अपरिभाषित प्रेम


YYY

फेब्रुअरीको जेरुसेलम शहरमाथि बिहानको मधुरो घामले अघि नै आँखा उघारी सकेको थियो । इजरायलको राजधानी शहर जेरुसेलम, नाब्लास स्ट्रिटको किनारमा उभिएको यो अग्लो भवनको पाँचौ तल्लाको झ्यालबाट एकपटक भुइँतिर नियाल्छु । एउटा भुवादार स्विटर र मफलरले हिउँ खस्ला जस्तो सिरेटोलाई छेक्दै भ्यालेन्टिना रातो गुलाफ लिएर अघिदेखि पर्खिरहेकी छ ।

जाडो याम भ्यालेन्टिनालाइ शत्रु जत्तिकै लाग्छ । किन ? यसो भन्न उसलाई पटक्कै संकोच लाग्दैन कि उसले यी चिसा मौसमहरुमा आफ्नो जवानीलाई उनीका बाक्ला लुगाभित्र कैद गर्नु पर्छ र आफ्नो रहर लाग्दो यौवन यसरी गुम्सिएलाझैं थुन्नु परेको उसलाई पटक्क मन पर्दैन ।


हाइ भ्यालेन्टिना !
हाइ ! किन ढिला गर्यौ त ओर्लन ?
माथिबाट केहीबेर तिमीलाई हेरेर बसेँ, मलाइ पर्खिरहेको ।
त्यसो भए मेरो कविता पनि लेख्यौ कि ?

भ्यालेन्टिना ओभिलिन्स्की, यो रसियन युवतीलाई थाहा छ, म कविता लेख्छु मेरो भाषामा । पारिला घामका धर्काहरु पछ्याउदै पार्कमा बिताएका स्वर्णिम पलहरु हुन् या मुखबाट उठेका बाफका धुँवाहरु साट्दै कुनै रेस्टुराँमा बितेका अनमोल क्षणहरु , कत्रो खुसीको कुरा ! नबुझे पनि बुझेझैं गरी भ्यालेन्टिना मेरा कविताहरु सुन्न मन पराउँछे, र म उल्था गरी गरी उसलाई सुनाउछु ।

पार्कबाट बहेको मिठो सुवास, भ्यालेन्टिनाको तनको सुगन्धसंग मिसिएर वातावरण मोहक बनिरहेको थियो । फुलको हांगा माथिमाथि उचाल्दै छाता ओढेर पर्खिएझैं पार्कको एउटा कुनामा रहेको खाली बेन्चमा जिउ बिसाउने बित्तिकै भ्यालेन्टिनाले आज पनि प्रश्न गरी - तिम्रो साच्चिकै बिहे भएको छैन ?

'होइन'को भावमा टाउको हल्लाउदै म भन्छु - तर कसैसँग मेरो प्रेम भएको चाहिं म स्वीकार गर्छु ।
को हो नि त्यो ? कस्ती छ म पनि चिन्छु कि ?
यी, यो गुलाफ जस्तै मेरै आँखा अगाडी उभिएकी, उसको आँखामा हेरेर म भनिदिन्छु - मेरी प्रेमिका उही हो।
भ्यालेन्टिना शर्माएर रातो हुदै भन्छे - फेरी ढाँट्यौ तिमीले ।

......................................

हो भ्यालेन्टिना, शायद तिमी सही छ्यौ.. यो सम्बन्धको नाम प्रेम नहुन सक्छ । प्रेम कस्तो हुन्छ ? यसको आकार स्वरूप या अनुभूतिका कुनै पनि रंगहरु मैले केलाउन सकेको छैन । एउटा लेखक भएर मैले प्रेम र यसका परिभाषाहरुलाई अनेकौं तरहमा व्याख्या गरें हुँला यद्यपि म आफू चाहिं कहिले प्रष्ट भईन कि प्रेम के हो ?

