'सुजिताको आत्महत्याले दिएको सन्देश'


YYY
'सुजिताको आत्महत्याले दिएको सन्देश'

‘ऐक्यबद्दता’ जेठ अंकमा चन्दा थापा द्वारा लिखित सत्य घटनामा आधारित लेख 'सुजिताको आत्महत्यामा खुमबहादुरको विलौना' पढेर म नराम्रोसँग आन्दोलित हुनपुगेँ। ब्रित्तचित्रझैँ घटनाक्रम ससर्ती आँखामा आउँदा सुजिताको मृतआत्मा प्रतिको श्रदान्जली भन्दाधेरै उनले छोडेर गएका लालाबाला र बिवश पती खुमबहादुर प्रती मेरो गहिरो सहानुभूती रहिरह्यो लेख पढुन्जेल र यो लेख लेख्दासम्म पनि। बाध्यताले पिल्सिएर घरसल्ल्लाह अनुसार बिदेशिएकी सुजिताले झेल्नुपरेको अनेक कष्ट,बिदेश पठाउने दलालहरुको मनोमानी, त्यसले सुजितालाई दिएको मानसिक यातना, यता घरमा उनको बैदेशिक यात्रासङ्गै झाँगिएको मिठा सपना, सुजिताको दैनिकी र यथार्थ्सँग बेखबर पती खुमबहादुरको मानसिक पीडा र केही हद सम्मको पत्निप्रतिको शंकाउपशंका र अन्तमा सुजितामा रहेको आत्मबिश्वासको कमी, पतिप्रतीको कमजोर भरोसाका कारण उनले अङालेको कठोर निर्णय 'आत्महत्या' बारे पढ्दा कस्को मन आन्दोलित नहोला!त्यसमाथी बैदेशिक रोजगारको सवाल रहेको हुँदा म आँफैँपनी प्रत्यक्ष यही धरातलमा उभिएकोछु र यसले पनि मलाई निकै सोच्न लगायो सुजिताको आत्महत्याबारे।
सवाल हो पती पत्नी बिचको विश्वाश र भरोसा। भनिन्छ विश्वाशको अर्को कुनै किनारा हुँदैन। जिन्दगीको रथ सङ्सङ्गै हाँक्ने निधो गरेर अगाडि बढीसकेपछी एकलेअर्कोलाई विश्वाश गर्नु र भरोसामा बाँधिनुको बिकल्प हुँदैन। सारा समस्याको एकमात्र समाधान हो एकार्कामा विश्वाशको डोरी मजबुत बनाउँदै जानु र त्यसखालको बातावरण बनाउँदैजानु। अझै भनुँ मन जित्नु। अबिश्वास र शँका भन्ने त सम्बन्धमा जहिले जहाँ जुनसुकै अवस्थामापनी रहिरहन्छ। यहाँँनिर मलाई भन्न मन लागेको कुरो के हो भने शंका गर्नु साह्रै नराम्रो काम गर्नु होइन नै। सुजितालाई उनका पतीले "तिम्रो चाला ठीक छैन जस्तो छ" भनेर भन्नु, सुजितालाई कसैले 'तिम्रा पतीले अर्कै बिहे गरेकाछन् रे!' भनेर भन्नु अवस्य राम्रो कुरो थिएन जसले सुजितालाई चोट पुग्यो तर हामीले के भुल्नुहुँदैन भने जीवनसाथी नै एक मात्र त्यो आफ्नो जीवनको अधिकारी हो जसलाई हामीले सम्पूर्ण हक दिएका हुन्छौँ। सत्य त यो हो कि आफ्नो ले नै आफ्नाको ख्याल गर्छ, चासो गर्छ र जानकारी चाहन्छ। परायालाई के वास्ता! शंकागर्नु अवस्य राम्रो काम होइन तर शंकाभित्र आफ्नोपन, आत्मियता र सम्बन्धको प्रगाढतापनी छिपेको हुन्छ त्यसलाई हामीले चिन्न सक्नुपर्छ। माया गर्ने ले नै हरेक कुराको चासो राख्छ र केही भयो कि!! केही होला कि!! या गुमाउनुपर्ने हो कि !! भनेर हमेसा सजगपनी गराइराख्छ। शायद सम्बन्धको सबैभन्दा महत्वपूर्ण कडी पनि यही हो कि जहाँ पुनर्ताजगी भैराख्छ ।
