खनालले पार्टी माओवादीलाई बुझाउन खोजेको आरोप


YYY
केन्द्रीय कमिटी बैठक जेठ ९ देखि

२२ वैशाख, काठमाडौं । पार्टी निर्णय विपरित माओवादीलाई गृह मन्त्रालय दिएको भन्दै नेकपा एमाले पोलिटब्यूरो बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष झलनाथ खनालको चर्को आलोचना भएको छ ।

पार्टी मुख्यालय बल्खुमा बिहीबार बसेको बैठकमा बोल्ने अधिकांश नेताहरुले सातबुँदे सहमतिदेखि गृहमन्त्री नियुक्तिसम्म खनालले पार्टी पद्दति र निर्णयको उल्लंघन गरेको आरोप लगाएका छन् । बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले खनालले पार्टी सिध्याएर माओवादीलाई बुझाउन खोजेको आरोप लगाउनुभयो । पार्टी निर्णय विपरित गृह माओवादीलाई दिने खनालको निर्णय कदापी स्वीकार्य नहुने भन्दै उहाँले त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेबारी खनालले लिनुपर्ने बताउनु भयो ।

खनाल नेतृत्वको सरकार मुख्य कार्यभार शान्ति र संविधान निर्माण गर्न असफल भएको भन्दै नेपालले राष्ट्रिय सहमतिको सरकार गठनमा जोड दिएको पोलिटव्युरो सदस्य खगराज अधिकारीले जानकारी दिनुभयो ।

यसैगरी महासचिव ईश्वर पोखरेलले पनि पार्टी अध्यक्ष खनालको चर्को आलोचना गर्नुभएको छ । पार्टी निर्णय विपरित गृह माओवादीलाई दिने खनालको निर्णयले पार्टीको हित नहुने भन्दै पोखरेलले विधानमा पार्टीका बैठक आफ्नो राय सल्लाह र सुझावमा बोलाउनु पर्ने भएपनि अध्यक्षले मनपरी गरेको आरोप लगाउनुभयो । बैठकमा बोल्ने प्रदीप नेपाल, विद्या भण्डारी, मुकुन्द न्यौपाने, विष्णु रिमाल, रघु पन्त लगायत धेरै नेताले खनालको चर्को आलोचना गरेका छन् ।

बैठकमा उपाध्यक्ष वामदेव गौतमले गृहमन्त्रालय माओवादीलाई दिएकोमा त्यसको बचाउ गर्नुभएको थियो । यसैगरी प्रधानमन्त्री खनाल स्वयंमले पनि सरकार गठनका समयमा भएको सातबुँदे सहमति अनुसार नै माओवादीलाई गृह दिएको बताउनु भएको थियो । अधिकांशले पार्टी निर्णय कार्यान्वयन गर्न माग गरेपछि खनालले सबै विषयमा छलफलका लागि भन्दै जेठ ९ र १० गते केन्द्रीय कमिटीको बैठक बस्ने जानकारी दिनुभएको थियो ।

प्रधानमन्त्री झलनाथ खनाल शुक्रबार विदेश भ्रमणमा जाने भएकाले पोलिटव्युरो बैठक पनि जेठ ८ गतेसम्मका लागि स्थगित गरिएको एमाले सचिव युवराज ज्ञवालीले जानकारी दिनुभयो । बिहीबारको बैठकमा १४ जना पोलिटव्युरो सदस्यहरुले आ-आफ्नो धारणा राखेका छन् ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]