अरुङ खोला र आइतबारे रहस्य


YYY


बिहानको हुस्सु पाखा लाग्दा भुल्भुलेको टाउकोमाथि अघि नै घामले चियाइसकेको हुन्थ्यो ।आगनबाट अगाडी देखिने गणेश हिमालमा घामका किरणहरूले श्पर्श गरेपछि ती टलक्क टल्केर सुनजस्ता देखिन थाल्थे । यताहुदी र पौवातिरबाट यही सेपिलो सिम्पानीको बाटो हुँदै दुध बेच्न झरेका कति किसानहरू मस्त निदाइरहेको धादिङ बजारलाइ ब्युँझाएर किनमेल समेत गरीवरी फर्किसकेका हुन्थे ।आज शनिबार, स्कूल जान पर्दैनथ्यो, निर्धक्क भएर बरालिन र हप्ताभरी मनमा साँचेर राखेका इच्छाहरू पुरा गर्न हामी यही दिनको पर्खाइमा बसेझैँ त्यसै त्यसै व्यग्र भइरहेका हुन्थ्यौँ । प्रत्येक सप्ताहान्त एउटा उत्सव बनेर आएजस्तो लाग्थ्यो ।

बर्षामा हिलोमाटो, पहिरो मिस्सिएर राताम्य भएर उर्लने अरुङ खोला जस्तै गडगडाउदै, मडारिदै मडारिदै मेरो छातिभित्र उर्लेर आइरहेछन कति झझल्काहरू । अँध्यारो आकाशमा तारा चम्के जस्तो देखिने पिलपिले धादिङ वेँशी बजार, स्मृतिको झ्यालबाहिर आएर थपक्क बस्छ । त्यो गाउको एउटा सम्झना, एउटा चित्र, जसको एक छेउमा अरूङ खोला निरन्तर सुसाइरहेको हुन्छ।

"ओइ कान्छा, ल झोला सोला बोक, अब पाउरस (पावर-हाउस) जानपर्छ ।"
दाइ उहिल्यै तयार भइसकेको हुन्थ्यो, झोलामा धुनुपर्ने लुगाहरू हुन्थे । एक डल्ला लुगाधुने र एउटा नुहाउने साबुन र घिरौलाको जालो राखेपछि हाम्रो झोला तयार हुन्थ्यो । लुगा धुन र नुहाउन जाने बहाना बनाएर बिहानको गाँस टिप्ने बित्तिकै दाजुभाइ सिधै हानिन्थ्यौँ पावर हाउस पौडी खेल्न । कहिले राम्चेको बाटो त कहिले अरूङ खोलामाथिको कुलैकुलो ।

वरीपरी काँडाको बार लगाइएको ठूलो पोखरी थियो पावर हाउसमा, जुन शनिबार खुल्ला गरिएको हुन्थ्यो । अरूङ खोलाको पानी जम्मा गरेर बनाइएको यही पोखरीको पानीबाट उत्पादित विद्युतले धादिङ वेशी हरेक रात जुनकिरीजस्तो मधुरो उज्यालोमा पिलपिलाउन पाएको थियो ।

"दाइ, मलाइ पनि उल्टी जम्प हान्न सिका न ल ?"
अरूङ खोला तरेर रामचन्द्रेको गोठनेर पुग्नेबेला म दाइलाइ सोध्थेँ ।

"ह्या, तँलाइ आउदैन के, तँ भुरै छस, तैले अहिले सक्दैनस"

धेरैजसो उसको जवाफ यस्तै हुन्थ्यो । उसलाइ चाहि पानीमा पौडने र जम्प गर्ने अनेक तरिकाहरू आउँथे ।

पोखरी सम्म पानी भित्र्याउन बनाइएको नहर लामो थियो । ठाउँ ठाउँमा ढक्कन पनि बिछ्याईएका थिए । सर्वप्रथम यस्तै एउटा ठाउँ हेरेर कुलोको डिलमा लुगा धुने काम शुरु हुन्थ्यो । स्कुल ड्रेस र घराँ बस्दा लाउने २/४ जोर लुगा धोएर एक डल्ला साबुन सिध्याए पछि छेवैको चौर या बुट्यानका हाँगामा हाम्रा लुगाहरु टाँगिन्थे । ती परबाट हेर्दा कुनै कलाकारले हरियो क्यानभासमा पोखेको रंगजस्तै सुन्दर देखिन्थे । यतिबेलासम्म शनिबार मनाउन जम्मा भएका केटाकेटी हामी थुप्रै भइसकेका हुन्थ्यौँ ।


पन्ध्रौँ पटक, सोह्रौं पटक, सत्रौँ पटक ....


