै गएको अर्थहीन र विकृत राजनीति तथा विसंगति बिरुद्ध औंला पनि उठायौं ।

स्वदेशी गीत संगीत, नृत्य तथा कार्यक्रम हेर्न प्रवेश टिकटमा नै हजारौं रुपैयाँ खर्च गर्नु पर्ने बाध्यताको शिकार भएका नेपालीहरुलाई हामीले त्यही स्तरको कार्यक्रम यसपाली उदांगो र खुल्ला चौरमा देखायौं ।

दर्शकदीर्घामा जब हाँसो र तालीको गडगडाहट गुन्जन्थ्यो या नारीप्रधान वियोगान्त नाटक हेरेर आफ्नै भावना संग मेल खाएका धेरै दीदी बहिनीका आँखा रसिला हुन्थे, हामी कार्यक्रमको उद्देस्यमा सफल हुदै गएको अनुभुतिले द्रविभूत हुन्थ्यौं ।

धेरैले हार्दिक सहयोग गरे, उद्योग व्यवसायीहरुले आर्थिक सहायता गरे । कलाकार, टेक्निसियन, पत्रकार, फोटोग्राफर सबैले आ आफुले सकेको निस्वार्थ भावले सघाए । सबै भन्दा महत्वपूर्ण कुरा नेपाली समुदायको सद्भाव माया र हौसलाले हामीलाई नैतिक बल मिल्यो, कार्यक्रम सफलताका रहस्य तिनै थिए ।

इन्टरनेटमा देखाइने भिडियो कार्यक्रमका सन्दर्भमा हामीले अझ केही पनि गरेकै छैनौं । गर्नु पर्ने धेरै बिषय र कार्यहरु बाकी छन । प्राविधिक हिसाबले हेर्दा यो केवल ब्लग मात्र हो सामुहिक ब्लग, र यसको नाउमा कार्यक्रम गरिए पनि यो केवल हाम्रो उदेस्यको बहाना मात्र हो भन्ने मलाइ लाग्छ, सामाजिक सांस्कृतिक सन्देश र सचेतना हाम्रो मूल धेय हो र जसका लागि यस्ता कार्यक्रमहरु हामीले गर्दै रहनु पर्छ ।

नियालेर हेर्दा चिनेजस्ता लाग्ने झपक्क दारी जुँगा पालेका धतुरे बाजे इजरायल आएपछि २ दर्जन भन्दा धेरै संस्था खोलेर राजनीति गर्न पल्केका नेताप्रवृत्तिको अभिनयमा दुरुस्त उत्रिएका कलाकार श्याम रोक्कालाइ सम्झाउदै थिए,, हेर बाबै पितृले सराप्लान, मरे पछि पनि जाने ठाउँ राख । घरिघरि उनी दर्शकतिर फर्केर भन्थे दुइ दिनको रमझममा भुलेर सधै विदेश विदेश भनेर पनि हुदैन, अब घर फर्कनु पर्छ, आफ्नै देश फर्कनु पर्छ । यौवनको जोश जाँगर र सिपको लगानी अब देशकै माटोमा गर्नु पर्छ ।

मेरोसंदेश साँझमा प्रस्तुत नाटक गीत वा सङ्गीतहरु हाम्रै परिवेशका दृष्टान्तहरु थिए । बेरोजगारी र बिग्रदो अर्थतन्त्रको मारमा चेपिएर परदेश हानिएका किशोर किशोरीका विवशताहरु थिए । परदेश लागेपछि नारीलाई हेर्ने दृष्टिकोण र पुरुषवादी मानसिकता विरुद्धका अभिव्यक्ति पनि त्यहाँ पोखिएका थिए । र नेपाली प्रवासी समुदाय बिचमा आफै भित्र फैलिएको वेमेल र विसंगत अवस्थाको चित्रण थियो - मेरोसंदेश साँझ ।






३ भोट र इजरायल
लाक्पा दाइ र मदनका कथा

मुनामदनको कथा आज पनि उस्तै छ
ठाउ ठाउँ फाटेका अभावका थोत्रा राडीहरु टाल्न
मदनहरु खाडी चाहार्दैछ्न
र चराउदैछ्न भेडाहरु ।

ल्हासा त एउटा कथा मात्र हो तिमीले लेखेको
लालाबालाका आङ ढाक्ने ठिहिरो रहर बुन्दै
ऊन टिप्न कहाँ कहाँ मात्र पुगेका छैनन् मदनहरु?


मुनामदन महाकाव्य र यसको कथानक दृश्य परिदृश्यहरु एक एक गर्दै सल्बलाउछ्न । त्यहाँ पुगेपछि, (जहाँ मदन ल्हासाबाट फर्कदा बाटोमा बिरामी परेका थिए) बारम्बार लागिरह्यो त्यस्तो नभई दिएको भए हुन्थ्यो । त्यही त मुल कारण थियो मुनामदनको कथा वियोगान्त हुनु ।

मदनको ठाउँमा उभिएका थिए संखुसभाका लाक्पा दाइ हामी माझ, २ बर्ष पनि पुगेको छैन, इजरायल आएको । त्यो निष्ठुरी दैवको आँखा लागे पछि कसको के लाग्छ ? उनको आमाशयमा क्यान्सर देखियो यतिखेर उनि जीवन र मृत्युको दोसाँधमा उभिएका छन । अझै २ वटा किमोथेरापी पश्चात मात्र चिकित्सक हरुले निर्क्यौल गर्ने छन उनको बाच्ने सम्भावना र आधार कति छ भनेर । त्यसैका लागि मेरोसंदेश साँझ मार्फत आवाज उठाइयो ।

ल्हासाको जंगलमा मदन बिरामी परेर थलिंदा उनका साथीहरुले एक्लै छोडेर गएपछि उनलाई कसैले नभेटेको भए, वा भेटेर पनि वास्ता नगरेको भए के हुन्थ्यो होला ?

