माओवादी पार्टी फुट्ला ?


YYY
श्याम श्रेष्ठ


यतिखेर एकीकृत नेकपा माओवादी पार्टीमा चलिरहेको अन्तरविरोधले सिङ्गो देशको ध्यान तानिरहेको छ । माओवादी पार्टीमा यतिबेला माथिदेखि तलसम्म ठाडो धर्सोको दिशामा गुटबन्दी देखापरेको छ । त्यस दलमा अध्यक्ष प्रचण्ड, मोहन वैद्य किरण, बाबुराम भट्टराई पक्ष गरी तीनवटा गुट खुलस्त देखापरेका छन् । रामबहादुर थापा बादल, अमिक शेरचन, लीलामणि पोखरेल र कृष्णबहादुर महराहरूको चौथो समूह पनि अस्तित्वमा देखिएको छ जो यी एकअर्काबाट टाढिँदै गएका गुट र तिनका नेताहरूलाई जोड्न र पार्टीमा फुट हुन नदिन पुलको काम गरिरहेछन् ।

यतिखेरको विडम्बना के हो भने तीनवटै गुटका शीर्ष तहका नेताहरू आफै एकअर्काका विरुद्ध सार्वजनिक रूपमा बोलिरहेका छन् । संस्थापन पक्षले अन्य दलसित गरेको सम्झौता हामीलाई मान्य हुँदैन भनेर पोलिटब्युरोकै एकजना जिम्मेवार नेताले व्यवस्थापिका संसदमा बोलेको घटना माओवादीभित्र आन्तरिक अन्तरविरोध ज्यादै गम्भीर तहमा पुगेको कुराको प्रष्ट सङ्केत हो । संस्थापन पक्षका मजदुर सङ्गठनका कार्यकर्ताले अर्को पक्षलाई कुट्नेसम्मका घटना हुन थालेका छन् । केही समयअघि उपाध्यक्ष बाबुराम भट्टराईलाई संस्थापन पक्षका मजदुर कार्यकर्ताले फोन गरेर मार्ने धम्की दिएको र उनले आˆनो सुरक्षार्थ गृहमन्त्रीलाई गुहारेको घटना मामुली भन्न मिल्दैन । अध्यक्ष प्रचण्डविरुद्ध मोहन वैद्य पक्षका १८ सूत्रीय आरोप पत्रिकामा छापिनुलाई साधारण घटना मान्न सकिन्न ।

सबैलाई थाहा छ भण्डाफोर भनेको अर्को पक्षलाई सुधार्न असम्भव वा बेठीक ठानेर वा शत्रु नै ठानेर उसलाई जनसमुदायबीच पर्दाफास गर्ने र अन्ततः निषेध गर्ने उद्देश्यले गरिन्छ, आलोचना भनेेकोे मित्रलाई सुधार्ने नियतले गरिन्छ परन्तु माओवादी पार्टीमा अहिले चलिरहेको आलोचनामा सहकर्मी कमरेडलाई सुधानर्ेे नियतभन्दा दुस्मनलाई जस्तो ठानेर भण्डाफोर गर्ने उद्देश्य ज्यादा देखिएको छ । यो यतिबेलाको माओवादीभित्रको अन्तरविरोधको सर्वाधिक चिन्ताजनक पक्ष हो । माओवादी पार्टी अहिले जस्तो तलदेखि माथिसम्मै गुटबन्दीग्रस्त र विभाजित कहिल्यै थिएन ।

माओवादीभित्रको अहिलेको विषम अन्तरविरोध माओवादी सिद्धिए हुन्थ्यो भनिठान्ने एकथरी मेडियाका लागि गतिलो मसला बनेको छ । तिल पाए पनि पहाड बनाउने त्यस्ता मेडियाका लागि माओवादी दलको हालैको अन्तरविरोधको प्रकृतिमा पहाडै भेट्टाएपछि सगरमाथा जत्रो बनाउन गाह्रो भएन । वास्तवमा के भएको हो माओवादीमा यस्तो ? किन माओवादीमा यति चर्को अन्तरविरोध चर्केको हो ? के अब माओवादी पार्टी फुट्न लागेको हो ?

