कतारी श्रमिक डायास्पोरा र अबको हाम्रो साहित्यिक यात्रा


YYY
हेमन्त प्रदेशी

कतारी श्रमिक डायास्पोराको साहित्यिक इतिहाँसलाई नियाल्दा बिषेशत साठीको दशक यता थुप्रै स्रष्टाहरुले विविध बिधाका अनेक कृतिहरु पस्किसक्नु भएको छ । नाम नसुनिएका कृति र कृतिकारहरुलाई अलग्गै राखेर हेर्दा पनि त्यस यता झन्डै डेढ दर्जन बेसी विभिन्न बिधाका पुस्तकहरु प्रकाशन भइसकेका छन् । जसमध्ये कान्तिपुरकर्मी देवन्द्र भट्टराईको ‘रेगिस्तान डायरी’ले नेपाली वाङ्मयमा छुट्टै स्थान कायम गरेको कुरा समेत सर्वविदितै छ भने बाँकी कृतिहरुमा लक्ष्य एक गोरेटो अनेक (उपन्यास)२०६२ -हेमन्त परदेशी, समयका घुम्तीहरु (उपन्यास)२०६४-हेमन्त परदेशी, निर्धो मलामी (मुक्तक संग्रह)२०६५ -दुर्गा भुसाल, जिन्दगीका मोडहरु (गीति संग्रह)२०६५ –भानु सुनुवार, अदृष्यका प्रतिबिम्ब (कविता संग्रह)२०६५ –महेन्द्र अदृष्य राई, आस्थाका फूलहरु (गजल संग्रह)२०६५ –प्रबल बिष्ट, चीरसव (कथा संग्रह) सेलिंग केसी -२०६६, मरुभूमिका साहित्यिक यात्रा (रचना संग्रह) २०६६ –सम्पादन कृष्ण क्षितिज राई, दश रुपैयाँ चाराना (लघु उपन्यास)२०६६–सायदश्री, अनुभूतिका बिम्बहरु (कथा संग्रह)२०६६-हेमन्त परदेशी, प्रबासी संगालो संगम अनि सहयात्रीहरु (रचनाहरुको संगालो) २०६६ –तीर्थ संगम राई र साथीहरु, टुहुरो बस्तीको कथा (खण्ड काब्य) २०६७ –बद्रीप्रसाद पराजुली र मेरी युनीमा (कविता संग्रह)२०६८ –युग योगी राई रहेका छन् ।

यी बाहेक पनि यहाँबाट अरु थुप्रै कृतिहरु प्रकाशन भएका छन् । यद्यपि प्रकाशित कृतिहरु र श्रष्टाहरुको अभिलेख राख्ने कुनै पनि निकाय नभएकाले ती सबै ओझेलमा परेका छन् / परि रहेका छन् । त्यति मात्रै होइन खाडीको आवाज, मरुभूमि मासिक, सेमी फक्ताङ्लुङ्ग, मुग्लानी सौगात लगायतका विविध पत्र-पत्रिकाहरु समेत विभिन्न समयमा विभिन्न उद्धेष्य बोकेर प्रकाशन भएका / भइरहेका छन् । जसलाई यो छोटो लेखमा चर्चा गर्न सम्भव छैन ।

नेपालका खरो लेखक भनेर चिनिने साहित्यकार एवं स्तम्भकार खगेन्द्र संग्रौलाले कुनै बेला यौटा प्रसंगमा तीन लाख नेपालीमा छ लाख कवि भएको देश भनेर आफ्नो अभिव्यक्ति पस्कनु भएको कतार भन्दा बाहिर रहनु भएका अधिकांश सर्जक मित्रहरुले समेत मलाई सधैँ यौटै कुरा गर्नु हुन्छ कि, ‘कतारमा जति धेरै सर्जकहरु अन्यत्र कहीं छैनन् ।‘ र, उपस्थिति र संलग्नताको दृष्टिले हेर्दा उहाँहरुको यो अनुमानमा पनि केही सत्यता रहेको देखिन्छ । यद्यपि कतार भन्दा बाहिरका श्रष्टा / सर्जकहरुले सोचे / भने जस्तो यहाँको साहित्यिक अवस्था छ भन्ने कुराको प्रमाणिक तथ्यहरु भने हामीसंग केही नै छैनन् । यो यौटा अत्यन्तै दुखद कुरा हो ।

