भेटवार्ता - सुमित्रा पौडेल I


YYY

सम्पूर्ण ब्लगप्रेमीहरु र हाम्रा सादर पाठकहरु माझ सुचना,सञ्चार, समाचार, मनोरञ्जन, साहित्य लगायत बिबिध खुराक पस्किँदै आएका हामी साहित्य संसार परिवारले साहित्यिक खुराक स्वरुप अर्को एउटा बिल्कुलै ज्ञानर्वर्धक एबं साहित्यिक जानकारीमुलक स्तम्भ पस्किने जमर्को गरेकाछौँ जस अनुरुप हाम्रो मूल उद्देस्य भनेको देशबिदेशमा छरिएर रहनुभएका साहित्यका नव-सर्जक,नव प्रतिभाहरुलाई समेटेर उहाहरुको साहित्यिक उहापोह एबं अनुभूती र रुचिका प्रसंग यहाँहरुमाझ ल्याउने रहेको छ। यसै सन्दर्भमा हाम्रो नयाँ प्रयासस्वरुप साहित्यका एक नवप्रतिभा एक जुझारु ब्यक्तिलाई यहाँहरुमाझ ल्याउने कोशीस गरेका छौँ । उहाँ हुनुहुन्छ सुमित्रा पौडेल।

परिचय:
सुमित्रा पौडेल
जन्ममिती :५-११-२०२६
जन्मस्थान: गीतानगर ४,चितवन देवनगर
बुवा आमा :बुद्दिसागर बास्तोला /दानकुमारी बास्तोला
श्रीमान : रामजी प्रशाद पौडेल
शिक्षा :आइ ए
प्रकाशित कृति :'आध्यात्मिक चिन्तनको प्रथम पाइलो'(आध्यात्मिक)
प्रकाशोन्मुख कृति: गीतीकबिता (लोकछन्द)
हाल कार्यरत : इजरायल






यहाँको इजरायल प्रबेश कहिले भएको थियो ?
==: सन् २००५ अगस्ट ८ मा मैले यो पराइभूमीमा पहिलो पाइला राखेको थिएँ।

कस्तो लाग्यो यहाँलाई इजरायलको माहोल?
==: जस्तोसुकै भएपनी आफ्नो घर परिवार देश र समाजजस्तो त पराइको माटो अवस्य हुँदैन तर सोचेको भन्दा निकै राम्रो, सुरक्षित र सन्तुष्टीको माहोल पाएको छु।

घरदेश कहिले फिर्ने योजना छ??
==: फिर्ने सोच त निकै पहिलेदेखी बनाएको हो तर केही अवस्था र कारणहरुमा अल्झिरहेको छु , अबको एक्डेढ सालमा चाँही जान्छु नै।

अब लागौँ सिर्जना तिर। यहाँको साहित्य सिर्जनाको सुरुवात कहिलेतिर बाट भएको थियो??
==: सम्झनाहुनेगरी भने मेरो सिर्जनाको सुरुवात समय म एस.एल.सी पछीको समयलाई नै मान्छु। तर त्यतिबेलाका मेरा सिर्जना रचनाहरु बिल्कुल फुटकर थिए। जो लेखिन्थे आफ्नै डायरिमा थन्किन्थे तर कतैकुनै छापा या मेडियामा जांदैनथे यध्यपी मेरो लेखनको सुरुवात थियो त्यही समय।

साहित्यसिर्जनाको प्रेरणाको स्रोत के लाई मान्नुहुन्छ?

== : म सानैदेखी मुनामदन असाध्यै मन पराउंथेँ । रेडियो कार्यक्रमहरुमा मुनामदन बारे चर्चा गरिंदा चाख मानेर सुन्थेँ। पछी मुनामदन चलचित्र हेरेर अझै प्रभाबित भएँ । झ्याउरेलयका ति हरफहरु गुन्गुनाउदै म पनि यस्तै लेख्न पाए हुन्थ्यो भनेर कल्पना गर्थेँ। पछी गएर आध्यात्मिक कार्यक्रमहरुमा सहभागि हुँदा गुरुहरुले दिनुभएको सुझाब हौसला र प्रेरणाले गर्दा म भित्र सिर्जनाको भोक जागेको हो भन्ने मलाई लाग्छ। त्यसैले त्यसबखतको कुरागर्दा मुनामदन र आध्यात्मिक गुरुहरुको प्रभाबले मैले लेखेँ जस्तो लाग्छ र अहिले सम्मको अवस्थामा आइपुग्दा धेरै अग्रजहरु, समकालिन मित्रहरु, साहित्यसम्बन्धी अनेक पत्रपत्रीकाहरुलाई नै म मेरो लेखनको प्रेरणा मान्छु।

