पोर्तुगलमा नेपाली चलचित्र "मैना" प्रदर्शन


YYY



योगेन्द्रमिलन छन्त्याल
असार २७ लिस्बोन । सत्य कथामा आधारित नेपाली चलचित्र "मैना" पोर्तुगलको इस्टेफानियामा रहेको हलमा आइतबार प्रदर्शन भएको छ । नेपाली जन प्रगतिशील मञ्चको आयोजनामा चलचित्रको प्रदर्शन भएको हो ।

२०६० साल फागुन ५ गते सेनाबाट अपहरण गरिएपछि वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखाल, काभ्रेमा हत्या गरिएका १४ वर्षीया मैना सुनुवारको हत्याकाण्ड र उनको आमा देवी र बुवा पूर्ण सुनुवारबाट गरिएको उनको खोजी तथा हत्याराहरुलाई कारबाही हुनुपर्छ भन्ने मागसहितको निरन्तर प्रयासलाई चलचित्रमा कथावस्तु बनाइएको छ ।


चलचित्रको पृष्ठभूमिबारे बताउँदै चलचित्रका निर्देशक, गीतकार तथा निर्माता केदारप्रसाद (केपी) पाठकले यस्तो चलचित्र बनाएमा सेनाले मार्छ भनेर आफन्त र अन्य अपरिचित व्यक्तिहरुबाट धम्कि, डर र त्रास पैदा गरेको कुरा बताए । 'मेरी श्रीमतिले पैसा पनि लगानी गर्नु छ, ज्यान पनि खतरामा मोलेर के काम गर्नु हुन्छ भनेर यो फिल्म नबनाउन अनुरोध पनि गरेकी थिइन्' पाठकले भने, अप्ठेरो परिस्थितिका कारण म इण्डियातिर भागेको पनि थिएँ, फेरि फर्केर फिल्म बनाएँ । मैनाका कथावस्तु विभिन्न प्रमाणित स्रोतहरुको आधारमा तयार गरिएको छ ।'

चलचित्रले सन्देश दिन्छ कि : दण्डहीनताको अन्त्यका लागि राजनीतिक दलहरु प्रतिवद्ध हुनुपर्छ र दोषीहरुलाई कारबाही गरेर भविष्यमा यस्ता कार्यहरुप्रति निरुत्साहित गर्नुपर्दछ ।

सशस्त्र द्वन्द्वको अवधिमा छापामार र सेनाका कारण निर्दोष नागरिकहरु चेपुवामा परेका कारुणिक र दर्दनाक कथाले द्वन्द्वलाई पुनर्स्मरण मात्र गराउदैन, दर्शकलाई भावुक बनाउछ र आँखाबाट आँशु रसाउँछन् । अन्यायमा परेका सर्वसाधरणलाई सुरक्षाकर्मीहरुको बर्बर दमन र राक्षसी तवरले गरिने हत्याहरुका कारण अनुत्तरदायी सरकारी संरचनाप्रति घृणा पैदा हुनु पनि नाजायज होइन ।

संयुक्त राष्ट्र संघ मानवअधिकार उच्चायुक्तको कार्यालयलगायतका मानवाधिकारसंग सम्बन्धित संस्थाहरुबाट हत्याकाण्डमा संलग्न रहेका भनी किटान गरिएका र नेपालले कारबाही गर्ने प्रतिवद्धता जनाएको हत्याराहरुबारे भने चलचित्र बोल्ने त के नामसम्म उच्चारण गर्न सकेको छैन । प्रतिवेदनहरुमा मेजर निरञ्जन बस्नेत, महासेनानी बबी खत्री, सहसेनानी सुनील अधिकारी र अमित पुन हत्यामा संलग्न रहेका छ्न् ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]