हरेक पटक प्रेमको वहसले गहिराइ लिदै गए पछि म त्यही स्मृतिको सागरमा डुब्न पुग्छु जुन स्मृति करिब एक दशक देखि म भित्र थुनिएर रहेको छ ।

हँ फेरी कता हरायौ ? आफ्नै सम्झनाको समुन्द्रमा डुबेको मेरो आँखा अगाडी हात हल्लाउदै उ भन्छे - भनि हालें नि मैले, तिम्रो कोही छ जसलाई तिमी सम्झिरहेका छौ, को हो त्यो ?

प्रिय भ्यालेन्टिना ! बर्षैादेखि एउटा अन्जान, अज्ञात अन्धकारले थुनिएर म आफै बसेको बेला कसरी भनुँ, मेरो छाती भित्र कैद भएका ती स्मृतिहरु प्रेमका डोबहरू हुन् या होइनन ? सुन्छैा भने सुन, यो उसैको कहानी हो जसलाई तिमी यतिखेर मेरी प्रेमिका भनेर सोची रहेकी छ्यौ ।


त्यो समय थियो जुनबेला अहिले झैं छपक्क इन्टरनेट, वेव्डायरी या विद्युतीय संजालहरु थिएनन । यसर्थ लेखकले प्रतिक्रिया कुर्न महिनौं पर्खनु पर्थ्यो, पत्रिका या पोस्ट बाकसमा ती पाठक प्रतिक्रिया बनेर आउँथे । म आफै पनि मन परेको लेखकलाई यसरी पत्र कोर्थे र प्रसंशा गर्थें या उनका रचनाहरुमा टिप्पणी गर्थें । लेखक र पाठकको भावनात्मक सम्बन्ध गहिरो हुन्थ्यो ।

म त्यस्ताका एउटा सामान्य लेखक थिएँ, समयले बनाएको । पत्रिकामा साहित्यिक स्तम्भ चलाउथेँ । साहित्यिक अभिरूचि भन्दापनि अनेकैाँ सपना बोकेर गाउँदेखि शहर पस्ने एउटा प्रतिनिधि किशोरले गर्ने अभावसंगको संघर्ष या जिविकोपार्जनको उपक्रम मात्र थियो मेरो लेखन । यद्यपि प्रतिक्रियाहरुबाट के अनुमान गर्न सक्थें भने, पत्रिकाको मेरो जागिरे साहित्यकर्मले एउटा बहाव बनाई सकेको छ । म मान्छेको प्रेम र जीवन, भोगाई, घटनाक्रम र आवृत्तिहरुको एउटा अटुट सिलसिला लेखिरहेको छु जुन सिलसिला प्रत्येक अंकका स्तम्भमा कुँदिएर कहिले नटुंगिने धारावाहिक उपन्यासमा परिणत भएको होस् ।

अचानक कुनै विशेष कारणले पत्रिकामा लेख्ने क्रम टुटेको मात्र थिएन, मेरो लेखन यात्रा र साहित्यिक गतिबिधि निमिट्यान्न भयो । दिन, हप्ता गर्दै महिनौं बित्यो । म लेखनमा फर्किनँ । मैले रमाउने बिषय अरु नै केही पाउन थालें ।

त्यसपछि, एकदिन एउटा लामो पत्र आयो ।



प्रिय लेखक!

म तपाईकी प्रशंसक । सम्झनुहोस यत्ति हो मेरो परिचय । जो तपाईले कुँदेका शब्दहरुसंग मोहित भएकी छे । तपाईका श्रृजनाहरुको प्रभाव मेरो मनको भित्री सतहमा प्रेम भन्दा गहिरोसंग बसेका छन्, कोरिएका छन् । तपाईले किन लेख्न छाड्नु भयो ? मेरो मनभित्र उर्लिरहेको यही प्रश्न र अस्वीकृति यो पत्रको कारण हो । तपाई यसरी पाठकसंग लयात्मक सामिप्यता राखी सकेर एकाएक आफै विमुख कसरी हुन पाउनु हुन्छ ?