हो, यहाँ प्रसस्तै साहित्यिक गतिबिधिहरु संचालन हुने गर्छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नवोदित साहित्यिक मोबाईल पुस्तकालय र नवोदित साहित्यिक वाचनालय जस्ता कृयाशील साहित्यिक संस्थाहरु यहाँको साहित्यिक बिकाश र प्रबर्द्धनका लागि लागि परेको देख्दा मन अति हर्षित पनि हुन्छ । तर, यतिले मात्रै नेपाली भाषा र साहित्यको सर्बाङ्गिण बिकाश सम्भव छैन भन्ने कुरा हामीले अझै पनि आत्मबोध गर्न सकिरहेका छैनौं ।

स्वाभावैले साहित्यिक संघ संस्थाहरुले श्रष्टा एवं सर्जकहरुलाई यौटा ‘प्लेटफर्म’ मात्रै दिने हो र कतार जस्तो मुलुकमा यस्तो वाताबरण निर्माण गरि दिने सबै संघ संस्थाहरु धन्यबादका पात्र पनि हुन् । यद्यपि ‘प्लेटफर्म’ बनेर / बनाएर मात्रै के गर्ने ? जब कि हामी श्रष्टा सर्जकहरुलाई नै आफ्नो सिर्जना माथि आत्मविश्वास छैन । म के लेख्दैछु? किन लेख्दैछु? के का लागि लेख्दैछु? अनि मैले आफ्नो सिर्जना मार्फत समाजलाई / राष्ट्रलाई के दिन खोज्दैछु ?भन्ने सामान्य बिषयहरुमा समेत अनविज्ञ रहेर सिर्जना गरिएका / भएका साहित्यको मूल्य के नै हुन्छ र?

मैले साहित्यको मापदण्डको कुरा उठाउन चाहेको होइन । यद्यपि लामो समयदेखि यस श्रमिक डायास्पोरामा रहेर लेखिएका / प्रकाशन गरिएका कृतिहरु अध्ययन अनुसन्धान गरेको मेरो आफ्नै अनुभवले यति बोल्न चाहिँ कर लगाएरै छाड्यो कि, हाम्रा अधिकांश सर्जकहरुले साहित्यलाई व्यक्तिगत दुख: पोख्ने यौटा भरपर्दो माध्यम मात्रै बनाइरहनु भएको छ । यो अबको नवोदित पुस्ताले मसीमा कलम चोब्नु अघि मनन गर्नै पर्ने बिषय हो ।

त्यसो त, यौटा सुनौलो भविष्य निर्माण गर्ने सपनामा भएका सप्पै जायजेथा मानव तस्करहरुलाई जिम्मा लगाएर बिदेशी भूमि टेकेकै दिन ऊँट र भेडा गोठालो गर्न ५५ डिग्रीको उष्णतामा मरुभूमिको पल्लो कुनामा फालिनु पर्दा अथवा सडक र अग्ला अग्ला गगनचुम्बी भवनहरुको निर्माणमा अनपेक्षित रुपमा रगत-पसिना पसिना बगाउनु पर्दा कसको चित्त काटिदैन होला र? अझ आफ्नो घर र परीवारका खातिर हत्केलामा ज्यान राखेर श्रम बेचिरहेको बेला उता घरदेशमा आफ्नै आधा शरीरले आफूलाई जिउँदै चपरी मुनि लगाएको खबर सुन्दा कसको भक्कानो फुट्दैन होला? बाबा आमाको सेवा गर्ने मनोकांक्षामा पाई पाई पसिनाको मूल्य बटुलिरहेको बेला धागोले बाँधेको चिट्ठी टुप्लुक्कै अईपुग्दाको नियति कस्तो होला? हामी सजिलै कल्पना गर्न सक्छौं र यसरी भक्कानिने मनहरु, चोइटिने सपनाहरु र टुक्रिने बिश्वासहरु शब्दहरुमा पोखिनु पनि स्वाभाविक नै हो । यद्यपि हामीले मनन गर्नै पर्ने यौटा महत्वपूर्ण कुरा चाहिँ के हो भने त्यसरी पोखिने शब्दभावहरुले ओगट्ने परिधि कति हुन्छ? यदि त्यसको परिधिले आफूलाई मात्रै नभई संगैको साथी, छरछिमेकी, गाउँ-टोल, समाज र त्यस भन्दा अलिक परसम्मका मान्छेहरुलाई समेत छुन सक्यो भने त्यसमा अलिकति मात्रै भए पनि साहित्यिक गन्धको अनुभूत गर्न सकिन्छ । अन्यथा त्यो आफ्नै व्यक्तिगत गनगन र गन्थन बाहेक अरु केही हुँदैन ।

