सोरेकगुफाको छातीभित्र महेन्द्रगुफाको सम्झना


YYY


निलो भेस्ट लाईट ब्लु जिन्स पेन्ट भिरेपछी फेरी बाथरुम पसेँ । भनाइ सुनेको हो सानैमा "छोरा मान्छे बाहिर जानेबेला घडी हेर्छन्,छोरीमान्छे बाहिरजानेबेला ऐना हेर्छन्" थाहा छैन कती छोरीले ऐना हेर्छन तर म चाँहीँ हेर्छु अवस्य। फुलसाइजको ऐना एकपटक नियालेपछी हतार हतार ब्याग भिरेर सनग्लास र क्यामेर बोकेर बाहिर हुत्तिएँ ,चिपोरा बाहिर पर्खिरहेकी थिइन । मन उसै उसै फुरुङ्ग थियो दसैं आएका केटाकेटी भने जस्तो। कारण कुनै सुन्दर प्राकृतिक छटा दृष्यैपान गर्न जाने योजना थियो चिपोरा र मेरो। साथमा छिमेकका दुइजना अरु र चिपोराकै भतिजा रामी पनि थियो। निकैपटक सोधेको थिएँ चिपोरासँग कि आज कता गइँदैछ घुम्न भनेर तर मलाई सर्प्राइज दिनेभन्दै पटक्कै भनिनन्। बाटोभरी अनुमान गर्न खोजेँ तर सकिन। अली टाढाको बाटो र ठाउंमा पटक पटक घुमडुल गरेकै भएपनी अर्कोपटकलाई दिशा र बाटो म कहिल्यै सम्झना सक्दिन ,झन कहिल्यै नगएको ठाउँको अनुमान गर्नु त परको कुरा । तसर्थ चिपोरा कुटिल मुस्कान ओठभरी पोतेर मलाई घुर्दै थिइन कि सर्प्राइज निक्कै अर्थपूर्ण हुनेभयो भन्दै। बेलाबेलामा चुनौती दिँदैथिन,"दीप्स! ट्राइ टु गेस!" । पुगेपछी देखीइहाल्छ नि! भन्ने सोच्दै कानमा एम पि थ्री को एअर फोन कोचेर झ्यालबाट बाहिर दृष्टिी फ्याँक्न थालें।

नोभेम्बरको पारीलोघाममा इजराएली बिहान गमक्क गम्केको झैँ प्रतित हुन्थ्यो। सडक ओरिपरिका फूलहरु, अली मास्तिर भित्तामा ढुङ्गाका चेपचेपबाट टाउको उचालेर बेफिक्री मुस्कुराइरहेका पातापातीहरु जवान हुँदै गरेको घामको किरणमा टल्किँदै सिर्सिरे बताससँग बयली खेलिरहेको देख्दा खुशीले मन चञ्चल थियो। उसो त हेर्नमा स्यहारिएका बगैँचाका फूलहरु बिघ्न राम्रा हुन्छन् तर ति हेर्दा मलाई लाग्छ कि जबर्जस्ती मुस्कुराउन वाध्यपारिएका ओठ्हरु जस्तो। ति भन्दा कुनाकन्दरा, फाँट ,भिर ,पहरा,कान्ला तिर बेस्याहार फक्रिरहेका फूलपात प्रती मेरो ध्यान बेसी आकर्शण हुन्छ ,,लाग्छ स्वतन्त्र फुल्दैछन्,आफ्नै मर्जिमा ओइलाउनेछन्। हुइंकिरहेको कारको झ्यालबाट देखेँ राताम्ये कान्लो! हरेक बर्षको अक्टोबर महिनाको सुरुवात संगै बिना निम्तो जहिँतहीँ उम्रेर निस्फिक्री मुस्कुराउँदै सिङ्गो इजराएल सिंगार्ने एकप्रकारको सुन्दर फूल 'कलानित' को दुलही रुपले कुनबेला खुत्रुक्क सम्झनाको खुड्किलो उक्लेर म पुगेछु मेरो धादिङ को प्यारो माटो 'थाक्रे' को पखेरामा। नोभेम्बर याने कि तिहारको हाराहारी समय! आँगन , करेसा ,गोरेटा, बारीको कान्लो डिल जताततै मुस्कुराउँदै शारदिय सुन्दरता र हार्दिक आनन्ददिने ति सयपत्री मखमली अनी तिनका पात फूल चुँडेर माड्दै सुंघ्दै गर्दा त्यो बासना कती मिठो र प्रिय लाग्थ्यो ! आज सम्झिँदा त्यो बासना आफ्नो माटोको आफ्नो अपनत्वको थियो, त्यो मेरो नेपाली बासना थियो।

