अमेरिकाबाट भुटान सम्झना


YYY

बालकृष्ण बस्नेत

 सेन्ट लुइस (अमेरिका) । शरणार्थीका रूपमा तीन वर्षअघि अमेरिका छिरेका ७५ वर्षे सनमान कार्कीलाई भौतिक सुखसुविधामा खासै चिन्ता छैन । चिटिक्क परेको अमेरिकी घर, वृद्ध भत्तासहित उनी सेन्ट लुइसमा बस्छन् । छोरा, बुहारी, नाति, नातिना साथमै छन् । मन भने हमेसा जन्मेरहुर्केको गाउँमै पुग्छ ।

चित्तै बुझ्दो रहेनछ,ु असार मध्यको एक दिन उनले आफ्नै निवासमा भने, घरमा खेती गरेको, साथीसंगीसँग रमाएको देख्छु । दिउँसभर यतै रमाए पनि सपनीमा चाहिँ उतै पुग्छु ।

कति सपनामा त उनी आफ्नो खेतबारी फन्फनी घुमेको देख्छन् । झन् यो बेला असारे रमाइलोको सम्झनाले उनलाई उचाल्दो छ । गेलुम्फुङ, ललाई भन्ने ठाउँमा आफ्नो पर्याप्त खेतबारी भएको उनी सुनाउँछन् । वर्षमा ८५ मुरीसम्म धान उब्जाउँथे, अमेरिका पसेका भुटानी समुदायका अगुवामध्ये एक यी वृद्ध भन्छन्, यहाँ (अमेरिका० त घर कुर्दै र गाउँका साथीसंगी सम्झँदै दिन बित्छ ।

अमेरिकालगायत मुलुकले सन् २००८ देखि नेपालमा रहेका भुटानी शरणार्थीलाई तेस्रो मुलुकमा पुनर्वास कार्यक्रम सुरु गरेका हुन् । गत महिनासम्म अमेरिकाका विभिन्न सहरमा ४० हजार ९ सय ७१ जनाले पुनर्वास पाएको तथ्यांक छ ।

तीमध्ये सबैभन्दा बढी जर्जियामा छन् । सेन्ट लुइस, सिकागो, डेनभर, न्युयोर्क, वासिङटन डिसी, भर्जिनिया, टेक्सासलगायत ठाउँमा उनीहरू बसेका छन् । हरेक राज्यमा पुगेका भुटानी समुदायले बेग्लै संगठन पनि बनाएका छन् ।

पहिले थोरै थियौं । को, कहाँ छ र कसरी बसेको छ भन्ने सजिलै थाहा हुन्थ्यो, सेन्ट लुइसस्थित भुटानी संगठनका अध्यक्ष मनोज नेपालले कान्तिपुरसँग भने, संख्या बढ्दै गएपछि काम गर्न सजिलोका लागि हामीले संगठन बनाएका हौं ।

अधिकांश भुटानीले अमेरिका आएको ६ महिनामा रोजगारीका अवसर पाउने गरेका छन् । त्यसअघि भाषा सिकाउनेदेखि खान, बस्नको प्रबन्ध अमेरिकी सरकारले नै गर्दै आएको उनीहरूले सुनाए । उनीहरूले होटल, रेस्टुराँ, ग्यास स्टेसन, स्टोर, पेट्रोल पम्पमा काम पाउने गर्छन् । ६५ वर्ष पार गरेका वृद्ध, वृद्धालाई भने सरकारले भत्तासमेत दिँदै आएको छ ।

अशिक्षित र उमेर ढल्केकालाई भन्दा पढेका युवा पुस्ताका भुटानीको अमेरिकी बसाइ सजिलो भएको छ ।

पढ्न नजान्नेहरूलाई एक वर्षसम्म अप्ठ्यारो नै हँुदो रहेछ, सन् २००८ को मे महिनादेखि अमेरिका बस्दै आएका तन्नेरी राजीव गुरुङले भने, अशिक्षित समुदायलाई भाषा सिकाउने र रोजगारीमा लगाइदिने कामसमेत  भुटानी संगठनले गर्दै आएको छ ।

केही भुटानीले भने आफ्नै डिपार्टमेन्टल स्टोर, रेस्टुराँसमेत सञ्चालन गरेका छन् । गुरुङ बजार नाम दिई स्टोर सञ्चालन गरेका ५० वर्षीय दल गुरुङ सपरिवार मिजुरीमा छन् । म ३० वर्ष हुँदा नेपाल गएको थिएँ, शरणार्थी हुँदाको स्मरण गर्दै उनले भने, शिविरको टहरोमा निकै घामपानी सहनु पर्‍यो । अनुदानको चामल खाएर दिन बिते ।

श्रीमती शोभा, तीन छोरा, दुई बुहारी, नातिसहित उनी अमेरिकामा रमेर बसेका छन् । सात जना दाजुभाइमा आफ्नो परिवारमात्र नेपालमा शरणार्थी हुनुपरेकामा उनी खिन्न छन् । नेपाल हुँदै पनि म बोर्डरसम्म आफन्तलाई भेट्न जान्थें, उनी भन्छन्, अहिले टाढै भए पनि गाउँका प्रायः इष्टमित्रसँग इन्टरनेटमार्फत कुरा गरिरहेकै हुन्छु । 

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]