प्रसंग कतारी श्रमिक डायास्पोरामा हामीले सिर्जना गरिरहेका, सुनाई रहेका र सुनिरहेका सिर्जनाहरुको हो । हामी अधिकांश सर्जकहरु आफ्नै वा अरु कसैको श्रीमती पोईल गएको / जाने घटनालाई गीत-गजलमा पस्कन्छौँ, विदेश पठाउने बहानामा दलालले ठगेको रीस कवितामा पोख्छौँ अथवा देश बिगार्ने नेताहरुको बिरुद्दमा दुई-चार ओटा गाली यस्तै यस्तै सिर्जनाहरु मार्फत पोख्छौँ र, सबैको वाह वाही पाएर मख्ख पर्छौँ। तर, हामीलाई नै थाहा हुँदैन कि, आफूले प्रस्तुत गरेका सिर्जनाहरुबाट श्रोताहरुले के पाए? त्यसले उनीहरुको जीवनमा के फरक पार्यो / पार्न सक्छ? यदि हामीले यी र यस्ता कुराहरुलाई किनारा लगाउने हो र साहित्यलाई व्यक्तिगततामा सीमित पारेर केवल मनोरन्जनको साधन मात्रै बनाउने हो भने सप्पै भन्दा सजिलो र उपयुक्त बिधा प्यारोडी गीत नै हुनेछ भन्नुमा कुनै अतिशयोक्ति हुँदैन ।

मैले यहाँ उठाउन खोजेको मूल मुद्धा भनेको के हो भने हामीले हिजो जे जस्तो परिस्थितिमा जे जति साहित्यिक सिर्जनाहरु गर्यौं र आ-आफ्ना पाठकहरुमाझ पस्क्यौँ ती आज र अबका दिनमा पर्याप्त छैनन् / हुँदैनन् । साहित्यप्रतिको बौद्धिक पाठकहरुको बढ्दो चासो र डायास्पोरिक साहित्यिक अवधारणाको बिकाशसंगै अब हामीले पनि एक कदम अघि बढ्ने हिम्मत गर्नु पर्ने समय आइपुगेको छ । उसो र अब गीत-गजल लेखेर मात्रै हुँदैन, कविता भट्याएर मात्रै पनि हुँदैन न त आख्यानको नाममा पाठकहरुलाई पलभरको लागि अल्मलाएर नै हुन्छ । अबका हरेक बिधाका सिर्जनाहरुमा जीवन र जगतलाई नियाल्ने यौटा गतिलो दृष्टिकोणको अबलम्बन गर्न नितान्त जरुरी छ ।

बेलायतमा बसेर कथा लेख्ने कथाकार जया राईको कथा ‘बेकर स्ट्रिटको दुई आँखा’माथि त्रि.बि.मा एम.फिल.मा थेसिस लेखिन्छ भने कतारमा बसेर साहित्य सिर्जना गर्ने हामी कसैको कुनै पनि बिधाको कृतिमाथि कुनै न कुनै तहमा थेसिस लेख्न योग्य किन नबनाउने? कतारी डायास्पोराका सर्जकहरुले बेलैमा चिन्तन गरेर साहित्यको गुणात्मक पक्षमा ध्यान दिन जरुरी छ ।

हो, अबको साहित्य गुणात्मक हुनु पर्छ । साहित्य समाजको दर्पण समेत भएको हुनाले हरेक बिधाका सिर्जनाहरूले समाज र राष्ट्रलाई केही न केही दिनु पर्छ / दिन सक्नु पर्छ । शब्दहरु जोड जाड गरेर पुस्तकाकार बनाउँदैमा कुनै पनि कृति असली कृति हुन सक्दैन भन्ने कुरालाई अन्तरहृदयदेखि नै आत्मसात गरेर अघि नबढे सम्म हामीले साहित्य सिर्जनामा लगानी गरेका समय, बौद्धिक कसरत र आर्थिक लगानी सप्पै सप्पै कुरा त्यसै खेर जानेछ ।