साच्चै भनौँ मेरो उमेर र यो यौवनको चञ्चलताले कुनै ठुला ग्लामर क्षेत्रका कलाकार या रंगिन दुनियाका स्टारहरु प्रति कहिल्यै आकर्षण राखेन । मेरो आकर्षण भन्नु आदर्श भन्नु सधै लेखक साहित्यकारहरुमात्र भए । मेरो कोठाका भित्ता देखि लिएर मनका कुनाकुनामा भानुभक्त देखी लक्ष्मी प्रसाद पारिजातका तस्वीरहरु टाँसिएका छन । एउटा तस्वीर तपाईको पनि यसरी टाँसिएको छ, मानौ तपाईको शब्द साह्रित्य भाव वा शैलीले मेरो मन सुटुक्कै चोरेर लगेको होस, कुनै प्रेमिले प्रेमिकालाई चोरे जस्तै ।

प्रिय लेखक! म यो सब किन लेखी रहेको छु थाहा छैन । हुन सक्छ हाम्रो भेट कहिल्यै हुने छैन र यो एउटा साधारण पाठक पत्र बाहेक अरु केही पनि होइन । पत्रिकामा छापिने तपाईका हरेक स्तम्भहरुको पर्खाइमा सधै अधीर भैरहेकी हुन्थेँ र त्यो धैर्यताको सिमाना आज टुटेकोले यो पत्र लेख्न विवश भएकी हुँ । त्यसो त मेरो मनको डायरीमा तपाईका कविताहरु र कथाहरु कहिल्ये नउप्किने गरी सजिएका छन् । तपाईका ती पँक्तिहरु,पत्रिकाका कटिङ्गहरु मैले मेरो शयन कक्षका भित्ता दराज र ऐना भरी पनि टाँसेको छु । तपाइका कति कथाहरुहमा मैले आफूलाई नायिकाको रुपमा उभ्याएकी छु । आफै हाँसेकी छु र आफै रोएकी पनि छु । साथीहरुले संगित फिल्म वा फेसनका कुरा गरिरहँदा मैले तपाईका कुरा गरेकी छु र साहित्यका कुरा गरेकी छु ।

एक हिसावले ती शब्दहरुसंग मेरो प्रेम भएको छ, एकतर्फी प्रेम । कुनै पाठकले यतिका प्रेम गर्दागर्दै पनि तपाई किन साहित्यबाट भाग्दै हुनुहुन्छ ? म यही बुझाउन चाहान्छु ।
प्रिय लेखक, तपाईले लेख्न छाड्नु भयो भने तपाईका शब्दसंग त्यो मेरो अनुराग सबै मर्नेछ । त्यसको हत्या हुनेछ र तपाईलाई पाप लाग्ने छ ।

पत्र रहस्यमय थियो ।
न पत्र प्रेषकको नाम थियो न ठेगाना । खुलदुलीका बादलहरु छाती भरी मडाडीइरहे धेरे दिन सम्म । पत्र मेरो कथाको मख्य विषय जस्तो बन्यो । साहित्यमा फर्कन उत्साह बढेजस्तो भयो । मान्छेको मन न हो । सानै कुराले कति छिटो प्रेरित हुदो रहेछ । मैले फेरी लेख्न थालेँ ।

दोस्रो तेस्रो चौथो उसका पत्रहरु आउन थाले । प्रत्येक पत्रहरुले उत्साहको नयाँ संचार बोकेर ल्याउँथे । लेखनमा निरन्तरता आउन थालेपछि उ सबै भन्दा धेरै खुशी भएकी थिर्इ । एउटा अब्यक्त खुशी ममा पनि छाउन थालेको थियो उसका पत्रहरु आउन थाले पछि । कहिलेकाही त लाग्थ्यो उसैको मीठो प्रतिकृयाकै लागि यो सब लेखी रहेको पो छु की ? पोष्ट बक्सहरु घरिघरी खोल्दै म उस्का पत्रहरु पढ्न बर्षौदेखी आतुर भै रहेको छु जस्तो लाग्थ्यो । केवल एउटा पाठकपत्रले मेरो स्वभाव पुरै बद्ली दिएको थियो । तर, दुखको कुरा, पत्र एकतर्फी हुन्थ्यो । मेरो मनमा उसप्रति उठेका भावनाहरु पठाउने उसको कुनै ठेगाना थिएन ।

धेरै पछि मैले थाहा पाएँ मलाई प्रेम भएको छ, त्यो पत्रसंग, त्यो पत्रलेख्ने मनसंग, मान्छेसंग र भावनासंग । यस्तै भावनाले भरिएको मैले केही लेखेर छपाएँ “मेरो पहिलो प्रेम” ताकी उसले बुझोस । जसमा मैले उसलार्इ जान्न चाहे, "को हौ तिमी ?"

