काँग्रेस कार्यकर्ताको आक्रमणमा माओवादीका ३ कार्यकर्ता घाइते


YYY
१५/२० जनाको सङ्ख्यामा रहेको एक समूहको आक्रमणबाट धादिङमा एकीकृत माओवादीका २ जना कार्यकर्ता र एक विद्यार्थी घाइते भएका छन् । जिल्लाको मुरलीभञ्याङ गाउँ विकास समिति स्थित पाल्पा भञ्ज्याङमा भोजबहादुर रेग्मीको नेतृत्वमा आएको एक समूहको आक्रमणबाट एकीकृत माओवादीका हरिशरण नेपाल, कमल नारायण श्रेष्ठ र सोहि विद्यालयमा कक्षा ९ मा अध्ययनरत रमेश लम्साल घाइते भएका माओवादी धादिङले जनाएको छ । घाइतेहरुको अवस्था खतरामुक्त रहेको छ । मुरलीभञ्ज्याङ गाउँ विकास समिति स्थित पाल्पा सामरी भञ्ज्याङ माध्यमिक विद्यालयमा शिक्षक नियुक्तिको विषयमा विवाद हुँदा काँग्रेस कार्यकर्ताले आफ्ना कार्यकर्तालाई आक्रमण गरेको माओवदीले जनाएको छ । नयाँ शिक्षक नियुक्ति गर्ने निर्णयको विषयमा विवाद हुँदा हिजोदेखि विद्यालयमा तालावन्दी गरिएको थियो । आज विद्यार्थीहरुले ताला खोलेपछि काँग्रेस कार्यकर्ताहरुले आफूहरुलाई आक्रमण गरेको माओवादीले बताएको छ ।

यसैबीच एकीकृत नेकपा माओवादीले घटनाको घोर भत्र्सना गरेको छ । माओवादी धादिङका सह–इञ्चार्ज रामबहादुर भण्डारीले आज एक विज्ञप्ति जारी गरी घटनाको घोर भर्तसना गर्नुभएको हो । विद्यालय व्यवस्थापन समिति सदस्य समेत रहेका नेपाल सहित अन्य दुई जनालाई आक्रमण गर्ने समूहलाई तत्काल कारवाही गर्न माग गर्दछौँ विज्ञप्तिमा भनिएको छ । तत्काल दोषीमाथि कारवाही नभए जस्तोसुकै प्रतिरोधमा उत्रन पनि बाध्य हुने माओवादीले चेतावनी दिएको छ ।

यस्तै काँग्रेस कार्यकर्ताको आक्रमणबाट अखिल क्रान्तिकारीका जिल्ला कोषाध्यक्ष हरिशरण नेपाल घाइते भएको घटनाको अखिल क्रान्तिकारी धादिङले घोर भर्त्सना गरेको छ । अखिल क्रान्तिकारी धादिङका अध्यक्ष प्रमोद पोखरेलद्वारा जारी विज्ञप्तिमा घटनाको विरोध गर्दे दोशीमाथि कडा कारवाहीको माग गरिएको छ ।

यता नेपाली काँग्रेसले भने घटनालाई अनावश्यक राजनीतिकरण गरिएको बताएको छ । नेपाली काँग्रेस मुरलीभञ्ज्याङका सभापति गुणबहादुर थपलियाले घटना सामान्य भएको भन्दै अनावश्यक राजनीतिकरण नगर्न माओवादी लाई आग्रह गर्नुभयो । यसै विषयलाई लिएर आज जिल्ला प्रशासन कार्यालय धादिङमा भएको छलफल विना निष्कर्ष टुङ्गिएको छ । प्रहरी नायव उपरिक्षक बसन्त कुँवरको रोहवरमा भएको छलफलमा दुई पक्षबीच सहमति हुन नसकेपछि बैठक निष्कर्ष विहिन भएको हो ।

नारायण सिलवाल
रेडियो बिहानी धादिङ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]