हामीले अभाव र गरीबीका थुप्रै कथा-कहानी लेख्यौं / लेखिरहेका छौं । देश बिग्रिएको चिन्ता पोख्यौ / पोखिरहेका छौं । स्वाधिनता लुटिएका नाराहरु उराल्यौ / उरालिरहेका छौं । मिलन र बिछोडका बखानहरु गर्यौं / गरिरहेका छौं । तर, यति लेखेर मात्रै अब हामीले उम्कन पाउने छैनौं । हाम्रा बाहिरी आँखाले देखेका कुराहरु शब्दहरुमा पोखेर मात्रै हाम्रो लेखकीय जिम्मेवारी पुरा हुने छैन । हामीले त त्यस्ता अदृष्य एवं रहस्यमय चिजहरुको खोजतलास र अन्वेषण गर्नु पर्छ जुन चिजहरु जीवन र जगतलाई अति आवश्यक हुँदा हुँदै पनि आम मानव समुदायले चिन्न, भेट्न र उपयोग गर्न सकिरहेका छैनन् ।

सन्दर्भबस कुरा ओकल्नु पर्दा दोहाका सर्जकहरुसितको हरेक भेटमा मैले दिदै आइरहेको यौटै समसामयिक उदाहरण नेपालको अनिर्मित एवं अनिर्णित संबिधान पनि हो । म सित साक्षात्कार गर्नु भएका सबै सर्जक मित्रहरुले मेरो यो दृष्टान्त सुनि सक्नु भएकै छ र जोसंग बिबिध कारणबस मेरो साक्षात्कार हुन सकेको छैन उहाँहरुलाई पनि म यसै लेख मार्फत के भन्न चाहन्छु भने नेपालमा संबिधान बन्न नसकेको कुरालाई कवितामा उतार्नु भनेको कविता लेख्नु नभई भाँडाकुटि खेल्ने रहर गरि टोपल्नु मात्रै हो । किन भने समयमा संबिधान निर्माण नगरेर सम्बन्धित पक्षहरुले देशलाई यौटा दुर्दशातिर धकेलिरहेका छन् भन्ने कुरा थाहा नपाउने र नबुझ्ने आम नागरीकहरु सायदै छन् अहिले । अर्थात, त्यो त मेरी ६८ बर्षकी वृद्धा आमालाई समेत थाहा भएकै कुरा हो नि । तर, असली कुरा चाहिँ यो हो कि, मेरी वृद्धा आमालाई संबिधान निर्माण हुन नसक्नुको अदृष्य कारण र त्यसको बैकल्पिक सामाधानको उपायका बारेमा चाहिँ पक्कै पनि थाहा छैन । उसो र हामीले उहाँ जस्ता आम नागरीकहरुलाई यस कुराको बोध गराउने प्रयास गर्नु पर्छ र त्यो प्रयासलाई सार्थक बनाउँन आफ्नो बौद्धिक चिन्तन र चेतनाको प्रयोग / उपयोग गर्नु पर्छ । एक अर्थमा भन्ने हो भने साहित्य सिर्जना गर्नु भनेको दृष्यमा ठोकिएका बस्तुहरुलाई औल्याएर दूरदृष्टिताको गफ हाँक्नु होइन न त आफ्नै वरिपरिको परिवेश र जीवनबाट अलग्गाएर चन्द्रमा र मंगलग्रहको कोरा काल्पनिक बखान गर्नु नै हो ।

वास्तबमा साहित्य त त्यो हो जसले आम मानिसहरुलाई स्वस्थ र स्वच्छ मनोरंजन दिंदै जीवन र जगतको उन्मुक्तिका लागि चेतनाको बिगूल फुकोस्, शिष्ट, सभ्य र समृद्ध समाजको निर्माणका लागि एउटा इँटा थपोस् र देश र जनताका भलाईका निम्ति समस्याको पहिचान र समाधानका विकल्पहरु दिन सकोस् ।

अन्त्यमा यीनै आधारभूत सिद्धान्तहरुको प्रयोग र उपयोग गर्दै आगामी दिनहरुमा हिजो र आजको भन्दा अझ सबल, सक्षम र परिष्कृत सिर्जनाहरु पस्किने जमर्को गरौँ, जुन कतारी श्रमिक डायास्पोराको साहित्यिक इतिहासको कोशे ढुंगा साबित हुन सकोस् । यही कामनाका साथ सम्पूर्ण समकालीन एवं नव सर्जक मित्रहरु समक्ष यो आलेख समर्पण गर्दछु ।




श्रोतः फेसबुकबाट

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]