लगत्तै अर्को पत्र आयो, त्यही पत्र थियो जस्ले मेरो प्रेमको दृष्टिकोण पुरै बद्ली दियो । – निर्णायक र अन्तीम पत्र ।
पत्र यस्तो थियो ।

प्रिय लेखक!
एकैसाथ खुशी वा दुखी दुवै भर्इ रहेकी छु । प्रेमको कुनै परिधि हुदैन यसर्थ तपाई भित्र अंकुरित प्रेम प्रति मेरो कुनै गुनासो छैन । यद्यपी “तिमी को हौ” भन्ने प्रश्नले र मेरो भौतिक खोजीले म यतिखेर विचलित भै रहेकी छु । त्यसमा प्राप्तीको अभिलाषा निहित छ जुन मेरो प्रेमको परिभाषामा पर्दैन । तपाईको आग्रह अनुसार यदी म प्रस्तुत हुने हो भने म एउटा आम पाठकबाट तपाइकी विशेष कोही बनौला तर त्यसले मेरो पाठकीय प्रेम र तपाई प्रतिको लेखकीय सम्मानको न्याय गर्न सक्छ ? कदापी सक्दैन । मानिलिनुस मेरो नाम क, ख वा कुनै होला र मेरो ठेगाना कतै होला त्यसले के फरक पार्छ ? म तपाईकी प्रेमिका होइन । म तपाईको भौतिक उपस्थितिलाई प्रेम पनि गर्दिन यदि मेरो प्रेम छ भने तिनै शब्दहरुसंग मात्रै छ, जो तपाई लेख्नुहुन्छ ।

र तपाई पनि मेरो प्रेमको खोजी मेरै पत्रहरुमा गर्नुहोला । तपाईका हरेक प्रश्नहरूको उत्तर त्यहीँ खोज्नुहोला । ल ! सम्वोधनकै लागि सोध्नुहुन्छ भने भनिदिएँ मेरो नाम 'प्रेरणा' । एउटा आम पाठक बनेर भ्याएसम्म तपाईलाई लेख्दै गर्नेछु ।

प्रेरणा

अधुरो लाग्यो उसको पत्र । तथापी त्यसपछिका दिनहरुमा अझ गाढा हुदै गयो उसका प्रेमका आभास । खै किन थाहा भएन । प्रेरणा, त्यो नाम छातीभित्र सजिए झैँ लाग्न थाल्यो । जब जब म लेख्न बस्थेँ उसैको प्रेमको आभासले तरंगित भएको पाउन थालेँ । सायद त्यही थियो मेरो पहिलो प्रेम । उसले स्वीकारोस नस्वीकारोस तर मेरो स्मृतिको घरबाट त्यो नाम कहिल्यै मेटिएन । मेरो पहिलो प्रेमको रंग बनेर बस्यो जो अझ गाढा गाढा हुदै गयो ।


...............

भ्यालेन्टिनाको मुहारमा खासै परिवर्तन देखिन मैले हुन सक्थ्यो उसलाई मेरो पहिलो प्रेम कथा बनाउटी लागिरहेको छ । उसमा न त प्रेरणा प्रति इर्ष्या थियो न म प्रति सहानुभुति । उसले सहजै प्रश्न गरी, अनि आजकल उसको पत्र आउदैन त ?

