म मेरो देश, परिचय खोज्न कहाँ जाउँ ?


YYY


नेपाल !

काठमाडौं जाँदा-आउँदा नेपाल गा'को भन्थे
जिजुबुबा, अहिले पो काठमाडौं भो त ।

यो हाम्रो देशको मुटु
कलेजो, फोक्सो, मृगौला, गिदी सप्पै हो भन्थे,
मेरा आमा-बाबा, दाजु-दिदी, काका, मामा
गुरुआमा, गुरु सबै भन्थे
काठमाडौंमा जे पनि छ ।

त्यसैको लोभले म आज
काठमाडौं छु ।
हप्ताको एक दिन विहान तीन बजे धारामा पुग्छु
पानीमा उपहार आउँछ,
खै के खै के गन्हाउँछ ।
जारको पानी पाउँछ काठमाडौंमा
स्वास्नी लग्नेलाई "जार" भन्ने जान्याथें मैले
याहाँ पलास्टिकको ठूलो बोतललाई "जार" भन्दारैछन् ।

बजार निस्किन्छु म
मुटु अली दह्रो चाहिन्छ पेटमा हाल्ने खुराक किन्न
नत्र त्यतैबाट स्वर्ग जान पनि सकिन्छ- भाउ सुनेर ।

म आह्रा हालेर
बाहिर निसकन्छु फेरि भोलीको लागी खोज्न,
सडक पेटीमा चारो खोज्नेहरुको बाहुल्य छ
नाङ्लो पसल, कपडा पसल, जोख्‍ने पसल, तरकारी पसल, देह पसल
असरल्ल छ सडक पेटी,
भरङ्ग छ मनहरु ।

धुवाँ उडाउँदै मोटरहरु कुदिरा'का छन्
दुई पाङ्ग्रे, चार पाङ्ग्रे, आठ पाङ्ग्रे थरिथरीका,
कहाँ बास बस्छन् यी राती राती ।

सडकलाई सास्ती छ,
सबैले कुल्चेका छन्,
थुकेका छन्,
टायर बाल्छन्,
ईट्टा फाल्छन्,
मैले कति कुल्चें,
हिसाब छैन ।

अली पर पुग्छु म,
मन्दिर देख्‍थें पहिला म
त्यो घर,
६०१ दैत्यहरु,
भूत-प्रेत, पिचास, मसान, मुर्खुट्टा, किच्कन्ने,
अरु बेनामेहरु के के हुन् के,
शायद देवहरु पनि दानव भए कि ?

काठमाडौंले थेग्ला यी सब भारहरु ?
प्रश्नको भारी बोकेर म कुटी फर्किन्छु ।

पहिलो प्रश्न- नेपालको गिदी काठमाडौं नै हो ?
आफैंलाई सोधें ।

नेपथ्यबाट उत्तर आयो ।
गिदी?
हो हो मैले भने ।
दिल्ली, अमेरिका वा चाइनाबाट
आउँछ-आवश्यकता अनुसार,
मोरा त्यती पनि था'छैन ।

अब पक्का भो,
काठमाडौंको हावा पनि कंन्चनजंधाबाट हैन
अज्ञात स्थलबाट आउँछ ।
थानकोटमा दक्षिण गन्हाउँछ,
साँगामा उत्तर गन्हाउँछ,
गौचनरनमा पश्चिम गन्हाउँछ ।

मैले अरु प्रश्न सोध्न परेन।
अज्ञात स्थलबाट आउने हावाले,
फोक्सोबाट कसरी मुटुको रगत सफा गर्छ था'भयो,
स्कूलाँ स्वास्थ्य विज्ञान पढ्याछु नि,
आज मेरो आफ्नै रगत,
मेरो भएन ।

म मेरो देश, परिचय खोज्न कहाँ जाउँ ?


राजेन्द्र मल्ल
२८ वैशाष, २०६८
निलकण्ठ-१, धादिङ बेंशी
हाल काठमाडौं

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]