माओवादी पार्टीमा अहिले भइरहेको अन्तरविरोध मूलभूत रूपमा वैचारिक, राजनीतिक र सांस्कृतिक अन्तरविरोध हो । यतिबेला नेपालमा पुँजीवादी जनवादी क्रान्तिलाई सम्पन्न गर्ने दायित्व अन्तर्गत संविधान निर्माण प्रक्रिया र शान्तिप्रक्रियालाई कसरी अघि बढाउने भन्ने सम्बन्धमा अध्यक्ष प्रचण्ड र बाबुराम भट्टराई एकखालको धारणा राख्छन् भने मोहन वैद्य किरण र सिपी गजुरेलहरू अर्कोथरी । अध्यक्ष प्रचण्ड र बाबुराम भट्टराई नेपालको वर्तमान संविधान निर्माण प्रक्रिया र समझदारी/सहमति पालना गर्दै यथासम्भव प्रगतिशील अन्तर्वस्तुसहित व्यवहारवादी ढङ्गले तिनलाई पूरा गर्न सक्दा नै नेपाली पुँजीवादी जनवादी क्रान्ति सफल र सम्पन्न हुन्छ र देश समाजवादी दिशामा अघि बढ्छ भन्ने सोच राख्छन् । मोहन वैद्य किरण पक्ष चाहिँ अहिलेसम्म शान्ति प्रक्रिया अन्तर्गत सेना समायोजनको सवालमा र संविधान निर्माणमा राज्य पुनःसंरचनाका सवालमा पुँजीवादी खेमासित जे जे सम्झौता/सहमति संस्थापन पक्षले गरिसक्यो त्यो मूलतः अपमानजनक, आत्मसमर्पणमुखी, पुँजीवादी हालीमुहालीमुखी छ भन्ने सोच राख्छ । त्यसलाई सम्मानजनक र नयाँ जनवादमुखी हुने गरी सच्याउनुपर्छ र सच्याउन नसके अहिलेकै तालले पुँजीवादी खेमाले न त संविधान निर्माण गर्न नै दिनेवाला छ न शान्तिप्रक्रिया पूरा गर्न नै, त्यसैले अहिले नै जनविद्रोहको तयारी गर्नुपर्छ भन्ने धारणा पनि त्यो खेमाले राख्छ । यसप्रकार नेपाली क्रान्तिलाई कसरी हेर्ने र कसरी अगाडि बढाउने भन्ने सवालमा भएको दृष्ेिटकोणको भिन्नताको कारणले नै अहिले यो खालको अन्तरविरोध पैदा भएको हो ।

एक्लै निर्णय गरेर सहमति/सम्झौता गर्ने र सत्ताको केन्द्रमा आफूलाई मात्र राखेर अघि बढने अध्यक्ष प्रचण्डको काम गर्ने शैलीले पैदा गरेको अन्तरविरोध पनि अहिलेको अन्तरविरोधको अर्को आयामको रूपमा रहेको छ । संस्थापन पक्षले राखेको हिसाबकिताब स्वच्छ र पारदर्शी भएन, संस्थापन पक्षले पार्टीभित्र लोकतन्त्रान्त्रिक अभ्यास गर्न दिएन, भिन्नमतलाई दबायो वा पक्षपात गर्‍यो, मन्त्रिपरिषद्मा पठाउने सवालमा समेत समावेशी र पक्षपातहीन अभ्यास भएन भन्ने सवालमा समेत अल्पमत पक्षको चर्को असन्तोष छ । यी जम्मै कार्यपद्धतिगत र सांस्कृतिक प्रकृतिका अन्तरविरोध हुन् । यी सवालमा भएको अन्तरविरोधमा बाबुराम भट्टराई र मोहन वैद्य किरण पक्ष एउटा खेमामा छन् भने अध्यक्ष प्रचण्ड पक्ष अर्को खेमामा ।

पछिल्लो समयमा माओवादीले जसरी पनि चुनाव जित्न सङ्गठनमा जुनसुकै किसिमका मानिस पनि हुल्ने, तिनको छानबिन, रूपान्तरण र प्रशिक्षणका लागि पटक्कै ध्यान नदिनाले पनि माओवादीभित्रको अन्तरविरोध यति चर्को बनाउन सघाएको देखिन्छ । माओवादीभित्र निहित स्वार्थका कारणले पसेका तर रूपान्तरित नभएका यस्ता अवसरवादीको हुलभित्रका मानिससित न त राजनीतिक चेत र सुझबुझ छ, न माओवादीको क्रान्तिकारी उद्देश्यसित कुनै सहमति नै । कुनै घटना गराउनाले माओवादीको कस्तो छवि बन्छ, जनतामा के सन्देश जान्छ र देश र जनताले कत्रो नोक्सानी भोग्छ भन्ने कुराको कुनै पर्वाह वा हेक्का नै नराखी त्यस्ता तत्वले गराउने घटना र गर्ने कुटपिटले माओवादीका विभिन्न पक्षका बीचमा कटुता बढ्दो छ । यिनै तत्वहरू तीनवटै खेमामा गएर नेताहरूलाई एकअर्काविरुद्ध उराल्ने र उल्क्याउने, फुट्न र भौतिक आक्रमणमा उत्रन उत्प्रेरित गर्ने काम गरिरहेछन् । तीनवटै खेमाका माओवादी नेता विभिन्न मात्रामा र समयमा यस्ता तत्वको उल्क्याहटको सिकार पनि बनेका छन् । यो साङ्गठनिक र सांस्कृतिक प्रदूषणले पैदा गरेको समस्या हो ।

