सम्झनामा मेरो धादिङ्ग /मेरो थाक्रे


YYY

दीप्स शाह
८ थाक्रे ,धादिङ्ग



पश्चिम नेपालमा जन्मिएपनी म एक बर्षको हुँदा मेरो परिवार मुलघर पहाड याने कि धादिङ्ग फर्किएको रे । मैले होस् सम्हालेदेखी धादिङ्गलाई नै आफ्नो जन्मथलो मानेकोछु। उसो त मेरा सबै अफिसियल कागजपत्रमा मेरो ठेगाना नै धादिङ्ग लेखिएकोछ। र सबैभन्दा ठुलो कुरो त म मेरो धादिङ्गलाई प्राणजतिकै माया गर्छु ,साच्चै मलाई केही फरक पर्दैन म कहाँ जन्मिएकी थिएँ। मैले तातेताते थिरिथिरी गर्दै जीवनको पाइला टेकेको धादिङ्गमै हो । मेरा तोतेबोलिको पहिलो झन्कार धादिङ्गकै भिरपाखोले सुनेको हो। अनगिन्तिपटक पछारिँदै जिन्दगीको उकालो उक्लेको मैले धादिङ्गकै माटोमा हो धादिङ्गकै बाटोमा हो।

पहिले पहिले गाउँबाट शहर जाँदा कसैले धादिङ्गको नाम लिएको सुन्दा त्यो मान्छे आफ्नै छिमेकी दाइभाइ दिदी नाता कोही होला जस्तो लाग्थ्यो। मानौँ धादिङ्ग एउटा सुन्दर थुङ्गा सयपत्री हो जसलाई मैले आफ्नै अन्जुलिमा लुकाएकोछु। अभाबका भंड्खालाहरु पुर्ने चेष्टार्थ आज केही समययता धादिङ्ग देखी धेरै टाढा ,देशदेखी धेरै पर परदेशमा पसिना पोख्दैछु । यतिबेला कसैले नेपालको नाम लियो भनेपनी त्यो आफ्नै नाताकुटुम्ब हो जस्तोलाग्छ झन कसैले धादिङ्गकै प्रसँग निकाल्यो भने त त्यो आफ्नै परिवारको कोही सदस्यझैँ आत्मिय लाग्छ।

हो कुरा धादिङ्गकै गर्दैछु। त्यसमापनी मेरो गाउँठाउँको बारेमा केहीकुरा गर्न मन लागेकोछ आज। धादिङ्ग को थाक्रे गाबिस वडा न ८ हो मेरो जन्मस्थल। जुन ठाउँमलाई संसारकै सबैभन्दा प्रिय र सुन्दर अनी आफ्नो लाग्छ। थाक्रे गाबिस सौभाग्यको कुरागर्ने हो भने यस्तो भाग्यमानी गाबिस हो जसले आफ्नो छातीमा नेपालकै प्रमुख दुई दुई वटा मुख्य राजमार्ग (मुख्य सडक) बिछाउन पाएको छ। शिरानमा त्रिभुबन राजमार्ग जुन सम्भवत: नेपालकै प्रथम सडक हुनुपर्छ र पुछारमा पृथ्वी राजमार्ग । जबकी नेपालमा अध्यावधी यस्ताकैयन गाउँठाउँ छन जहाँ अझै सडक सुबिधा पुग्नसकेकोछैन। राजाधानी जिल्ला सँग जोडिएको मात्र नभएर काठमाण्डौ कलंकी सम्मको दुरी लग्भग ३१ किलोमिटर मात्रै रहेको यती भाग्यमानी थाक्रे गाबिसको दुर्भाग्यहरु गनिसाध्यैछैन। हो यसर्थमा मेरो थाक्रे अतिनै दुखी र अभागि पनि छ। बिजुलिबत्ती, खानेपानी, स्वास्थ चौकी आदी आधारभूत आवश्यकतापूर्ती बाट बन्चित सिङ्गो नेपालको एक टुक्रा धादिङ्ग अनी धादिङको एक थेक्लो थाक्रे गाबिस पनि यि तमाम सुबिधबाट आजपनी बन्चित नै छ। राजाधानीबाट केही किलोमिटर मात्रैको दुरिमा रहेरपनी यहाँको जनजीवन अझैकिन पछौटे ररिरहेकोछ??? यही प्रश्न मेरो माथिङ्गलमा घुमिरहन्छ। मैले देखेको सबैभन्दा ठुलो समस्या या कारण शिक्षाको सुलभता भएरपनी औचित्यहिन ह्नु हो। बिद्यालयको कमी छैन धादिङ्गमा र थाक्रे गाबिसमा पनि तर आज सम्म थाक्रे गाबिसमा एउटै पनि हाइस्कुल छैन। केही सन्ख्यामा प्राथमिक र सिमित निम्नमध्यमिक स्कुले शिक्षा पछी थाक्रेका विद्यार्थीहरु वाध्यभएर छिमेकी गाबिस सम्म काखिमा किताबको पोको बोकेर पुग्नुपर्नेहुन्छ।