हो कथाभित्रको त्यो निष्ठुर मन भएका मदनका साथीहरुको उदाहरण कुनै पनि परदेशीले बन्नु हुदैन । हामी मान्छे, वा भनु सामाजिक मान्छे भएर जिउँदा मात्र हाम्रो प्राप्ति र सन्तुष्टिले गहन अर्थ राख्नेछ । लाक्पा दाइको भावना बोलिदिने तेन्जिंग शेर्पा, ऋतु गिरी र खुशी विष्टले मेरोसंदेश मार्फत अरु मनहरु संग यसै भने ।

उनको उपचारार्थ कार्यक्रममा संकलित २४७५ डलर लाक्पा दाइलाई र १००० सेकेल साइकलमा विश्व घुम्न निस्केका यात्री धनेश्वर क्षेत्रीलाइ हस्तान्तरण गर्दा मेरोसंदेशले एउटा अर्को अर्थपूर्ण सामाजिक कार्य गरेको गर्वानुभुती पनि गर्यो । लाक्पा दाइको यो कथा सुखद घुम्ती भएर गुज्रियोस र फर्कियोस उनको मुहारमा मिठो मुस्कान, सबैसंग एउटै कामना थियो ।




तर यहाँ मन दुख्ने अरु धेरै अलिखित कथाहरु छन
एउटा कथा यो
४ "ढुंगाहरुको लश्कर"

शरणार्थी हुने नेपालीहरुको लाम देखिरहेछु केही दिन देखि यहाँ । युद्धै युद्धले भग्नावशेष जस्तो इतिहास बाँचेको यो इजरायलमा ।

हुनसक्छ देश अलिकति भत्किएको होला, बन्द भएको वा हड्ताल जुलुश अस्तव्यस्तता र सङ्कटग्रस्त अवस्थामा होला देश । तर पक्कै त्यस्तो अँध्यारो पनि छाएको छैन जहाँ बाच्ने आधारभूत आवश्यकता नै निभेको होस् ।

फेरी किन फर्कन चाहि रहेका छैनन् , कृषिमा काम गर्न आएका कामदार, अध्ययन गर्न आएका विद्यार्थी, वकील, पत्रकार वा कार्यक्रम देखाउन आएका कलाकार पनि । यो मरुभूमिमा आएर शरणार्थी हुन पाउदा किन औधि खुशी भै रहेछौ हामीहरु ?

तिनका आँखाहरुमा देखिने डर, त्रास आशा वा खुसीका असंख्य भावहरु एकैपटक पढ्दा मलाइ के लाग्न थालेको छ भने अभाव र बेरोजगारीको अत्यासबाट हुत्तिदै मान्छेले परदेशको बाटो समातेपछि शायद उसले आफ्नो अहम संग पुरै सम्झौता गरिसकेको हुन्छ । अनि उसभित्रको सप्पै आदर्श र स्वाभिमान कहाँ कतिखेर विचलित भैसकेको हुन्छ उसले पत्तै पाउदैन ।

सुखको सपनामा बन्दी भएर भौतारिनु कति दुख लाग्दो नियति ?

मान्छेको अहम्ले महत्व पाउने र गर्व गर्न सक्ने स्थिति विद्यमान भएको त्यो रेखा नाघेर बाहिरिए पछि उ आफु आफु नै हुदैन रहेछ, उ त केवल ढुंगा जस्तोमात्र हुदो रहेछ ।

आफ्नै परीचय बिर्सदै गएको बेला उसलाई कुन देश चाहियो कुन राष्ट्रियता चाहियो ? धेरैले यस्तै अस्पष्ट उत्तर दिए । यो बिचित्रको सम्झौता हो, जहाँ मान्छे आफ्नै मन संग पराजित् भएको हुन्छ, हारेको हुन्छ ।

होला, अलिकति विवशताका अंशहरु पनि होलान, ... तर जसले बाध्यताको परिभाषामा थुने पनि म यो अवस्थालाइ स्वप्नमोहकै संज्ञा दिन्छु अब । नेपाली हुँ भन्नासाथ एउटा कामदार मात्र ठान्ने इजरायलीको देशमा शरणार्थी हुन जाँदा हाम्रो आत्मसम्मानमा किन चोट नलागेको ? किन नदुखेको देश?

किनकि ढुंगालाई दुख्दैन, छुदैन र पोल्दैन । अहँ, ढुंगालाई केही पनि हुदैन ।


म चुपचाप स्थुल शरीरहरुको एउटा लामो लर्को र ढुंगामा अनुवाद भएका एक थुप्रा मनहरु हेरिरहेछु ।


नेपालीहरुले यसरी ढुंगा हुनु पर्ने दिनको अन्त्य कहिले होला?

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]