‘यौन के हो ? –अचार’ शुषमा मानन्धरसँग अन्तरंग I


YYY

शुषमा मानन्धर, कवि/कथाकार

वि.सं. २०२० सालमा जन्मिनुभएकी शुष्मा मानन्धर बहुमुखी प्रतिभाकी धनी हुनुहुन्छ । करिब दुई दशकभन्दा बढी समयदेखि नेपाल प्रशासकीय स्टाफ कलेज जावलाखेल ललितपुरमा प्रशासकीय अधिकृत जस्तो गरिमामय पदमा कार्यरत हुनुहुन्छ । समाज सेवा तथा विभिन्न साहित्यिक सिर्जनामा विशेष चासो राख्नुहुने मानन्धर कार्यालय व्यवस्थापन तथा संचालनसम्बन्धी विभिन्न तालिमहरु संयोजन गर्नुहुन्छ । विशेषगरी महिलावादी लेखनीमा रुचि राख्नुहुने उहा“का मधुपर्क तथा गरिमा लगायतका साहित्यिक पत्रिकामा छापिएका कथाहरु संग्रहित भएर पहिलो कथासंग्रह प्रकाशन हुँदैछ । प्रस्तुत छ, उहा“स“ग राजेश नतांशले गर्नुभएको कुराकानी :




आजकल के लेख्दै हुनुहुन्छ ?
– दिमागमा अधकल्चा प्लटहरु धेरै छन् । अफिसको कार्यव्यस्तताले गर्दा लेख्न थालिसकेकी छैन ।



साहित्यिक यात्रामा कसरी होम्मिनु भयो ?

– सानोमा उपन्यास पढ्ने, रेडियोमा बाल कार्यक्रम र शैक्षिक कार्यक्रम सुन्ने बानीले लेख्ने लत लगाएको हो ।



लेखनको प्रारम्भिक चरणमा रचनाहरु पत्रपत्रिकामा छापिँदा कस्तो अनुभव हुन्थ्यो ?

–कुरै नगर्नुस् कति आनन्द लाग्थ्यो भन्ने बारे । आफ्नो रचना प्रकाशित वा प्रशारित हुँदा हप्तादिनसम्म खुशी लागिरहन्थ्यो ।



तपाई कुन विधामा बढी सफल भएको जस्तो लाग्छ ?

शायद कथामा ।



आफ्नो सिर्जनाको आत्ममूल्याङ्कन कसरी गर्नुभएको छ ?

–जति पटक पनि आफ्ना रचना पढ्छु, संशोधन गर्न सक्ने कुराहरु भेटिरहन्छु । राम्रो लेख्ने कोशिस गर्छु तर तिनलाई अझ राम्रो बनाउन सक्ने ठाउँ बाँकी नै हुँदो रहेछ ।



तपाई आफ्ना सिर्जनमा कसरी विषयबस्तुहरुको खोजी गर्नुहुन्छ ?

–आफूभित्र, बाहिर, घरमा, अफिस, साथीसङ्गीका र  देखे भोगेका कुराहरुलाई नै मैले विषयबस्तु बनाउँदै आएकी छु ।



लेखकको आफ्नै शैली हुनुपर्छ भन्ने गर्छन्, तपाई के भन्नुहुन्छ ?

–सही हो । यो शैली नै लेखकको विषेशता हो, उसलाई चिनाउने । उसलाई अरुभन्दा फरक बनाउने ।



साहित्य लेखन बाध्यता हो कि व्यवसाय ? तपाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?

– मेरो विचारमा यी दुवै हैनन् । साहित्य, बाध्यता वा व्यवसाय बन्ने बित्तिकै आत्मारहित हुन जान्छ । बिना आत्माको साहित्यले मन छुन सक्दैन । साहित्य मेरो लागि रुचि हो, नशा हो, मात लगाउने ।



लेख्नु कत्तिको गाह्रो काम हो ? रातारात लेखेर संग्रह निकाल्नेहरु पनि छन् नि ?

–मन छुने लेख्न साँच्चीकै गाह्रो काम हो । अन्तर मनले नचाहँदा नचाहँदै कसरी लेख्न सकिन्छ ? तर संसारमा मिहिनेतीहरु पनि हुन्छन् । चाह्यो भने नसक्ने के होला र ?



पश्चिममा साहित्यिक सिद्धान्तहरु नयाँ–नयाँ आइरहेका छन् । के ती साहित्यको अध्ययनलाई साँच्चै आवश्यक छन् ?

– थप अध्ययनले लेखाइ बढी समृद्ध, समसामयिक र शैलीयुक्त बनाउँछ । त्यसैले पढ्नुपर्छ ।



नेपाली साहित्यमा देखिएको पुरस्कार र सम्मानप्रतिको मोह तथा भित्रभित्रै हुने गरेका चलखेललाई कसरी हेर्नुभएको छ ?

– के साँच्ची यस्तो पनि हुन्छ र ? मैले पनि सुनेकी छु चलखेल र राजनीतिका कुरा । कहाँसम्म सत्य हो, भगवान जानुन् तर राम्रो लेख्ने स्रष्टाहरुको सम्मान चैँ गरिनु पर्छ है । यो केवल कलमको कदर मात्र हैन, साहित्यअनुरागीहरुलाई हौस्याउनु पनि हो ।



कतिपय कृतिहरु सञ्चारमाध्यममा भएको प्रवर्धन(बिज्ञापन)को आधारमा बिक्री भएको सुनिन्छन् नि ?