तपाईंको पहिलो प्रकाशित् कृति कुन हो र त्यो प्रकाशन गर्नुमा केले बढी प्रेरणा दियो तपाईंलाई??
मेरो पहिलो र अहिले सम्मको प्रकाशित कृति एउटा मात्रै हो 'आध्यात्मिक चिन्तनको प्रथम पाइलो' जुन २०६२ साल जेष्ठ ६ गते प्रकाशित् भएको थियो। २०६१ साल बैशाख २० गते देखी भरतपुर नगरपालिका ६ लंकु, चितवनमा एक वर्षिय अखण्ड श्री हरिनामसङ्किर्तन महायज्ञ सञ्चालन भएको थियो हरीकिर्तन धार्मिक संस्थाबाट । त्यसबेला स्थानिय महिलाको तर्फबाट मैले नेत्रित्व गरेको थिएँ र हाम्रो उपस्थितिको सुरुवात मैले हरेक पटक आफैले रचेको केही पंक्ती कबिताबाट गर्थेँ। त्यसलाई मन पराएर बिशेषगरी त्याहा उपस्थित गुरुहरुले मलाई बराबार हौसला दिइरहनुभयो जसको फलस्वरुप हरिनाम सङ्किर्तन महायज्ञको समापनसमयमा ति सबै रचित पंक्तिहरु समेटेर पुस्तकाकार् प्रकाशन गरेँ । मेरो जीवनको पहिलो कृति प्रकाशकको जिम्मेवारि सम्हालेर मेरा श्रीमान रामजी प्रशाद पौडेल ज्यु ले पनि मेरो उद्देस्यमा हौसला थपिदिनुभयो। यसरी मेरो प्रथम कृति बाहिर आएको थियो। अब मेरो दोस्रो कृति लोकछन्दमा गीतिकबिता छिट्टै नै बाहिर आउँदैछ ।

साहित्यको बिबिध बिधा मध्य यहाँलाई मनपर्ने बिशेष बिधा कुन होला??
== :मलाई सबै बिधा मन पर्छन् । सबै पाएसम्म समय मिलेसम्म अध्ययन गर्न रुचाउछु तर लेखनको हिसाबमा भने मलाई अलिक बढी लोकछन्द नै मन पर्छ । मुनामदन शैली मेरो अती प्रिय शैली हो जुन शैलिले मलाई लेखनको बाटो तिर लम्काएको पनि हो।

हाल तपाईं बैदेशिक रोजगारमा हुनुहुन्छ। र कार्यक्षेत्रमै रहेर दोस्रो कृति प्रकाशनको संघारमा हुनुहुन्छ । काम र सिर्जनालाई कसरी समय मिलाउनुहुन्छ??
==: जहाँ इच्छा त्यहा उपाय भन्न त सजिलो हो तर गर्न गारै हुनेरहेछ । खासमा म एकान्तप्रेमी पनि हुँ। उसो त दिनभरी काम मै ब्यस्त हुन्छु र फुर्सद भएकोबेलामा साहित्य सम्बन्धी पुस्तकहरु , बिभिन्न वेबसाइट्मा प्रकाशित् लेखरचनाहरु पढने गर्छु। र राती १० बजेदेखी १ बजेसम्मको समय मेरो प्राय सिर्जनामा बित्ने गर्छ । रातको एकान्त र शान्तीमा मलाई लेख्न मन पर्छ। कुनैबेला काम गर्दागर्दै, कतै हिँड्दाहिंड्दै केही फुर्न सक्छ तर त्यसलाई काटकुट तन्काइतुन्काइ गर्नेकाम भने रातिमा गर्छु। यसैपनी रात भनेको आफ्नो समय हो नि, त्यसैले त्यही समय सिर्जनाको लागि उपयुक्त समय हुनेगर्छ मेरो लागि।