कुनै ठूलो पौडी प्रतियोगितामा भाग लिए जस्तै पोखरीलाई फन्को मार्न शुरु हुन्थ्यो । कसले धेरै सक्छ ? को छिटो थाक्छ ? कसले कुन तरिकाले पौडने, कसरी हाम्फाल्ने बिभिन्न कला र चर्तिकला हरु यहाँ प्रदर्शित हुन्थे । पोखरीको पारी पट्टि उभिएको ढिस्कोमाथि गएर पनि केटाहरु हाम्फाल्थे। त्यस ढिस्को माथि चिलाउनेको बुढो रुख थियो, कोही भने रुखको टुप्पोमा चढेर उधोमुन्टो लगाएर पोखरीमा झर्थे । डिल डिलै दौडदै गएर हावामा जिउलाई फन्का लगाउदै जम्प गर्न खुब रमाइलो हुन्थ्यो, त्यतिले नपुगेर कोहीचाँहि बाहिरबाटै उफ्रेर काँडाको तार नाघी जिउलाई पोखरीमा बजार्थे ।

वाल्यकाल का ती दिनहरु सम्झन्छु । संगै खेल्ने ती दौतरीहरु जसमा सानु,राजाराम दीपक, रामचन्द्र लगायत कति पात्रहरु सधै संगै हुन्थ्यौं । आज सबै आ आफ्नो संसारमा रमाई रहेका छौं । तर यतिका बर्ष बिती सक्दा पनि ती क्षणहरुको सम्झनाले मात्र मलाइ पल पल रोमान्चित बनाइ रहेको हुन्छ ।

पानीभित्र जिउ लुकाएपछि बाहिर निस्कन मन लाग्दैन'थ्यो । बिहान देखि साँझसम्म । कहिले काही यो क्रम यति अबेर सम्म चल्थ्यो कि झोला टिपेर घर फर्कंदा झमक्क साँझ परिसकेको हुन्थ्यो । आमाले हकार्नु भन्दा पहिले नै सुटुक्क कोठामा पस्थ्यों र किताब समाउथ्यों ।

भोली पल्ट बिहान साँखुबाट जरेवर हुँदै आकासे रंगको सर्ट र निलो प्यान्ट/फ्रक लगाएर स्कुल जादै गरेका केटाकेटी फाटफुट देखा पर्थे । हाम्रो भने कहिले काही होमवर्क पनि सकिएको हुदैनथ्यो, टेन्सनले टाउको दुखेजस्तो हुन्थ्यो । मलाइ त्यो आइतबारको दिन न आइदिए पनि हुन्थ्यो जस्तो लाग्थ्यो । म साच्चिकै बिसन्चो हुन्थें ।

एकदिन मैले आमालाई भनें, 'म आज स्कुल जान्नँ'
किन के भो ? उहाँ चिन्तित हुनुहुन्थ्यो ।

त्यसो त जति डुले पनि, खेले पनि म सधैं कक्षामा अग्रपंक्तिमै आउंथे । निलकण्ठमा धेरै विद्यार्थीहरु थिए, कहिलेकाही एकै कक्षामा ३०० सम्म विद्यार्थी पुगेको अनुभव छ हाम्रो । धेरै सेक्सनहरुमा बाड़ेर पढाइन्थ्यो, ए बि सी डि र कुनै बेला ई सम्म । अल्छीडाडाको बाटो भएर खेततिर जाँदा मेरा साथीहरुले उहाँलाई फस्ट ब्वाईको आमा भनेर सम्बोधन गरिदिन्थे, उहाँ मख्ख पर्नु हुन्थ्यो । एकाएक केटोले स्कुल जान्न भन्दा उहाँ आश्चर्यमा पर्नु स्वाभाविकै थियो । उहाँलाइ शंका लाग्थ्यो ।