"दीप्स! आर यू स्लीपिङ!!?" अगिल्लो सिटबाट चिपोरा कराउँदा पो पुन: झरेँ दक्षिण एसियाको सुन्दर नेपाल त्यसको सानो टुक्रो धादिङ्ग को छाती 'थाक्रे' को सयपत्री मक्खमलिको थुङ्गा छोडेर मध्यपूर्बको टुक्रो इजरायलमा। "नो नो आइ एम लिस्निङ सङ!" गर्दै पुन: बाहिरै नियाल्न थालें। सामान्य भन्दा केही बेसी गतिमा कार हुइँकिरहेको थियो। नम्बर १ रोड जुन तेलअभिब शहर बाट जेरुसलेम तिर जान्छ को छाती नाप्दै थियौँ कारको गतिमा । बेतसेमेस कर्नर बाट कार नम्बर १ रोड छोडेर दाहिने मोडिएपछी औध्योगिक क्षेत्र पार गर्दै सानो हाँगे सडक हुँदै पहाड चढ्न थाल्यो । पहाड त के भन्नु हाम्रो नेपाली गिरी हेरेर तर इजराएलको लागि पहाड नै हो। मेन रोड छोडेपछी करीब १०-१५ मिनेट गूडेर कार माथि थुम्कोमा पुगेर रोकियो।
पार्किङ्ग् लटमा कार थन्काएर लाग्यौँ थोरै ओरालो मेरो त्यसदिनको सर्प्राइज तिर। त्यहाँ इन्फर्मेसन कार्ड र टिकट लिएपछी चिपोरा थचक्क बेन्चमा बसिन् र भनिन्," दीप्स! लिभ योर ब्याग विथ मि एन्ड गो डाउन ,बट टेक क्यामेर विथ यू!" बुझेँ मेरो सर्प्राइजको प्रस्थान ओरालो झरेर जानुपर्ने रहेछ , छन त अर्कै बाटो रहेछ असक्त, बुढाबुढीहरु जानकोलागी सजिलो बाटो तर चिपोरा पहिल्यै पनि घुमिसकेकोले त्यसदिन खास मेरो लागि नै त्यहाँ गएको हुँदा उनिचाहीँ हामीलाई पर्खेर त्यहीँ स्न्याक बार मै बस्ने भईन्।


ओके ! भन्दै क्यामेर बोकेर लागेँ अरु सँगै ओरालो म पनि। निक्कै झर्नुपर्ने रहेछ खुड्किलैखुड्किला हुँदै। अन्तमा तल पुगेर उभियौँ गेटमा जहाँ गाइडहरु प्रतिक्षारत भेटिए। सरासर भित्र गयौँ। अजङ्गको पहाड को फेदिमा रहेको गेटबाट भित्र पस्यौँ पहाडको गर्भभित्र! अलिक पस्नासाथ बिजुलिको उज्यालोमा सानो हल जस्तो देखियो जहाँ स-साना बेन्च राखिएका थिए भित्ताको स्क्रिन तिर फरकाएर। हामीलाई त्यहीँ बस्न भनियो हामी भनेको लग्भग 10-12 जानाको पर्यटक झुण्ड थियौँ। त्यहाबसालेर स्क्रिनमा केही मिनेटको जानकारी भिडियो देखाइयो जुन अदभूत प्राकृतिक लीला हेर्न हामी जाँदै थियौँ। सर्सर्ती केही महत्वपूर्ण बुँदा सुनाइयो जस्तो कि: 'भित्र रहेका सबै लाइम स्टोन जुन पानीसङको नियमित र निरन्तर प्रतिकृयाबाट पूर्ण पत्थर जस्तो बनेका बिचित्र आक्रिती र वस्तुहरु कानुनी तवरबाट पूर्ण सुरक्षित बनाइएका प्राकृतिक सम्पत्ति हुन्' लाई नछुनुहोला। कुनैपनि खाध्यपदार्थ तथा धुम्रपान नगरिदिनुहोला। कुनैपनी पाल्तु जनावर नलैजानुहोल। फोटो खिच्नका लागि छुट गरिएका सिमित स्थानलाई ध्यान दिनुहोला। भित्रको घुमाइ ग्रुपमा हुनेछ। सक्दो सानो आवाजमा कुराकानी गर्नुहोला। गाईड सङ्गै रहनेछन् ,उनलाई सुन्नुहोला र पच्छ्याउनुहोला।

