भेटवार्ता - शर्मिला खड्का दाहाल


YYY
नेपाली साहित्यमा पुरस्कार साथै सम्मानको व्यवसाय चलेको छ, यो कुरा निर्विवाद होइन


साहित्यकार शर्मिला खड्का(दाहाल)

वि.सं. २०२३ साल भोटेपुल धरानमा जन्मनु भएकी शर्मिला खड्का (दाहाल) हाल एम. ए अध्ययनरत हुनुहुन्छ । कथा, कविता, लेख र बालसाहित्य विधामा कलम चलाउनुहुने खड्का उत्खनन् नारी साहित्य प्रतिष्ठान इटहरीकी संरक्षक, साहित्य सञ्चार समुह संस्थापक सदस्य, नेपाल बाल साहित्य समाज काठमाण्डौं आजीवन सदस्य, वाणी प्रकाशन विराटनगर साधारण सदस्य, अच्छा राई रसिक प्रतिष्ठान इटहरी आजीवन सदस्य लगायतका पदमा रहि जिम्मेबारी सम्हाल्दै आउनुभएको छ । साझा बाल साहित्यपुरस्कार २०६०, अनेसासको सर्वोत्कृष्ट नारी हस्ताक्षार स्व. डिल्लीराम तिम्सिना स्मृति पुरस्कार २००७ बाट पुरस्कृत भै सक्नुभएकी खड्का नेपाल बाल साहित्य समाजको राष्ट्रिय सम्मेलन, धरान बाल साहित्य समाज, मनोक्रान्ति बालविकास केन्द्र इटहरी, पाटन लेडी जेसिज, जेसी महिला सम्मान कार्यक्रम २०६३, एभरेष्ट फाउण्डेशन काठमाण्डौं, नेपाल सम्मान २०६४ लगायतबाट सम्मानित हुनुभएको छ । बालमनोवैज्ञानिक उपन्यास ‘सानी’, धारावाहिक बाल उपन्यास ‘सानीको साहस’, ‘मित्रताको महत्व’, लद्युकथा संग्रह ‘संवत्–अफिस’, बाल उपन्यास ‘सिन्केको सफलता’ बाल एकाङ्की संग्रह ‘उज्यालो बाटो शिक्षाको’ कथासंग्रह ‘समयको क्यानभासमा’, सानीको साहस अंग्रेजी संस्कारण ‘सानीज भेलोर’ लगायत कृतिहरु प्रकाशित गरिसक्नुभएकी खड्का हाल काठमाण्डौं नयाँ बानेश्वरमा बसोबास गर्नुहुन्छ । हालै गुञ्जन नारी साहित्य संस्थाबाट पुरस्कृत हुनुभएकी खड्कासँग नेपाली साहित्य अनि पुरस्कार तथा सम्मान संस्कृतिका बारेमा गरिएको कुराकानी–


तपाईँ भर्खरै गुञ्जन नारी साहित्य संस्थाबाट पुरस्कृत हुनुभएको छ कस्तो लागिरहेछ ?


– पुरस्कार पाउँदा खुसी लाग्नु स्वभाविक हो । मलाई यो पुरस्कार अहिले नै पाउँछु जस्तो लागेको थिएन । ‘कर्म गर फलको आशा नगर’ भन्ने कुरामा विश्वास गर्छु म । पुरस्कार पाएपछि धेरैजना वरिष्ठ साहित्यकारहरूले ‘तिमीले पायौ, खुसी लाग्यो, तिमीले पाउनुपथ्र्यो’ भन्नुभयो यसो भन्नुहुँदा चाहिँ साँच्चै मैले केही गरेको रहेछु भन्ने लाग्यो । यो पुरस्कार एकदमै सम्मानित पुरस्कार हो । यो पाउनु मेरो साहित्यिक लेखनमा ठूलो सफलता हो । साथै हामी पूर्वाञ्चलवासी र इटहरीको लागि पनि गौरवको कुरा हो ।


तपाइँलाई पुरस्कारको ठीक मूल्याङ्कंन भएजस्तो लाग्छ कि लाग्दैन ?


– पुरस्कारको ठीक मूल्याङ्कन भएको हुनुपर्छ भन्ने लाग्छ किनभने यो एउटा व्यक्तिले गरेको निर्णय होइन समूहले गरेको हो । यो पुरस्कार नेपाली नारी श्रष्टामध्ये देश तथा विदेशमा बस्ने नेपाली नारी श्रष्टा मध्ये नेपाली भाषा साहित्यमा सबैभन्दा बढी सेवा गर्ने सक्रिय र प्रतिभाशाली नेपाली नारीलाई दिइने पुरस्कार हो । गत साल आसाम गुवाहिटीको डा. शान्ति ठटालले पाउनु भएको थियो । यो नेपालका बौद्धिक र सिर्जनशील नारीहरूले स्थापना गरेको गुञ्जन नारी साहित्य संस्थाबाट दिइने पुरस्कार हो । यस सस्थालाई निकै सम्मानित र विश्वासिलो मानिन्छ । यस संस्थाले दिइने पुरस्कारलाई पनि उत्तिकै सम्मानित रूपमा हेरिन्छ ।


आजकल नेपाली साहित्यमा पुरस्कारको व्यवसाय चलेको छ रे हो ?


