मेरो रहर अनि छोराको आशहरु


YYY


-राजेन्द्र महर्जन



अचेल भात भन्दा जागिर सस्तो भएको छ,
म त अचेल
भोकभोकै जागिर खान्छु,
र खाने गर्छु,
जागिरले अघाउन छोडेको छ अचेल मलाई,

बजारमा जागिर पाए नि,
चामल पाउन छोडेको छ,
जागिर खाएर मात्रै
चामल खाने बानी परेको छ मलाई अचेल,
किनकी जागिर नखाई
चामलको भात खान पाईंदैन,
खान सकिन्न,

साँचो मानेमा
यहाँ जागिर भन्दा चामल महंगीएको छ,

मेरो छोराको खेलौना गाडी किन्ने सपना,
मेरी छोरीको नाच्ने गुडिया खेल्ने चाहना,
अनि,
मेरी श्रीमतीको एकजोर नयाँ चोलो फेर्ने इच्छा पनि
धेरै महिना बिति सके,
महिनै पिच्छे म अर्को महिना किन्दिने आश्वासन बाँड्दै टार्ने गर्छु,
मेरो छोरा छोरीले देशको खबर त बुझेका छैनन् पक्कै,
नत्र भन्थे होला तिनले,
बुबा त नेपाल सरकार रहेछ भनेर
श्रीमतीले भन्ने गर्थी
‘यो त लोकतन्त्र जस्तै भयो
हामी जस्ताको घरमा छिर्न नभ्याएको लोकतन्त्र’ भनेर ।

साँच्चै,
लोकको आँगनमा त नपसेको तन्त्र
घरको चुल्होसम्म पुग्न कति समय लाग्ने हो कुन्नि,
छोरा छोरीको खेलौना किन्ने इच्छा भन्दा नि
दिनको एक चोटी हातमुख जोड्न पाए जाति हुन्थ्यो,
कमसे कम भात खाएर त जागिर खान जान सक्ने हुन्थे होला,

हिजो लोकको हित हुने आशामा
लोकतन्त्र चोक नाम दिइएको
चक्रपथ घुम्न गएथे मेरी श्रीमती पनि,
पुलिससंगको लुकामारी अनि पैंठो जोरी खेल्दाको रमाइलो भनौं
या सशस्त्र दाजुभाइको गोलीले झन्नै छोएको बेला भनौं
उनले खेलेको झीनो भूमिका पनि
आजको गणतन्त्रको लागि एक थोपा जल नै त थियो,

उनले थोपा थोपा पसिना चुहाएको त्यो ठाउँ
अनि रगतको भेल बगेको त्यो गाउँ
अहिले सिंहदरबारलाई विरानो भएको छ,
अहिले लोडशेडिङले अँध्यारो भएको छ,
माननीयहरु सिंहदरबारमा ग्याँस हिटर तापी रहँदा
मेरो यो गाउँमा टुकी बल्न पनि तेल पाउन छोडेको छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]