(ओहो!! कती धेरै नियम पनि!! सम्झेँ नियम त हाम्रोमा अझै यो भन्दा दुगुना हुन्छन् नि! फरक यती हो यहाँ व्यबहारमा उतारिन्छ ,हाम्रोमा खल्तिमा राखिन्छ।)

अब भने मेरो सर्प्राइजको भन्डाफोर भैसकेको थियो तर बिजयी मुस्कान ओठमै खुम्च्याएँ ,,देख्ने चिपोरा त साथमा थिइनन् नै। जब इन्फरमेसन समय सकेर अझै भित्र तिर लाग्यौँ ,,मेरो मुख पलभरको निमित्त खुल्ला रह्यो अचम्म र अबिश्वासमा। समुन्द्री सतहबाट लग्भग ३८५ मिटर हाराहारी उचाइको उक्त पहाड र त्यसओरिपरिका थुम्काहरुमा बारुदी बिस्फोट गराइ ढुङ्गा निकालेर भवन्,बाटो घाटो निर्माण गरिने सन् १९६८ तिरको समयमा एकदिन को बारुदी बिस्फोट ज्यादै फलिफाप भएछ इजरालबासीहरुको लागि। उक्त बिस्फोट पछी एक अचम्मको गहिरो रहस्यमय दुलो देखिएछ जो सृस्टिरको कुन मोड देखी पृथ्वीको गर्भमा रहस्यनै बनेर लुकिरहेको थियो तमाम जगतको आँखाबाट छलिएर। त्यसदिन देखियो र सुरु भयो सृस्टियको एक अपार चर्तिकला स्वरुप प्रकृतिक रहस्य अनी सम्पदाको अदभुत स्थल 'सोरेक गुफा'। माउण्ट याएलाको दक्षिणी मोहोडातिर जुडियन माउण्ट भनिने डाँडोको पस्चिमी भिरालोमा रहेको उक्त रहस्यमय गुफालाई सन् १९७५ मार्च १६ का दिन नेचर रिजर्भ घोषणा गरिएको रहेछ जो इजराएली मापन पद्दती अनुसार लग्भग १८० दुनाम क्षेत्रफलमा फैलिएर रहेको रह्छ।
स्वाभाबैले साह्रै खुल्दुली मान्छे म ! बाठी भएर गाइड सँगइ हिँड्न थालेँ । किनकी उच्च आवाज ननीकाल्नु भनेको थियो पहिल्यै। मधुरो प्रकाशमा सांघुरो चिप्ले बाटो हुँदै हिँड्नुपर्ने ,,,सोध्न मन लागेको कुरो कसरी सोध्नु टाढा बाट! भित्र जाँदैगर्दा प्रकृतिको अदभुत चर्तिकला नियाल्दै सङ्गैको गाइडलाई सोधेँ,' के तीमी यो गुफाको भित्री क्षेत्रफल भन्न सक्छौ??" उसले मेरो जिज्ञासा र खुल्दुली देखेर सोध्यो उल्टै," तिमी कहाँ बाट हौ?" "नेपाल!" शब्द सङ्गै उसका गहिरा आँखा झनै गहिरिए र भन्यो," नेपालमा झन यस्ता प्राकृतिक छटा कती धेरै होला है!" भन्न त मन थियो 'निकै कुरा, निकै वर्णन र मन थियो निकै निकै उत्साहित बयान गरुं। तर गरिन। उतिखेरै आँखामा आएको थियो नेपालकै चर्चित र महत्वको महेन्द्र गुफा, तामा खानि, अरु अरु कती कती । तर ति सबै ठाउमा म नपुगेपनी सम्योगले पटक पटक पुगेको महेन्द्र गुफाभित्र छिर्दा पर पर कुनामा गाँजा र यस्तै के के तान्दै बसिरहेका झुण्डझुण्ड बेकामे युवाहरु देखेर डराउँदै फर्किएको क्षणहरु, न कुनै जतन न कुनै सम्भार गरेको बेवारीसे महेन्द्र गुफाहरु को कुनै गिन्ती छैन मेरो नेपालमा तर कुनै दिन तिमी पुग्यौ भने मेरो अहिलेको झुटो तारिफमा लडिरहेको सम्पदा देखी शायद त्यसबेला बाट तिमी कुनै नेपालीको नेपालप्रतिको तारिफ विश्वाश नगरलाउ।' यस्दै मनले सोच्दै मुखले भनेँ," अफकोस्र! अलट्स! उइ ह्याभ्!"