जिन्दगीको हरेक मोडमा हात र साथ् दिने मान्छेले गरेको आशंकालाई भुसको आगो सम्झेर होइन आफ्नोपनको हक सम्झेर निराकरण गर्न सक्नुपर्छ। शंका उब्जिने झ्याङ्ग्प्वाल टाल्ने यत्न गर्नुपर्छ भलै शंकाको निराकरण हुन सक्दैन कसैगरी। यो कुरा पती पत्नी दुबैमा लागु हुन्छ/हुनुपर्छ। 'तिम्रा पतीले अर्कै बिहे गरेकाछन् रे!' भनेर कसैले भनिदिँदा सुजितालाई हुनसम्म पिर पर्योर, आकाश खस्यो र उनले जीवन त्यागिन्। यो सबै मान्छेमा उतिकै असर गर्ने कुरा हो। अझै मानबिय सम्बेदनामा महिला केही अगाडि नै हुन्छन् भने उनिहरुलाई बेसी असर गर्नु स्वाभाबिक पनि हो। यहाँँनिर पनि विश्वाश नै चुक्यो। सबैभन्दा पहिले त आफ्ना पती पत्नीलाई आफुले चिन्न सक्नुपर्छ ,त्यती भएरैपनी भरोसा नतोडिने भन्ने त हुँदैन। तर त्यसको निर्क्यौल गर्ने अन्य तरिकापनी त होलान्। आफन्त,परिवार्का अन्य सदस्य, साथीभाइ कोहिकसैलाई राम्ररी सुझबुझ गर्नलगाएर सत्यतथ्य बुझ्ने ठाउँ प्रसस्त थियो। यदी अन्तमा त्यो कुरो सत्य नै थियो भने पनि अन्तिम उपाय घर फर्केर आफ्नै आँखाले देख्न सकिन्थ्यो। तर आफ्नाहरु बिचको विश्वाशलाई त्यती कमजोर ठानेर सुजिताले यती कठोर निर्णय लिन पुगिन् कि आज खुमबहादुर एक्लो र बिवश बन्न पुगे तर भोली उनले अर्की जीवनसाथी खोज्लान् र बिगतका घाउमा खाटा बसाल्दै नयाँ सपना सजाउलान् या नसजाउलान् पनि तर ति अबोध लालाबालाले अब कहिल्यै आमा पाउनेछैनन् न त उचित स्याहार, रेखादेख र उनिहरुको भबिस्यप्रतिको चिन्ता चासो कसैबाट पाउनेछन्। तिनिहरुको बारा के दोष थियो!!
यहाँनिर समस्या अर्को पनि के हो भने हाम्रो पुर्बिय समाज र सोच जहाँ पतीले पत्नीसङ्ग अलिकतीपनी निहुरिनै हुँदैन। पत्नीहरु चाँहीँ कोही यस्ताछन् जो आफु थिचिएको किचिएको र हेपिएको पत्तै पौँदैनन् र आफ्ना हकअधिकार बारे गुमनाम रहेरै जीवन बिताइदिन्छन् र कोही यस्ताछन् जो आफुलाई समयसङै चल्ने नाम दिन रुचाउँछन र आँफैलाई सर्वेसर्वा ठान्छन्। पतिलाई आफ्नो समानताको धक्कुमा मान्छे गन्न चाहँदैनन्। वास्तबमै सम्बन्धको सुमुधुरता भनेको सहभाबमा बढ्ने हो। पुरुषत्वको बहानामा या समानतको ढर्राामा जहाँ एक्सङ्ग अर्को झुक्न सक्दैन या चाहँदैन त्यहाँ सम्बन्ध कहिल्यै टिकाउ त के केही मिठो समेत हुनसक्दैन। एउटाले अलिकती झुकिदिँदा अर्कोले आत्मियतामा या उसको समर्पणदेखी नतमस्तक भएर अझैबेसी हातेमालो गर्छ। यसरीनै नाता मिठो हुँैजाने हो तर लोग्नेश्वासनी बिचमा टक्कर लिने अवस्था आयो भने त्यो भन्दा अभिषाप अरु केही हुँदैन।