–यो कुरा केही हदसम्म साँचो पनि हुन सक्छ । पुस्तकको आर्कषक कवरेज, विज्ञापनहरुले पनि पाठकलाई किताब किनूँकिनूँ लाग्छ ।



अहिलेको युवापुस्ताको लेखनलाई कसरी हेर्नुभएको छ ?

–लेख्नेहरु धेरै जन्मिसके छन् । यही स्तर र सृजनालाई निरन्तरता दिनु हुन्छ कि हुन्न, हेर्न बाँकी छ ।



साहित्यिक पाठक वृद्धि गर्नका लागि के गर्नुपर्ने ठान्नुहुन्छ ?

– पक्कै पनि स्तरीय साहित्यको सृजना हुनु पर्यो । विशुद्ध साहित्यिक पत्रिकाहरु बढाइनु पर्यो, भएका साहित्यिक पत्रिकाहरुको प्रवद्र्धन गरिनुको अलावा ठाउँ–ठाउँमा पुस्तकालय स्थापना गर्न सकिएमा आफैले पुस्तक किन्न नसकिए पनि गएर पढिने हुन्छ ।



अर्को विषय प्रवेश गरौँ । तुलनात्मक रुपमा अधिकांश कृतिहरु नारीको चरित्रमा आधारित रहेर लेखिएका छन् नि ! तपाईको यसलाई कसरी विश्लेषण गर्नुहुन्छ ?

– हो, मेरा अधिकांस कथाहरु नारी पात्र, खास गरी घरभित्र पतिपत्नीको वरिपरि घुमेका हुन्छन् । हेर्दा कुरा सामान्य छ जोइपोइ बीचको लेख्ने कुरै के होला झैँ लाग्छ तर ती दुइभित्र हुन सक्ने कुरा, घटना, रीस, माया, प्रतिशोध र मनोभावनाहरु फरक–फरक हुन्छन्, यही कुरा देखाउन खोज्छु म कथामा ।



महिला लेखकहरुलाई हेर्ने दृष्टिकोण कस्तो पाउनुभएको छ ?

–स्थापित महिला लेखकहरुलाई त सबैले सम्मान नै गर्छन् । पाइला जमिसकेका छैनन् भने त्यति सहयोग चैँ पाइँदैन ।



नवप्रवेशी महिला लेखकहरुलाई के भन्न चाहनुहुन्छ ?

लेख्नुस्, बढीभन्दा बढी लेख्नुस्, तपाईले पठाउनु भएका रचनाहरु कसैले पत्रिकामा छापि दिउन् या नछापुन् । तपाईले लेख्न छाड्नु भएन भने, लेखाइ स्तरीय बन्दै जान्छ र कुनै दिन तिनै व्यक्तिले तपाईसँग छाप्नको लागि रचना माग्ने छन् ।






शुषमासँग अन्तरङ्ग

फेसबुक खाता छ ?

– sumisayemi@gmail.com मा छ ।

जीवन के हो ?

–गति

सुख के हो ?

–शीत

दुःख के हो ?

–पहाड

प्रेम के हो ?

–दुःख

यौन के हो ?

–अचार

जीवनको एकदमै सुखद क्षण ?

–अझै अर्को आउँछ कि ?

के कुराले यहाँलाई दुःख लाग्छ ?

–जब केही गर्न सक्दिन

बाल्यकालमा कस्तो हुनुहुन्थ्यो ?

–संकोची

दिनमा के गर्नुहुन्छ ?

–अरु बेला अफिसमा । बिदामा टिभि हेदै, रेडियो सुन्दै पुस्तक, पत्रिकामा रमाउँछु ।

मनपर्ने परिकार ?

–मिठाइ अनि दही

नेपाली साहित्यका पाठक कस्ता छन् ?

–जागरुक हुँदैछन् ।

कुन पुस्तक पढ्दै हुनुहुन्छ ?

–प्रेम र जीवन, अकबरी सुन, कर्णाली ब्लुज

त्यस्तो कुनै पुस्तक छ ? जसले तपाईको जीवन परिवर्तन गरिदिएको महसुस भयो ?

–बिचार विज्ञान र योगीको आत्मकथा

नेपाली साहित्यका उत्कृष्ठ पाँच सिर्जना यहाँको रोजाइमा ?

–पाँच मात्र किन र ? धेरै छन् । तैपनि चपाइएका अनुहारहरु, बसाँइ, मन लगायत पारिजातका अधिकांस सिर्जनाहरु मनपर्छ ।

अन्र्तराष्ट्रिय साहित्यका उत्कृष्ठ पाँच सिर्जना यहाँको रोजाइमा

–पछिल्लो पटक पढेर सम्झेकीमा ......आमा, संघर्ष,

कुनै रीस उठेको पात्र छ ? किन ?

–किताबै पिच्छे यी पात्रहरु फरक हुन्छन् । उनीहरुको लचारी वा बेइमानीले गर्दा

कुनै दुःख लाग्दो पात्र छ ? किन ?

–महाभारतको कर्ण । साह्रै बिचरा लाग्छन् उनी ।

मन परेका लेखकहरु ?

–पारिजात, चेखोव, एच आइ पासा, तसलिमा नसरिन, अरु पनि धेरै

तपाई किन लेख्नुहुन्छ ?

–भित्रबाट लेख्नलाई कुत्कुत्याउँछ,अनि म लेख्छु । मलाई लेख्न मन लाग्छ, लेखेर मन हल्का हुन्छ, त्यसैले लेख्छु । मेरा भावनाहरु अरुलाई थाहा दिन पनि म लेख्छु ।



प्रस्तुति - राजेश नतांश 

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]