यसरी साहित्यमा लागेर सन्तुष्टी मिलेको छ ??
==: धेरै नै सन्तुष्ट छु ।

किन??
==: जिन्दगीको उतारचढाबमा आफुले भोगेको भोगाइहरु प्रस्फुटन गर्न सकिने माध्यम साहित्य हो। त्यस्तै आफुजस्तै अरु भुक्तभोगिहरुको भाबना पोख्न सकिने र मैले आफ्नो भोगाइ प्रस्तुत गर्दा म जस्ता अन्य कैयनको मनलाई सान्त्वना मिल्ने हुँदा अनुभूतीको बहाब र सम्प्रेषणको यो अदभुत माध्यम साहित्यमा लागेर म सन्तुष्ट नहुने कुरै भएन।

तपाईंको परिभाषामा साहित्य के हो??
==: बिचार र भाबनालाई कलात्मक तरिकाले प्रस्तुत गर्ने माध्यम नै साहित्य हो मेरो बिचारमा। मन उकुसमुकुस भएर दुखेको मुटुको उच्छ्वास कहाकसरी पोखुँ भन्ने लागेको बेलामा साहित्य एक अचुक माध्यम बन्न सक्छ जस्तो कि मेरो एउटा कबिताको पंक्ती उल्लेख गरुँ,
"कहाबाट सुरुगरुँ भन्न मनका कथा
दुख्छ मुटु झर्छ आँशु बल्झिन्छनी ब्यथा" हो यस्तोबेलामा साहित्य एक बलियो माध्यम बनिदिन्छ प्रस्फुटनको लागि।

तपाईंका रचनाहरु प्राय लयबद्द छन्दबद्द हुन्छन्। छन्द सम्बन्धी ज्ञान पनि छ ??
==:अध्यान सुरु गरेको हुँ तर पूर्णता छैन। मैले कलेजमा नेपाली साहित्य पढ्न सुरुगरेको थिएँ तर बिडम्बना पढाईलाई धेरै अगाडि लैजान सकिन। त्यसैले संरचनात्मक हिसाबले शुक्ष्म ज्ञान त छैन तर मेरो रुचि भने हो।

नेपाली साहित्यमा महिला लेखिकाको भूमिका कस्तो देख्नुहुन्छ??
==: पहिलो कुरो त म आँफै लेखनको हिसाबमा शिशु लेखिका हुँ। त्यसैले यती ठुलो मुल्याङ्कन म बाट सही नहोला तर पनि देखेको अनुभब गरेको हिसाबमा भन्नुपर्दा पहिलेको तुलनामा अहिले सकृयता बढेको छ। तर मेरो अनुभबमा नेपालमा रहेर सिर्जनगर्नेले प्रायजसो अध्ययन गरेरै सिर्जनगरएको जस्तो लाग्छ भने परदेशमा रहेर सिर्जनगरने अधिकाँश महिला लेखिकाले सिमित अनुभब, भोगाइ, बिरह समेटेर भाबना पोखेको जस्तो लाग्छ। तर सबैले अध्ययन गरेरै मेहनत गरेरै लागिपर्ने हो भने निरन्तरता अवस्य पाउला भन्नेमा म आशाबादी छु । उसैपनी महिलाहरु कोमल स्वाभाबका हुन्छन् त्यसैले सिर्जना प्रस्फुटन हुन सजिलो पनि हुन्छ।

तपाईंलाई आफ्नो पहिलो रचना के र कस्तो थियो सम्झना छ??
==: परम्परागत शैलिमा अचानक मेरो विवाहको तय भयो। त्यस घटनाले उसबेला अत्यन्त दुखी बनायो र त्यही छट्पटिमा मैले एउटा लामो लग्भग दुइपेजको एउटा कबिता लेखेको थिएँ छोरी शिर्शकमा। छोरीको जन्मा, कर्म, भोग्नुपर्ने उतारचढाब बारे यस्तै यस्तै समेटेर लेखेको थिएँ।

वर्तमान समयमा तपाईंलाई अत्यन्तै मन परेको पुस्तक र लेखकको नाम भनिदिनुस् न ।
==: धेरै छन मन्पर्ने पुस्तक र लेखकहरु तर एकदमै ताजा अनुभूतीमा भने घनेन्द्र ओझा भाईको गजल सिद्दान्त सम्बन्धी पुस्तक अतिनै मन परेको छ ।

साहित्यलाई कहिलेसम्म साथै लैजाने सोच छ??
==: जीवनभरी। अबको मेरो बाँकी जीवन म साहित्य अध्ययन र सिर्जनामा लगाउनेछु।

