बुबाका कथाहरु


YYY

कृष्णपक्ष,
निलकण्ठ, धादिङ ।


अरुङ खोलामा पौडी खेल्नु, दुवाली छेकेर माछा मार्नु वा झम झम झरी परेका बेला निथ्रुक्क भएर रुझ्नु .. सम्झनाका क्यानभास भरि अनेकौं चित्रहरु छन वाल्यकालका । सिम्पानीको पँधेरोनेर वर् पिपलको ठूलो चौतारी थियो, दशैँ आउथ्यो ढकाल बाजेको घरमा मेरा बुबा, भादगाउंले बा, डिठ्ठाबा, गोकर्णे मामाहरु भेला हुन्थे र रातभर बसेर बाबियोको डोरी बाटथे । र भोलीपल्ट सिम्पानीको चौतारीमा पिङ लगाउथे।

पिङको याद आयो अचानक, इजरायलका सडकका किनारभरि ठाउँ ठाउँ मनोरम उद्यानहरु छन । घुम्ने पार्क, थकाइ मार्ने बेन्च र पाइलै पिच्छे खुला व्यायामशाला र केटाकेटीले खेल्ने रंगीचंगी पिङहरु ... । मन केटाकेटी भएर आउँछ, हुरुरु उडेर पुग्छ त्यही घर आँगन र वाल्यकालका दिनहरुमा र सम्झनाका रोटे पिङमा मच्चिएर झुल्न थाल्छ ।

केटाकेटीहरुको भीड जम्मा भए पछि पालो ढिलो आउथ्यो, अलि ठूला दाजुहरु पारिपट्टि राम्चेगाउँ जाने बाटोमा सानेको घरनेर लगाइएको पिङतिर जान्थे, रोटे पिङ खेल्न चाहि उकालो चढेर थापागाउँ जानु पर्थ्यो । थापागाउँबाट पौवा नपुग्दै गैरीगाउँको स्कुल तलतिर काठको पिर्का भएको रोटेपिङ बनाइएको हुन्थ्यो ।

केटाकेटी हुँदाका सम्झनाहरु धेरै धमिला भैसकेका छन यतिखेर । केही त यति पुराना भैसके जसलाई सम्झेर ल्याउदा ल्याउदै बिर्सिई जान्छन । अधिकांश सम्झनाहरुमा भने म आफुलाई त्यतिकै खुसि भएर उफ्रिरहेको, रमाइरहेको या खेलिरहेको पाउँछु । कुनै विशेष घटना नभएका ती सामान्य दिनचर्याका स्मृतिहरू जसलाई उल्लेख गर्नुमा कुनै रोचकता हुदैन । अहिले लाग्छ किन मेरा धेरै सम्झनाहरु रमाइला मात्र छन ?

धादिङ बेसीको शितल बजारबाट पौवा तिर जाने बाटोमा छ, एउटा सानो गाउँ सिम्पानी । त्यहिँ थियो हाम्रो घर । क्रमश वेसी झर्ने क्रममा थुप्रै घरहरु बनाउनु भयो बुबाले । सबै भन्दा पहिले पुर्ख्यौली थलो थापागाउँमा थियो हाम्रो घर, त्यसपछि तल झरेर सिम्पानी र धादिंग बेसी ।

मेरो सम्पूर्ण वाल्यकाल त्यही सिम्पानीकै पाखामा बित्यो, गाउँको पुछारमा अरूङ खोला थियो, एउटा झोलुंगे पुल तरेर गएपछि धादिंग बेसीको शिरमा पुगिन्थ्यो, जसलाई शिरान बजार भन्थ्यौं । पछि यसलाई शितल बजार भनिन थाल्यो ।

नयाँ जुत्ता, नयाँ लुगा लगाउनु, ठाँटिएर बजार घुम्न निस्कनु या चाडवाडमा मामाघर जानु सबै भन्दा उत्कृष्ट क्षण हुन्थ्यो । बा आमाको हात समाउदै धादिङ बेसी देखि नलाङ आप्रिछापमा रहेको मामाघरसम्मका उकाली ओराली र भन्ज्याङहरु कति सजिलै पार गर्थे ती कलिला खुट्टाहरुले, अहिले सम्झंदा लाग्छ - वालापनको उमंग र उत्साहलाई शायद जीवनको अन्य कुनै पनि अनुभूतिहरुले जित्न सक्दैन होला ।

बा-आमाले हामीलाई असाध्य माया गर्नु हुन्थ्यो, मलाइ सम्झना भएसम्म एक थप्पड पनि हिर्काउनु भएको छैन बुबाले। उहाँले आफ्नो वाल्यकालमा भोग्नु भएको दुखले पनि होला शायद, हामीलाई सानो भन्दा सानो कुराको अभाव हुन् दिनु भएन । क्याम्पस पढ्न राजधानी नछिर्दा सम्म घरमा एकदिन पनि दुध,दही,घ्यु टुटेन । उहाँसँग जीवनका धेरै नमीठा कथाहरु थिए, उहाँ भन्नु हुन्थ्यो - मैले जस्तो दुख तिमीहरुले भोग्नु नपरोस ।

हामी अलि ठूला भएका थियौं, बुबाको अर्कै ठाउँमा सरुवा भयो । जागिरको सिलसिलामा टाढा कहाँ कहाँ पुग्नु भयो बुबा । केही हप्ता वा महिना-महिनामा घर आउन थाल्नु भएको थियो । त्यसरी आएको बेला पनि उहाँ हामीलाई छेउछाउमा राखेर कथा सुनाउन बस्नु हुन्थ्यो । त्यसमध्य धेरै जसो उहाँ आफैले भोगेका घटनाहरु हुन्थे ।