त्यसपछी थाहा भयो, सालाखाला ८० मिटर देखी ९१ मिटर लम्बाइ र ६० देखी ८० मिटरको चौडाइमा पसारिएको उक्त गुफा साँढे ५ देखी १५ मिटर उचाइको रहेछ। भित्री गुफाको क्षेत्रफल लग्भग ४८०० स्क्वाएर मिटर रहेछ भने भित्रको भोलुम लग्भग २५०० क्युबिक मिटर रहेछ । सरदर २२ डिग्री तापक्रम रहने गुफा भित्रको ९२ देखी १००% रेन्जको ह्युमिडिटी मा हामी कानेखुसी गर्दै अगाडि बढ्यौँ। पहिले त मलाई लाग्यो यो बाठा इजराएलिहरुको बठ्ठ्याइँ अनुरुप निर्मित कृतिम गुफा होला। गुफा भित्रको माथिल्लो सतहबाट लगातार लगातार रसाउँदै पानी थोपाथोपा खस्ने शताप्दियौँको प्रकृयाबाट गुफाको तल्लो सतह याने कि भुइँमा बिस्तारै उक्त खसेको पानीको थोपा बज्रिँदा बज्रिँदा कार्बोनिक एसिड र लाइमस्टोन मिलेर एक प्रकारको पत्र पत्र थुप्रिँदै बनेको उक्त चट्टाने आक्रिती लाई स्टालाग्माइट भनिदोरहेछ भने त्यसरी थोपा थोपा रसाएर माथिल्लो सतहमै झुण्डिएर लामो लामो सिन्का हरु भुइँतिर झुण्डिएर रहेका चट्टानलाई स्टाल्क्टिट भनिदो रहेछ(यस्तै प्रकारको केही चट्टान पोखराको गुप्तेस्वर महादेवको गुफा र महेन्द्र गुफाको भित्री माथिल्लो सतहमा पनि देख्न सकिन्छ तर ति तुलनात्मक रुपमा निकै साना लाग्छन्। ) । यसरी बनेका कैयन जादुगरी लाग्ने भिमकाय चट्टानहरु देखेर पत्यार गर्नै गाह्रो कि भुगोलवेत्ताहरुको अध्ययनअनुसार उक्त स्टालाक्टिट को लाम्बाइ या उचाइ भनुँ एक सेन्टिमिटर बन्न ५०० देखी १००० बर्ष लाग्छ भने अनुमान गरौँ ति भिमकाय चट्टान बन्न कती मिलियन बर्षलाग्यो होला जुन पृथ्वीको गर्वमा मान्छेको पहुँचबाट लुकेर रहेको थियो।
जती भित्र गयो त्यती अचम्म लाग्दा स्टालाक्टिट(कार्बोनिक एसिड र लाइम स्टोनबाट निर्मित बिशेष प्रकारको चट्टान) अचम्म लाग्दा आकृतिमा उभिरहेका जसलाई इजराएलिहरुले सुहाउँदो नाम पनि दिएका रहेछन । आमाले नानी बोकेर उभिएको जस्तो स्वरुपको चट्टान 'आमाछोरी',सिन्के चाउचाउ जस्तो छानो मा झुन्डिरहेका चट्टानलाई 'माकारोनी', समुन्द्रको पिँधमा पाइने बनस्पतिक जिब जस्तो चट्टानलाई 'कोरल', एक्ठाउमा भने माथिबाट स्टालाक्टिट झर्दै तलबाट स्टाग्लामाइट थुप्रिँदै दुबइ तिरबाट बढ्दै नजिकिँदै गएर केही सेन्टिमिटरको दुरिमा पुगेर दुबइतिर बाट बृदिको क्रम रोकिएपछी बनेको चट्टानलाई असफल 'प्रेम' जस्ता रमाइला नाम सुन्दा पनि रमाईलै भयो। अली अगाडि पुगेर मोडिएपछी घुमेर गेटतिरै फर्किने क्रममा एउटा स=सानो पानीको तलाउ भेटियो। पहाडको गर्भभित्र रहेको रहस्यात्मक तलाउको कञ्चन पानी अञ्जुलिमा उभाएर एक्घुट्को पिउँ जस्तो लाग्यो जस्तो मेरो गाउँमा पंधेरा खोल्चिको पानी घट्घटी पिउँथेँ कुनैबेला। तर अगाडि लम्किनइ नपाई गाइड्ले रोक्दैभन्यो," यो पानी पिउनलायक छैन ,आवश्यकभन्दा बेसी बिबिध खनिज,रासायनिक तत्व मिसिएको हुनाले पिउनलाई निषेध गरिएको छ।"