पतीपत्नी बिच कहिल्यै तँतँ मम नहोस् कहिल्यै रातोपिरो अनुहार नहोस् त्यस्तो नमुना सम्बन्ध कहिल्यै कहीं हुनै सक्दैन। यदी कसैले मेरो परिवारमा यस्तो सम्बन्ध छ भन्छ भने त्यो सरासर ढोँग हो कि उसले अरुलाई मुर्ख बनाइरहेछ । यदी उसको भनाइ सत्य नै हो भने पनि बुझ्नुपर्छ कि उसको सम्बन्ध हिउँ जतिकै चिसो छ। जहाँ एकले अर्कोको ख्याल नै नगरि चुपचाप एक नाममात्रको औपचारिक सम्बन्ध स्विकार्दै निरस बाँचिरहेछन। जहाँ आफ्नोपन छ त्यहँ खोजी, चासो, डर, शंका, प्रश्न आदिआदी हुन्छ नै। र त्यसैको उपज खट्पट पनि भैरहन्छ नै। यसो हुनु सम्बन्धको पुनर्ताजगी भैरहनु हो र यसो हुनुमै सम्बन्धको मिठास र आयु लम्बिरहन्छ । कल्पना गरौँ त कहिल्यै झगडा झर्कोफर्को घुर्की नहुने सम्बन्ध कती चिसो होला जमेको ताल जस्तो। अलिकती रिस, घुर्की, झर्को, हक जताइ अनी केहीछिनमा माया, फकाइ,समर्पण हुनु आहा!! मानौँ लहर लहर उर्लिरहेको सागर जस्तो झंकारयुक्त कती मिठो आफ्नोपन! त्यसैले सानोसानो प्रसंगलाई ठुलो बनाएर सम्बन्धको धाँजा फटाउने काम नगरनुनै उत्तम हो।
खासगरी आज बलेसी नाघेर कामकाजमा लागेका पत्नीहरुले बुझ्नुपर्ने अर्को कुरो के पनि हो भने हिजो लोग्नेले कमाइगर्दा पत्निलाई "तँ बसीबसी खाने न होस् , कमाउने त म पो हुँ । त्यसैले म नै ठुलो" भन्नु कती गलत थियो आज आफुले पतीलाई त्यसइ भन्नु कती जायज?? समान त्याग र समर्पण अनी सहभाबमा नै जिन्दगी बिताउने हो भने एकार्कोले जस्ले जती कमाएपनी या व्यबहार हेरेपनी आखिर हो त आफ्नै घर-जिन्दगी चलाऊनलाई आफ्नै जिम्मेवारी पुरागरेको न हो । यसमा मैले यतिगरेँ उतिगरेँ भन्नुपर्ने आवस्यक किन?? यस्तैयस्तै गलत बुझाई , शँकाउपशंका अनी कमजोर आत्मबिश्वास नै कारक थियो सुजिताले ज्यान फाल्नुमा। जसको सजायँ अहिले पती खुमबहादुर र टुहुरा लालाबालाले भोगिरहेछन्। यो सन्देश र आशय अनी आग्रह अब कसैगरी पनि स्वर्गिय सुजिता सम्म पुग्नेछैन न त ति टुहुरा बच्चा अनी बिवश खुमबहादुरको खुशी र सपनानै फिर्ता आउँछ तर कम्तिमा पनि सुजिताको मृत्युनबाट हामी सबैले जिन्दगीको,सम्बन्धको र विश्वाशमा हुनुपर्ने मजबुतीको पाठ सिकौँ। फेरी कुनै सानो भ्रमको शिकार हुँदा कोही अर्को सुजिताले आत्महत्या नगरौँ ताकी अन्य खुमबहादुर पछुतोमा जल्दै एक्ला नबनुन् फेरी अनी अरु निर्दोष लालाबाला टुहुरिन नपरोस्। समर्पण र त्याग नै सम्बन्धको सबैभन्दा बलियो मजबुती हो भन्ने नभुलौँ
अन्तमा स्वर्गिय सुजिताको आत्माको चिर शान्तीको कामना गर्दै सन्तप्त परिवारमा समबेदना !!!!

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]