उहाँका ती कथाहरुमा यो कथा धेरै दोहोरिन्थ्यो ।

- " हजुरबा खुबै जुवातास खेल्थे अरे, सबै भन्थे -उनलाई सरकार लाग्यो, बुझ्दा गाउँलेको तिरो सबै जुवातास, मदिरामा खर्च गरेर, उड़ाएर सिध्याएपछि उनको जिम्मावाल पदमात्र गुमेन, उनी आफ्नै घरको खाँबोमा बाँधिए । घर जग्गाको ठूलो हिस्सा समेत त्यही बहानामा बाटो लाग्यो । "

मेरो बुबा, सानै उमेरमा बा-आमाको मायाबाट वन्चित हुनु परेको थियो । भन्नु हुन्थ्यो- "१० बर्षको हुँदा बा बित्नु भयो आमाको त झन् अनुहार पनि सम्झना छैन । " अहिले सोंच्दा पनि मलाइ अत्यास लागेर आउछ, कहाँ कसरी संघर्ष गर्नु भयो होला उहाँले ती एक्ला टुहुरा दिनहरु ?

गाउँका बुढापाकाहरु कहिलेकाहीं हाम्रो घर आउथे । मेरो बुबाको बिषयमा कुरा गरेको म सुन्थें । ' बुबा दुई बर्षको नाबालक हुनु हुन्थ्यो । जिजुबुबाले उहाँलाई बोकेर खेलाउदै हुनुहुन्थ्यो, त्यसबेला थापागाउँमा एउटा नया घर बन्दै थियो रे । नातिलाई लिएर नयाँ घर हेर्न जादा अचानक घर भत्किएछ् र दुवै पुरिएछ्न । गाउँमा हाहाकार भएछ, भत्केको घर खोतल्दै जाँदा पहिले जिजुबुबाको मृत शरीर भेटाएछन, तर कस्तो संयोग गाउँले सबै स्तब्ध हुने गरी दुइ बर्षका बालक (मेरा बुबा)भने झ्याल र दलिनको टांड परेको ठाउँमा सुरक्षित भेटिनु भएछ ।'

उनीहरु भन्ने गर्थे - नियतिको असाध्य कठिन परीक्षा वा दुखद दुर्घटनाका घडीहरु पार गरी सक्यौ तिमीले । थापाकाजी! अब तिम्रो जिउलाई आगोले पनि जलाउन सक्दैन ।"

नियतिले कोरेको बाटो हिड्दै जादा हरेक मान्छेको जिन्दगी अनेकौं घुम्ती र जंघारहरु भएर गुज्रदो रहेछ । जीवन भन्नु आफैमा एउटा अलिखित उपन्यासको कथा रहेछ र यसका घटनाक्रमहरु सिलसिला नमिलाई लेखिएको कुनै लामो उपन्यासका प्रकरणहरु जस्तै ।

सानैमा परिवारका सदस्यहरु गुमाएपछि कसरी मेरो बुबाको घरजग्गामाथि अरुका आँखा लागे ? हेर्दा हेर्दै सम्पूर्ण थापा खलककै अगाडी कसरी उहाँको पैत्रिक सम्पत्ति, पौवाका झ्यालढोका र टुडालमा चित्र बनाउने मामुली सरदारका सन्तानहरुले बक्सिसमा पाएको बिर्ता ठानेर बर्षौं सम्म हडपेर कब्जामा लिए ? कसरी उहाँले एक्लै संघर्ष गरेर, मुद्दा लडेर ती सबैको पन्जाबाट फुत्काउनु भयो ?


हामी त्यतिबेला निकै जान्ने सुन्ने र बुझ्ने भै टोपलेका थियौं । बुबाका यस्ता कथाहरु सुन्न झर्को पनि लाग्थ्यो । हरेक पटक बुबा घर फर्कदा के के ल्याइदिनु भयो त्यसैतिर मात्र हाम्रो ध्यान धेरै जान्थ्यो । अहिले म उहाँले सुनाउनु भएका कथाहरु सम्झन्छु। - लाग्छ उहाँ नायक हुनुहुन्थ्यो, हामीले हेर्ने सिनेमाको जस्तै - तर वास्तविक जीवनको नायक हुनु हुन्थ्यो उहाँ ।

यतिखेर बुबा आमा धादिङ बेसीको बीचबजार तिर कतै साइबर क्याफेमा हुनुहुन्छ, मसंग कुरा गर्न । भन्दै हुनुहुन्छ - क्यामेरा देखा त बाबु ! न्यास्रो लागेर पो यसरी आएको तँलाई हेर्न, कुरा त फोनमा पनि भै हाल्छ नि ।

उहाँलाई हेर्छु अनुहार उस्तै छ, सधै हासिरहेजस्तो, ओठ माथिको कालो जुँगा र दर्विलो मुस्कान । अलि अलि बुढ्यौलीका रेखाहरु थपिदै गएका छन । फर्कने बेला बा-आमा सधै भन्नु हुन्छ - यसरी न्यास्रो मेटिदैन छोरा.. अलि छिटो विदा मिलाएर घर आइज है।

अनायास मेरा आँखाहरु रसिला हुन्छन ।




image - google

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]