मलाइ साच्चिकै पेट दुखिरहेको छ,म जिकिर गर्थें ।
तर स्कुल नगई धर पाइन्नथ्यो । स्कुलमा दिनभर नरमाइलो लागि रहन्थ्यो. कहिलेकाही पुरै क्लास नलिई भागेर आउथेँ ।

एकदिन घरमा 'नेपाल बाजे' आए, आमाले भन्नु भयो - यसलाई आइतबार आइतबार सन्चो हुदैन, झारफुक गर्नु पर्यो बाजे । यस्ता कुरामा विश्वास नभए पछि म बाजेले मन्त्र फुकेर दिएको खानेकुरा खान्न भन्थेँ तर आमा कर गर्नु हुन्थ्यो ।

स्कुलबाट भाग्दा वा गयल हुँदा सजिलो बहाना बन्थ्यो - पेट दुख्नु । तर मलाइ क्रमश: हरेक हप्ता साच्चिकै नराम्ररी पेट दुख्न थाल्यो, आफूलाई खुब जान्ने बुझ्ने ठान्थ्यौं हामी । भूत प्रेत र बोक्सीमा विश्वास गर्नेहरुलाई उडाउथ्यौं । तर सधै आइतबार आइतबार पेट दुख्न थालेपछि र अस्पतालको अौषधीले पनि नछोएपछि भने म भित्र भित्र डराउन थालें ।
कतै मलाइ बोक्सी नै पो लागेको हो कि, कि भूतप्रेत लाग्यो ?

स्कुलको गेट बाहिर चटपटे भैया बस्थे, खुब चट्पट खाइन्थ्यो तर त्यसपछि अमिलो पिरो र विस्तारै चट्पट खानै बन्द भयो ।तर पनि आइतबार पेट दुख्न कम भएन । एउटा अनौठो आइतबारे रहस्यले डेरा जमाउदै गयो । मलाइ के भैरहेको छ ? प्रश्न सधैं निरुत्तर हुन्थ्यो । छेउ टुप्पो कुनै भेउ खुल्न सकेन ।

सात कक्षामा म बोर्ड फर्स्ट भएँ, अब त यो सर्वोत्कृष्टताको इज्जत बचाई राख्न पनि बरालिने कुरामा सम्झौता गर्न पर्ने भयो मैले । त्यसमाथि अभिभावक दिवसको अवसरमा आयोजित कार्यक्रममा पुरस्कार दिदै प्रधानाध्यापक शम्भु सरले भन्नु भयो - नेभर बि सेकेन्ड । त्यसपछि त झन् ममा जिम्मेवारी बढे जस्तो लाग्न थाल्यो । अहिले सोच्छु, त्यही गम्भीरता, आत्मबोध वा जिम्मेवारीको भावना मेरा कलेजका दिनहरुमा किन मसंग भएनन् ? समयले मान्छेको जीवनयात्रा सोच्दै नसोचेको बाटोतिर डोर्याउदो रहेछ, त्यसले त्यसरी नै डोर्याउदै गयो र म त्यसको पछि पछि हिड्दै गएँ, हिडिरहेछु ।

बाँस जस्तो हलक्क बढियो, ओठमाथि जुँगाका रेखा पलाए । अब त आफैलाई ठूलो भएँ जस्तो लाग्न थालेको थियो । पावर हाउस र खोला धाउने क्रम अब पातलिदै गयो । गइन्थ्यो तर ३/४ घन्टामा फर्केर आइन्थ्यो । मलाइ बर्षौं छटपटीमा राखेको आइतबारे रहस्यको पेटारो पनि बल्ल खुल्यो । त्यसपछि कहिल्यै पेट दुखेन ।

कारण बुझ्दा शानिबार दिनभर बिहान देखि साँझसम्म जिउलाई चिसो पानीमा ढड्याएपछि भोलिपल्ट त्यसैको नतिजा निस्कने रहेछ -आइतबार आइतबार । यति सानो रहस्य केलाउन पनि मलाइ कति धेरै समय लाग्यो । अहिले सम्झंदा हासो लाग्छ - धत् म कति मूर्ख रहेछु ।

कृष्णपक्ष
नीलकण्ठ -२, धादिङ

hi@krishnathapa.com

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]