शिक्षाको औषत स्तर निम्न रहनु नै मेरो थाक्रेको दुर्भाग्य हो भन्ने मलाई लाग्छ। मेरो स्कुले समय सम्मको अनुभबले बताउँछ अधिकाँश केटाकेटीहरुको शिक्षाको उकालो मुस्किलले निम्नमाध्यमिक स्तर सम्म र केहीको माद्यामिकको अन्यसम्म याने कि एस.एल.सी सम्म पुगेको हुन्थ्यो। त्यसपछी अधिकाँश छोरीहरुको विवाह हुने र विवाहपछी शिक्षाआर्जनको क्रम रोकिने र अधिकाँश छोराहरुको पनि केहीको बिहेबारी भएर गृहस्थी सुरुहुने ,केही पढाई बिचैमा छोडेर कामकाजतिर लाग्ने, जस्तो कि बस ट्रकमा खलाँसी लाग्ने, गाउँको तरकारी फलफुल बटुलेर कालिमाटी काठमाडौं सम्म लगेर बेचबिखन गर्ने काममा लाग्ने, काठमाडौं पसेर होटल ,प्रेस ,गलैचा कारखानातिर काममा लाग्ने र यसैक्रममा अभिभाबकको छत्रछायाबाट टाढा भएको मौकामा बिभिन्नखाले दुर्व्यशनमा समेत डुब्ने जस्ता कारणले गर्दा ज्यादै कम बच्चाहरुले उच्च शिक्षा पुरा गर्ने गर्छन्। बाँकी केही उमेरको उकालोसङ्गै शिक्षाआर्जन रोकेर खेतिकिसानीतिर लाग्छन, जो खेतिको भ्याइनभ्याइ मौसम बाहेक बिहान अबेर उठेर हाइगर्दै बेसितिर बजार झरेर दिनभरी बकम्फुसे गफमा अल्मलिँदै राती फेरी बिस्तरा र जाउलो खोज्दै घर उक्लिने यत्नमा समय कटाउनेगर्छ। जिन्दगीको महत्व बुझ्न र समयसापेक्ष आफुलाई परिचालनको लागि सक्षम बनाउन शिक्षाको अपरिहार्यता नबुझ्नु नै यो बिडम्बना बनेकोछ।

पछील्लो केहीसमय यता इन्टर्नेट सुबिधालाई उपयोगगर्दै सामाजिक सन्जाल मार्फत अलगलग भूगोलका मान्छेहरुसँग मित्रता गाँस्ने ,आफ्न प्रतिभाहरु प्रफुस्टन गर्ने शिल्शिलामा मैले संसारको कुनै एक कुनामा बसेर बिबिध ठाउँका मान्छेहरुसँग हेलमेल बढाएकोछु खासगरी आफ्नै हिमाल तराइ पहाड मेची महाकाली सर्बत्रका नेपाली दाजुभाइ दिदीबहिनीहरुसँग मित्रता बढाएर बिबिधखाले हातेमालो गर्नेक्रममा खासगरी साहित्यिक गोरेटोमा सहकार्य गर्ने जमर्को गर्दैछु । यस क्रममा म याद गर्छु इन्टर्नेट सन्जालबाट भेटिने साथीहरुमा पनि धेरैभन्दाधेरै धादिङ्ग बाहिरको साथी भेटेकोछु । दु:खको कुरो मेरो थाक्रे गाबिसको कोही पनि भेटेको छैन जो सँग म कुरैकुराको क्रममा महतडाँडा ,बितलब, कालिकाथान, खाँडिको खोल्चो र काउलेको लेकका कुरा गरुँ । थाक्रेको पानी खाएर हुर्केको कोही साथी भेटेको छैन जो सँग म सोप्याङ्गखोलाको दहको बारे चर्चा गरुँ, या त देबीथानको पिपलको रुखमा लहराउने सुनाखरिका बयान गरुँ।

हुनसक्छ यसरी इन्टर्नेट प्रयोग नगरनुमा धादिन्गे साथीहरु खासगरी थाक्रेली साथीहरुका अन्य बिबिध बाध्यता र समस्या होलान् तर मलाई थाहा छ मेरा धेरै थाक्रेली साथीहरु ,अझै भनुंँ मेरा सहपाठिहरु कोही घर बच्चा स्याहार्न ब्यस्त छन त कोही गृहस्थी चलाऊनमा । तर शिक्षाको अपुरो अधुरो उपलब्धिले आज मेरा तमाम साथीहरु पछीपरेका अवस्य हुन। हुन त बिकास र शिक्षाको मापदण्ड इण्टर्नेट प्रयोग र पहुँच मात्रै अवस्यै होइन तर प्राबिधिको प्रयोग बिकासको सुचक र आँकडा अवस्य हो। थाक्रेमै घरमै टेबुलमै बिजुली नहोला, कम्प्युटर नहोला र नहोला इन्टरनेट सुबिधा । तर कामको शिल्शिलामा, जागिरको क्रममा, रोजगारको दौरानमा कतै न कतै कहिँन कहीं यि तमाम प्राबिधिको प्रयोग त भएकै हुनुपर्ने हो, र धादिङ्गे, थाक्रेली साथीहरु भेटिनुपर्ने हो तर त्यसो भएकोछैन।म आशा अनी विश्वाश गर्छु, र हो पनि कि मेरो स्कुले समयभन्दा अहिले मेरो धादिङ्ग र मेरो थाक्रेले पनि निकै अगाडि फड्को मारिसकेकोछ । र अझै मार्नेछ। यसै लेखका मार्फत म सम्पूर्ण साथीहरुमा अनुरोध गर्छु कि कोहिकसै धादिङ्ग थाक्रेका हुनुहुन्छ भने आत्मिय खबर पाउँ । र यसै सन्जाल मार्फत हामी हातेमालो गरुँ कि हाम्रो ठाउँको मुहार फेर्न हामीले के कसो गर्नुपर्ला र सकिएला!

हाम्रो धादिङ्ग !! राम्रो धादिङ्ग!!
मिलेर बनाउँ उज्यालो धादिङ्ग!

deepssanu@gmail.com

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]