– नेपाली साहित्यमा पुरस्कार साथै सम्मानको व्यवसाय चलेको छ यो कुरा निर्विवाद होइन । आफनो काम गरिदिने व्यक्तिलाई आफूलाई काम लाग्ने संस्थालाई पुरस्कार तथा सम्मान दिने प्रचलन बढेको छ तर कतिपय पुरस्कार विवादरहित पनि छन् ।


प्रतिष्ठित पुरष्कारहरू कहिलेकाँही विवादित बन्ने गरेका छ नि ? साहित्यकारहरू नै असन्तुष्टि व्यक्त गर्ने गर्छन् नी ? के नेपाली साहित्यमा पनि राजनीति हावी भएको हो ?


– सधै त नभनौ कोहीबेला प्रतिष्ठित पुरस्कार पनि विवादित बन्ने गर्छ । साहित्यकारहरूले असन्तुष्टि व्यक्त गरिरहेका हुन्छन् । यसमा किन यस्तो हुन्छ भन्ने कुराको मेसो चाहिँ मैले पाउन सकेको छै्न । तर राजनीति, पुर्वाग्रही, नातावाद, कृपावाद हो कि भन्ने मलाई लाग्छ ।


यसका लागि जिम्मेवार को हो ?


– यसको जिम्मेवारी त पुरस्कार छनौटमा बस्नेहरू नै पर्नुहुन्छ । उहाँहरूले मूल्यांकन पद्धतिलाई पारदर्शी बनाएर पुरस्कार दिनुपर्दछ ।


साहित्यकारहरुलाई पुरस्कृत गर्दा कृति कि व्यक्तित्वको बढी मूल्याकन गरिन्छ ?


– साहित्यमा पुरस्कारको प्रकिया हेरेर पुरस्कार दिइन्छ । त्यो पुरस्कार केका लागि स्थापना गरिएको हो भनेर स्थापना गर्दा नै उद्देश्य खुलाइएको हुन्छ । जस्तो समालोचना क्षेत्र निबन्ध, कथा, कविता आदि अनि कुन उमेर त्यो पनि खुलाइएको हुन्छ । त्यही अनुसार पुरस्कार दिने गरिन्छ ।


तुलनात्मक रूपमा महिला साहित्यकारहरु कमै पुरस्कृत र सम्मानित हुन्छन् नि ? के लैङ्गिक असमानताको यो छनक हो ?


– लैङ्गिक आधारमा महिलालाई पुरस्कार नदिइएको त पक्कै होइन होला भन्ने मलाई लाग्छ । बरु महिलालाई मात्र दिइने पुरस्कार छन् तर पुरुषलाई मात्र भनिएको पुरस्कार अहिलेसम्म मलाई चाहिँ थाहा छैन । महिलाहरू पुरुषको प्रतिष्पर्धामा आउन नसकेर यस्तो भएको जस्तो मलाई लाग्छ । महिलालाई साहित्यिक क्षेत्र अत्यन्त गाह्रो भएको क्षेत्र हो । यसमा कलम चलाउने महिलाको सख्या नै अत्यन्त न्यून छ । त्यही भएर पुरस्कार पनि एकदम नै कमले पाउने गर्दछन् ।


आजकल उल्लेखनीय साहित्यिक पत्रपत्रिकामा अनि वेवसाइडहरुमा तपाईँका रचनाहरु प्रशस्तै देखिन्छन् नि ? तपाइँ आफ्नो मूल्याङ्कन कसरी गर्नुहुन्छ ?


– यो हुनलाई म अस्वाभाविक मान्दिनँ किनभने अहिले म निकै सक्रिय रूपमा लागि परेको छु । जागिर छोडे यता सम्पूर्ण समय साहित्यलाई दिइरहेको छु । यसरी लाग्यो भने म मात्र होइन जो कोहीले चर्चा पाउनुहुन्छ जस्तो लाग्छ । फेरि मेरो आफ्नै ब्लगले पनि धेरै पाठकको नजिक पुर्याउन सफल बनायो । फेरि पत्रपत्रिका निस्केको रचनाहरूको पनि पढ्ने जतिले प्रायः कार्यक्रमतिर राम्रो प्रतिक्रिया दिनुहुन्छ । यसो भएर चर्चा पाएको हो तर मैले साहित्यमा त्यस्तो ठूलो उल्लेखनीय काम त केही गरेको छैन, मात्र यो चर्चा हो जस्तो लाग्छ र चर्चा र योगदानमा अलिक फरक पनि छ । चर्चा क्षणिक हुन्छ योगदान जीवन्त हुन्छ । मेरो लक्ष्यमा पुग्न मैले अझ धेरै साधना गर्न आवश्यक छ जस्तो लाग्छ मलाई ।


नयाँ कृतिहरू आउन लागेका छन् ?

– भर्खरै सानीको दोस्रो भागको अङ्गे्रजी संस्करण निकालेको छु । केही विदेशी बालसाहित्यकारहरूले राम्रो प्रतिक्रिया दिनुभएको छ । विशेषगरी उनीहरू पुस्तकमा भएको छाउपडी प्रथालाई रोचकताका साथ लिएका छन् । अब सानीको पहिलो भाग राम्रो र स्तरिय पुस्तकमा आउँदैछ । त्यसपछि सस्मरण सङ्ग्रह, केही बालउपन्यासहरू र कथोपन्यास क्यानभानमा कोरिएका कथाहरू आउँदैछ । एउटा समालेचना संग्रह, अर्को एउटा कथासंग्रह पनि तयार चाहिँ हुँदैछ ।


प्रस्तुति - राजेश नतांश

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]