बिभिन्न विदेशी शक्तिकेन्द्र, विशेषतः भारतीय शक्ति केन्द्र पनि यतिबेला माओवादीमा फुट पार्न अत्यधिक सक्रिय भएको छ । तीनवटै खेमालाई फुट्न उल्क्याउने र उत्प्रेरित गर्ने काम त्यसले गर्दैछ । नेताहरू यसको प्रभावमा समेत परेका देखिन्छन् । यी सबै कारणको अन्तरनिर्भर मिलजुलका कारणले माओवादी दलभित्र अन्तरविरोध यति चर्कोसित चर्किएको हो । तथापि आआˆनो हिस्साको गल्ती कमजोरी सकार्दै जनवादको जगमा उभिएको केन्द्रीयता र अभिव्यक्ति स्वतन्त्रताको जगमा खडा भएको काम कारवाहीको एकरूपताको मामलामा तीनवटै पक्षबीच मूर्त सहमति बनेको खण्डमा माओवादी पार्टी तत्काल फुटिहाल्ने सम्भावना भने ज्यादै कम छ । परन्तु फुट तत्कालका लागि टरिहाले पनि चरम गुटबन्दी, शत्रुतापूर्ण अन्तरविरोध र सांस्कृतिक प्रदूषणका समस्या अहिले नै हल हुने सम्भावना पनि ज्यादै न्यून छ । उनीहरू सङ्कटलाई केही पर सार्न समर्थ हुनसक्छन् तर सङ्कटको मूल कारण हल नभएसम्म सम्भावित फुटका कारणको दीर्घकालीन समाधान हुने सम्भावना भने देखिँदैन । खड्गो टर्न सम्भव छ, सङ्कट टर्न सम्भव देखिँदैन ।

माओवादी पार्टीभित्र तत्काल फुट टर्न सम्भव हुनुको पहिलो कारण के हो भने तीनवटै खेमाको नेतृत्वदायी पक्ष माओवादी तत्काल फुट्यो भने अहिलेसम्मका सबै क्रान्तिकारी उपलब्धि व्यर्थमा खेर जाने र सबैका हातमा खरानी मात्र पर्ने कुरामा सचेत र एकमत देखिन्छन् । उनीहरू यही कारणले फुट रोक्न प्रयत्नशील छन् । अहिलेसम्म माथिका शीर्षनेताहरू मिल्दा तल फुट भइहाल्ने स्थिति छैन । स्थिति नेतृत्वको नियन्त्रणमा देखिन्छ ।

दोस्रो कारण के हो भने माओवादीको अध्यक्ष प्रचण्डले नेतृत्व गरेको संस्थापन पक्ष सम्झौता गर्ने र मध्यमार्ग निकाल्ने मामलामा अरू सबैभन्दा लचिलो र गतिशील देखिन्छ । अनि तीनै पक्षका नेतृत्वदायी नेताहरूबीच संवाद र सम्झौताको सम्भावना प्रशस्त छ । हरेक पटक जस्तै यसपटक पनि संस्थापन पक्षले सम्झौताको एउटा मध्यमार्ग निकाल्ने टड्कारो सम्भावना छ ।

तेस्रो कारण के हो भने सबैभन्दा हार्डलाइनर भनेको मोहन वैद्य किरण पक्ष पनि शान्ति र संविधानको पूरै विरुद्धमा देखिँदैन । उनीहरूको मूल गुनासो सेना समायोजनको हालको सहमति अपमानजनक र आत्मसमर्पणमुखी भयो भन्ने मात्र हो, राज्य पुनःसंरचनाको विषयमा हालै भएको सहमति र मस्यौदा लेखन नयाँ जनवाद र समाजवादमुखी भएन भन्ने मात्रै हो । यी दुवै मामलामा पहिले भएका कमजोरी सच्याउने र सहमतिलाई सम्मानजनक र प्रगतिशील बनाउने सम्भावना अझै भिड्किसकेको छैन । सम्भवतः माओवादी पार्टीमा यसपटक यही विषयमा एउटा मध्यमार्गी सम्झौता हुन सम्भव देखिन्छ ।

चौथो तर अत्यन्त महत्त्वपूर्ण कारण यो छ कि माओवादीभित्र अहिले भइरहेको अन्तरविरोध राजनीतिक रूपमा रणनीतिक र सैद्धान्तिक प्रकृतिको छैन, यो कार्यनीतिक प्रकृतिको मात्र छ । तीनवटै पक्षको मूल सिद्धान्त र राजनीतिक रणनीति समान देखिन्छ । पाँचौँ कारण के छ भने माओवादीभित्र कदापि फुट हुन नदिने नेता र कार्यकर्ताको संख्या निकै ठूलो छ र त्यो निकै प्रभावशाली स्थितिमा समेत छ ।

माओवादीभित्र अहिले हुने फुट देश र जनताको दीर्घकालीन हितमा समेत देखिन्न । माओवादी पार्टी अहिले फुट्नुको तात्पर्य अब बाँकी अढाइ महिनाको समयमा शान्तिप्रक्रिया पनि पूरा नहुनु हो, संविधान निर्माण पनि असम्भव हुनु हो । यी दुवै कुरा विफल हुनुको मतलब नेपालमा पुनः हिंस्रक द्वन्द्व चर्किनु हो, देशमा पुनः चरम अशान्ति र आम अराजकताको स्थिति पैदा हुनु हो । त्यसैले माओवादी पार्टीलाई फुट्नबाट रोक्ने पक्षमा आम नागरिक पनि सक्रिय हुनु जरुरी छ ।
गोरखापत्र

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]