भ्यालेन्टिना, म स्पष्ट छैन, तर यो इन्टरनेटको जमानामा अहिले पनि आउदो हो उसका पत्रहरु । टिप्पणी, इमेल, कमेन्ट वा थम्प्सअपहरु बनेर । तर, म आफैले पहिचान गर्न नसकेको मात्र हुँला ।

उसको संकेतलाई अहिले बुझ्दा मैले के थाहा पाएँ भने प्रेरणा कुनै भौतिक शरीर होइन, यो त एउटा आभास मात्र हो । जसरी प्रेमको कुने आकार या मुर्तस्वरुप छैन, जो देखिँदैन, जसलार्इ मनले मात्र अनुभव गर्न सकिन्छ । ज–जस्ले मलाई पढ्छन्, सुन्छन् मेरा कथाहरुमा डुब्छन् ती सवै मेरा 'प्रेरणा' हुन् । र, मेरो पहिलो प्रेम साहित्य हो ।

ड्रामाको कक्षा छ भ्यालेन्टिनाको, उसले कक्षा लिन नगर्इ हुदैन । पारिपट्टि माउन्ट ओलिभ उभिएको छ साँगुरो र घुमाउरो कुइनेटोनेर पुगेपछि सधै झै छुट्टिनेबेला भ्यालेन्टिनाका ताता ओठका स्पर्शहरू महशुस गर्छु म, जो हिउँदका घाम जत्तिकै प्यारा हुन्छन् ।

.......................

भोलि दिउसो फुर्सदमा म उसकोमा गएँ । उ तलसम्म लिन आर्इ ।

यो के अचम्म ! भ्यालेन्टिनाका कोठाको सजावट अचम्मसँग परिवर्तन भएको थियो । उसका प्रिय कलाकारका तस्वीर सधैँ मुस्काइरहने भित्तामा आज रूसी साहित्यकारहरू म्याक्सिम गोर्की, लियो टोल्सटाय, एन्टोन चेखोभ तथा अलेक्जेण्डर पुस्किनका तस्वीरहरु टाँसिएका थिए र महत्वपुर्ण वाणीहरु फ्रेमभित्र सजाएर राखिएका थिए । दराजको ऐनामा टाँसिएको थियो - मेरो एउटा तस्वीर र मेरो नेपाली हस्ताक्षरमा सजिएको कुनै कविताको टुक्रा । कोठाको यो परिवर्तन देखेर मैले भने भ्यालेन्टिना, के हो यो ? तिमी ‘प्रेरणा’को नक्कल गरिरहेकी छौ ?

हैन लेखक ! तिम्रो पहिलो प्रेमको नक्कल गरेर मैले तिम्रो त्यो पहिलो र संग्लो अनुभुतिलाई धमिल्याउन खोजेकी होइन। तर तिमी मलाई पनि एकपटक प्रेरणाप्रति हेर्ने नजरले हेर, जस्ले तिम्रा साहित्यहरु नपढेपनि, नबुझे पनि तिमीलाइ पढेकी छ, तिम्रो प्रेमलाई पढेकी छ । तिमीलाई थाहा छ प्रेमको कुनै भाषा हुदैन ।

अनुनयका शव्द बनेर यतिखेर भ्यालेन्टिनाको प्रेम पोखिई रहेको थियो मेरो अगाडी, प्रेमको नदीमा नुहाएर भिजेका जस्ता थिए उसका प्रत्येक वाणीहरु! सुस्केराहरु, जहाँ उसकै नदी भोल्गाको सुसाइ मिसिएको होस् ।

प्रेम के हो ? कस्तो हुन्छ प्रेमको रङ्ग ? म भित्र जुलुस बनेर उभिन्छन प्रश्नहरु । भ्यालेन्टिनाको आखाँको सागरमा छाल जसरी उर्लिएको जे देखी रहेको छु, प्रेम त्यो हो या प्रेरणाको पत्रमा कोरिएका शब्दहरु ? आज मेरो आखा अगाडि यी दुबै अनुभुतिहरु एउटै रङ्गमा रुपान्तरित भर्इ रहेका थिए । र मभित्र त्यो प्रेमको रङ्ग अझ गाढा गाढा हुदै गइरहेको थियो ।



(अडियो यशजीको आवाजमा)



कृष्णपक्ष
http://blog.krishnathapa.com


भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]