साहित्ययात्रामा अबिस्मरणिय घटना या क्षण कुनै याद छ?
==: इजरायल आएर पनि निकै समयको गुपचुप बसाइ पछी अनायासै एकदिन अनेसास इजरायल परिवार सँग भेट भयो जुन सस्था भनेको नित्तान्त साहित्यिक उद्देस्य बोकेको र डायस्पोरिक नेपाली साहित्यमा एक उचो नाम पनि हो। त्यै अप्र्त्याशित भेट मेरो आज सम्मको साहित्यिक यात्रामा एउटा अबिस्मरणिय घटना मानेको छु मैले।

अहिलेको समयमा साहित्य सिर्जना गर्दा भर्चुअल दुनियाँले कतिको सहयोग गरेको जस्तो लाग्छ अर्थात भर्चुवालिटीबाट कती फाईदा लिनुभएकोछ??
==: धेरै धेरै नै। हामी अहिले परदेशमा छौँ। भनेको बेलामा चाहेको पुस्तक किन्न पढ्न सम्भब हुँदैन। तर बिद्युतइय माध्यम बाट बिबिध वेबसाइट, ब्लग,फेसबुक जस्ता माध्यमबाट अनेक सिर्जना पढ्न सकिन्छ, आफ्न रचना सम्प्रेषण गर्न सकिन्छ र अग्रजहरु, समकालिन थुप्रै साथीहरुसँग भलाकुसारी गर्न अनुभब साट्न सकिन्छ । साच्चै भनुँ भने आजको समयमा लग्भग 50 प्रतिशत भन्दा ज्यादा उपलब्धी भर्चुवालिटिले दिएको छ मलाई र मेरो बिचारमा सबैको अनुभब यस्तै होला।
अहिलेको समयमा धमाधम खुलिरहेका साहित्यसम्बन्धी प्रतिस्ठान, पुरस्कारका गुठीहरु बारे यहाँको धारणा कस्तो छ??
==:यो त राम्रो कुरा हो। यसो हुनुभनेको साहित्यबारे जनचासो बढ्नु हो। हौसला मिल्नु हो।

तर यस्तोमा बेसी त आफन्तबाद नाताबाद नै हुन्छ भन्छन् नि?
==: कतैकतै केही कमजोरी अवस्य होला तर एसो भनेर सबैलाई मुछ्नु हुँदैन र हतोत्साही बनाउनु हुँदैन।

साहित्य बाहेक यहाँको रुची र अनुभबका अन्य क्षेत्र केके छन् ??
==: साहित्यबाहेक मेरो रुची ब्यबसाय हो। मेरो अनुभब पनि छ यसमा। गार्मेण्ट र टेलरिङ्ग अनी चित्रकारीता मेरो रुची पनि हो र यसमा केही अनुभब पनि छ।

ब्यवसायको क्षेत्रमा लागेर पाएको कुनै सम्झनायोग्य उपलब्धी??
==: २०५८ माघमा चितवन महिला उद्द्यमी क्षेत्रमा "उत्कृष्ट महिला उद्द्यमी पुरस्कार" पाएको थिएँ। त्यही नै मेरो ब्यवसायक्षेत्रको ठुलो उपलब्धी हो अहिलेसम्मको लागि।

साहित्यक्षेत्रमा लाग्नचाहने युवापिँढिलाई के भन्न चाहनुहुन्छ?
==: लेखनको हिसाबमा म आँफै पनि कच्चा लेखक भएको हुँदा सुझाब नै त के भनुँ तरपनी आफ्नो अनुभबका आधारमा नया भाईबहिनीलाई यही भन्न चाहन्छु कि देखासिकी गरेर होइन अध्ययन गरेर तन्मयताका साथ लाग्नुहोला अवस्य सफलता मिल्नेछ ।

अन्त्यमा साहित्यसन्सार लाई केही भन्न चाहनुहुन्छ कि?
==: भनुंभने यो मेरो जिन्दगीको पहिलो साहित्यिक अन्तर्वाता हो। यसमा कैयन त्रुटी रहेका होलान् । यसरी म जस्तो नयाँ पाइला टेकेको शिशुलेखकलाई स्थान दिएर हौसला दिएर यहाँ सम्म उभ्याइदिनुभएकोमा हार्दिक धन्यबाद भन्न चाहन्छु। यसरीनै नव प्रतिभाहरुको लागि हौसलाको आकाश भएर साथ दिइरहनुहोला र यस् ब्लग परिवारको अनन्त उन्नतिको कामना गर्छु।



प्रस्तुति - दीप्स शाह

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]