सरकारमा नयाँ मन्त्रीहरु पठाउने माओवादीको निर्णय, प्रधानमन्त्री खनाल असन्तुष्ट


YYY
 साउन ९ काठमाडौ। एकीकृत माओवादीले मन्त्रिमण्डलमा नयाँ अनुहार पठाउने निर्णय गरेकोमा प्रधानमन्त्री झलनाथ खनालले असन्तुष्टि व्यक्त गर्नुभएको छ । नयाँ मन्त्रीहरुको सूची बुझाउन सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएका माओवादी अध्यक्ष दाहाललाई प्रधानमन्त्री खनालले मन्त्रिमण्डल पुर्नगठन गर्ने माओवादी निर्णयप्रति असन्तुष्टि व्यक्त गर्नुभएको हो । आफ्नै पार्टी भित्रबाट र प्रतिपक्षीले समेत पाँचबुँदे सहमतिअुनसार सरकारको राजीनामा मागिरहेका माओवादीले नयाँ टिम पठाउने निर्णय गर्दा आफूलाई अप्ठेरो परेको प्रधानमन्त्री खनालको भनाई थियो ।

आफू एउटा दललाई मात्र लिएर हिंडन नसक्ने भन्दै प्रधानमन्त्री खनालले राष्ट्रिय सहमतिका साथ आउन माओवादी अध्यक्ष दाहाललाई आग्रह गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिनुभयो । मन्त्रीमण्डल पूर्नगठन गर्ने नभई शान्ति र संविधान निर्माणलाई मुख्य एजेण्डा बनाउन माओवादी अध्यक्ष दाहालको ध्यानाकर्षण गराउनुभएको भेटपछि प्रेस सल्लाहकार थापाले संचारकर्मीलाई जानकारी दिनुभयो ।

देश विषम परिस्थितिबाट गुज्रिरहेकोले प्रतिपक्षी दल र अन्य दललाई साथमा लिएर शान्ति र संविधान निर्माणलाई पूर्णता दिनुपर्ने धारणा व्यक्त गर्नुभएको उहांले जानकारी दिनुभयो ।जवाफमा अध्यक्ष दाहालले भने पार्टी भित्रको समस्या अन्त्यका लागि आफूले मन्त्रिमण्डल परिवर्तनको निर्णय गुर्नुपरेको बताउनु भएको बताइएको छ । अध्यक्ष दाहालले खनाललाई १२ मन्त्री र १२ राज्यमन्त्रीको सूची बुझाउनु भएपनि सपथ कहिले गर्ने भन्ने विषयमा ठोस सहमति भएको छैन ।

प्रधानमन्त्री खनालले राष्ट्रपति कार्यालयसँग परामर्श गरी सपथ ग्रहण समारोह आयोजना गर्ने बचन दिनुभएको बताइएको छ । यसअघि हिजो बसेको माओवादी केन्द्रीय समितिको बैठकले सरकारमा रहेका तीनजना मन्त्रीलाई फिर्ता बोलाउने र उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा नयाँ टिम पठाउने निर्णय गरेको थियो ।

माओवादीले उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई उपप्रधान तथा गृहमन्त्रीको सिफारिस गरेको छ ।यस्तै सूचना तथा सञ्चारमा पोष्टबहादुर बोगटी, भूमिसुधारमा हिसिला यमि, शान्ति तथा पुनर्निर्माणमा पम्फा भुसाल, स्वास्थ्यमा लोकेन्द्र विष्टलाई पठाइने भएको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी लेखराज भट्टलाई, उद्योग मन्त्रालयको महेन्द्र पासवानलाई, महिला तथा बालबालिकाको जयपुरी घर्ती तथा युवा तथा खेलकुदको ओनसरी घर्तीलाई जिम्मेवारी दिइएको छ ।

यसअघिका भोतिक योजना तथा निर्माणमन्त्री टोपबहादुर रायमाझी, कानुनमन्त्री प्रभु साह र पर्यटनमन्त्री खड्गबहादुर विश्वकर्मालाई यथावत राखिएको छ । बैठकले सबै मन्त्रालयमा राज्यमन्त्री समेत पठाएको छ । राज्यमन्त्रीमा रामकुमार राई, अमर तमु, देवी खड्का, सत्य पहाडी, सरदसिंह भण्डारी, लीला भण्डारी, धर्मशीला चापागाई, इन्द्रजीत चौधरी, कुमारी मोक्तान, घनश्याम यादव, धु्रव आङदाङवे र सूर्यमान दोङ छन् ।

यस्तै व्यवस्थापिका संसद्को प्रमुख सचेतकको जिम्मेवारी देव गुरूङलाई तथा सचेतकको जिम्मेवारी कमला रोकालाई दिइएको छ भने संसदीय बोर्डको सचिवमा खिमलाल देवकोटा रहेका छन् ।

बैठकमा सरकारमा नयाँ मन्त्री पठाउने निर्णयप्रति असहमति जनाउँदै स्थायी समिति सदस्य लिलामणि पोखरेल र अमिक शेरचनले फरक मत दर्ता गराएका छन् । समावेशी नभएको भन्दै केन्द्रीय सदस्य हकिकुल्ला खाँले पनि असन्तुष्टि जनाउनुभएको थियो ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]