चौरीको रगत पिउनेको मार्चेलेकमा घुइचो


YYY
चन्द्रश्वर बस्ताकोटी
 साउन ५  मुस्ताङ। मुस्ताङको कोवाङ, टुकुचे र कुञ्जो गाबिसको सिमानामा पर्ने मार्चे लेक, बुक्यानमा हरेक बर्ष आयोजना गरिदै आएकोे चौरीगाईको आलो रगत पिउने मेलामा यसपटक रगत पिउनेको घुइचो लागेको छ । । गत १ गते सुरु भए्को सो मेलामा विगतका बर्षभन्दा बढि विरामी, पर्यटकले चौरीको आलो रगत पिएका छन् ।

उच्च हिमाली क्षेत्रमा पाईने यार्सागुम्वु, निरमसी, पाँचऔले र जटामसी जस्ता जडिबुटीहरु खाएर बांचेका चौरीगाईको आलो रगत पिउन म्याग्दीका साथै काठमाडौ, चितवन, कास्की, वाग्लुङ, पर्वतबाट विरामीहरु आएको याकनाक तथा भेडी गोठ समितिका अध्यक्ष श्यामलाल थकालीले जानकारी दिए ।

‘रगत पिउन आउने विरामीहरुको संख्यामा बृद्धि भएको छ, वसाँईका लागि पनि आवश्यक प्रवन्ध मिलाएको छौँ, निरोगी चौरीको रगतमात्र निकाल्न जिल्ला पशु सेवा कार्यालयका प्राबिधिकहरु आएर रगत निकाल्नु पुर्व स्वास्थ्य परिक्षण समेत गरेकाले हामीले सोचेको भन्दा बढी विरामीहरु आएका छन ,उनले भने ।

एक स्वस्थ्य चौरीबाट कम्तीमा १५–२० गिलास र बढीमा ३०–३५ गिलास सम्म आलो रगत निकालेर पिउने गरिन्छ । एक गिलास रगत पिए वापत ८० रुपैयां सम्म तिनुपर्ने हुन्छ । बर्षको दुईपटक यस्तै मेला आयोजना गरेर किसानहरुले राम्रो आम्दानी गरिरहेका छन् ।

रगत पिउंदा रगतमा भएको परजीवीले मानव स्वास्थ्यमा पार्नसक्ने असरलाई ध्यानमा राखेर जिल्ला पशु सेवा कार्यालय मुस्ताङले जुका विरुद्धको औषधी निशुल्क वितरण गरेको जिल्ला पशु सेवा कार्यालय मुस्ताङका प्रमुख डा गुरु प्रसाद खकुरालले बताए । मेलाको अवसरमा चौरीको स्वास्थ्य परिक्षण गर्न कार्यालयका प्रमुख डा खकुराल, पशु स्वास्थ्य प्राविधिक आइतलाल थकाली, पशु सेवा  केन्द्र टुकुचेका प्राविधिक कृष्ण प्रसाद ऋणीलगायत उक्त स्थानमा निरन्तर सेवा दिई रहेका छन । चौंरीको आलो रगत र माशु खाएमा यौन उत्तेजना बढ्नुका साथै बाथ, नसा दुख्ने, उच्च रक्तचाप लगायतका दर्जनौ रोग निको हुने जनविस्वास रहेको छ ।

५ सय भन्दा बढि चौंरीहरु महोत्सवमा आलो रगत निकाल्न ल्याईएको छ । प्रत्येक चौंरीको घाँटीमा फलामको सानो र तिखो हतियारले सानो प्वाल पारेर गिलासमा रगत निकाल्ने गरीन्छ । चौरीको रगत वर्षमा दुईपटक ननिकालेमा विभिन्न रोगहरु देखापरि चौरी मर्ने किसानहरुको मान्यता छ ।

१० दिन सम्म आलो रगत पिउने मेला मार्चेको बुक्यानमा सम्पन्न हुने र आगामी ९ गते देखि मुली लेकमा पुन आलो रगत पिउने मेला शुरु हुने पशु स्वास्थ्य प्राबिधिक हरि सुवेदीले जानकारी दिनु भयो । पशु स्वास्थ्य प्राबिधिकहरुले १२ सय चौरी पशुको उक्त अवसरमा माटे, नामले जुका, गोलो जुका, निमोनीया लगायतका रोगको उपचार, स्वास्थ्य परिक्षण गरि औषधी उपचार गरीसकेका छन भने अब ४ सयको उपचार केहिदिन भित्र सम्पन्न गरिने बताइएको छ ।  १ सय ५० चौरीको आलो रगत निकालेर बिक्री गरि सकेको समेत सुबेदीले जानकारी दिनु भयो ।  गत जेष्ठमा समेत आलो रगत पिउने मेला कोवाङको बोक्सी खोलामा सम्पन्न भएको थियो ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]