त्यसपछी भने बल्ल गाइडले एक निस्चित ठाउंमा उभ्याएर हामीलाई फोटो खिच्ने अनुमती दियो। र स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स!! एक मिनेट सबैजाना चुपलाग्नुस् र सुन्नुस् भन्यो। त्यसइ गर्यौँ। ज्यादै मधुरो प्रकाशको ब्यबस्था गरिएको उक्त गुफामा बाहिरी ध्वनी बन्द गरेपछी सिलिङ्गबाट फाट्टफुट्ट झर्ने पानीको थोपा तल कताकता बजारिँदा एकप्रकारको म्युजिकल आवाजजस्तो लाग्दो रहेछ टिक्लिक टिक्लिक टिक्लिक टुक्लुक ।


पत्तालागेपछी तत्कालिन नेशनल पार्कको संरक्षणमा र हाल इजराएल नेचर पार्कको संरक्षण र स्वामित्वमा रेखदेख गरिंदै आएको उक्त अत्यन्त जादुमय गुफालाई बडो जतन गरी राखिएको रहेछ ताकी यसको अस्तित्व भाबी पिँढीले पनि देख्न पाउन्। निकै बर्षसम्म गहिरो र सुक्ष्म भौगर्भिक अध्यन पछीमात्र सर्बसाधारणको लागि खुल्ल गरिएको त्यस अद्दितिय गुफाभित्र रहँदाको समयमा गाइडले निक्कै पटक दोहोर्यायो,"यस गुफाको अस्तित्व बचाइराख्नमा सबैभन्दा धेरै हात यहाँआउने पर्यटकहरुकै रहन्छ"। मैले सोधेँ "कसरी?" जवाफमा भन्यो," यहाँभित्रको अवस्था एकदमै नाजुक छ। अचानक बदलिने तापक्रम, ह्युमिडिटी कार्बनडाइअक्साइडको लेबल, चर्को आवाजबाट उत्पन्न हुनसक्ने घर्षण र कम्पन आदिले यहाँ रहेका प्राकृतिक नाजुक चिजबिजलाई हानी गर्नसक्छ ,त्यसैले त्यसो हुननदिन तपाईंहरुकै बेसी हात हुन्छ ।" त्यसैले रहेछ पर्यटकहरुलाई त्यहा रहेका कुनैपनी चिजबिज हात लगाउन निषेध रहेछ।

त्यसपछी घुमाउरो बाटो गरी फर्कियौँ पहिलेकै गेटमा र बाहिरियौँ। त्यसबेला सम्म भोकले सताउन थालिसकेको थियो। हतार हतार माथि स्न्याक बारमा पुग्दा चिपोरा एक झुण्ड पर्यटहरु सँग गफिँदै रहेछिन्। मलाई देख्नासाथ् बडो फुर्तिलो मुस्कान छरिन् र सोधिन्," हाउ ओज योर सर्प्राइज!!??" जवाफमा एक गर्बिलो मुस्कान सहित भनेँ," चिपोरा!! इट ओज भेरी वन्डर्फुल सर्प्राइज! फ्यान्टास्टिक! बट यू आर मोस्ट वण्डर्फुल देन अल अफ दिस, आइ विल बि ग्रेट्फुल टु यु फरएभर ।"
त्यसपछी त्यहीँ स्न्याकबारमा हल्का खाजा खाएर घरतिरको बाटो लाग्यौँ । फर्किँदा सबै फेरी आ-आफुमै गफिन थाले । म भने अघी भर्खर देखेको अचम्मलाग्दो गुफा र त्यहाभित्रको कुनै कथामा वर्णित अर्कै लोक जस्तो दृष्यर सम्झिँदै सोच्दै थिएँ,' सरकारी तवरबाट यसरीनै खोज र जतन गर्ने हो भने हामी सङ्ग यस्ता अनगिन्ती सम्पदा छन् जसबाट औध्योगिक र कृतिमताले ग्रस्त सिङ्गो विश्वको ध्यान तान्न सकिन्थ्यो जसले देश त चिनाउथ्यो नै हामी नेपालीलाई दरिद्रताबाट पनि माथि उकास्थ्यो अवस्य ,,तर यस्तो कस्ले सोच्ने?! नेता लड्नमा र हामी ताली बजाउनमै ब्यस्त मेरो देश अनी मेरो बेवारिशे महेन्द्र गुफालाई चाहेर पनि मैले इजराएलको 'सोरेक गुफा'सँग तुलना गर्न सकिन। तर के कहिल्यै नसकुंला??!


दीप्स शाह इजरायल

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]