ठमेलमा आचारसंहिताविपरीत गतिविधि जारी


YYY
जितेन्द्र साह,

काठमाडौं, भाद्र २० - ठमेल पर्यटन विकास परिषद्ले जारी गरेको आचारसंहिता मसाज पार्लरले बेवास्ता गरेको स्थानीयले आरोप लगाएका छन् । मसाजका नाममा गलत काम भइरहेको भन्दै उनीहरूले त्यसको आलोचना गरेका हुन् । झण्डै दुई महिनाअघि सरोकारवालासहितले संहिता जारी गरेका थिए ।

स्थानीयले केही दिन यौनजन्य क्रियाकलाप रोकिए पनि पुनः सुरु भएको आरोप लगाए । ठमेल टोल सुधार समितिका अध्यक्ष मोहन प्रधानले सोमबार कान्तिपुरसँग भने, 'धेरै लगानी भएका केही स्तरीय स्पा र मसाज बाहेककाले संहिता कार्यान्वयन गरेको देखिएन ।' संहितामा पोसाक, पारदर्शी कोठा, आधिकारिक प्रमाणपत्र भएका दक्ष एवं उमेर पुगेका कामदार, परिषद् र मसाज व्यवसायी संघको सदस्यता अनिवार्यरूपमा लिनुपर्ने मापदण्ड तोकेको थियो ।

अध्यक्ष प्रधानले यौन विकृति भित्र्याइरहेका व्यवसायीहरूलाई ठमेलबाट विस्थापित गराउनुको विकल्प नरहेको बताए । उनले भने, 'परिषद्, स्थानीय निकाय र प्रहरीसँग यसबारेमा छलफल गरेर कठोर कदम नचाली भएन ।' विगतमै जस्तो यौनकर्मीको हूल सडकमा आउन थालेको र स्थानीय युवती तथा महिलालाई सडकमा हिंड्न अप्ठेरो परेको उनले जनाए ।

अनुगमनमा खटिएका सुरक्षा टोलीका अनुसार यौन व्यवसाय हुने प्रायःजसो मसाज पार्लरहरू बहालवाला र निवृत्त प्रहरी र सेनाकै परिवारजनले चलाएको हुनाले कारबाहीमा जान गाह्रो परेको हो । विभिन्न दलसँग निकटका नातेदार र उनीहरूका केटी साथीहरूले पनि यस्तो व्यवसाय चलाउने हुनाले कारबाहीमा जानुभन्दा अगाडि पटक-पटक सोच्नुपर्ने प्रहरीहरू बताउँछन् । मसाज र पार्लर सञ्चालकले थर्काउने गरेको एक जना सुरक्षा अधिकारीले बताए । ठमेलमा अधिकांश यस्ता मसाज पार्लरहरूले प्रतिघन्टा आठ सय रुपैयाँमा मसाज र पाँच सय रुपैयाँमा यौन सेवा दिने गरेको पाइएको छ । सञ्चालकहरू ग्राहकको इच्छा अनुसार सेवा नदिए नआउने बताउँछन् ।

लैनचौर प्रहरी प्रभागका प्रमुख डिबी थापाले ठमेलमा मसाजको नाममा गलत धन्धा हुने गरेको स्वीकार्छन् । नियमनका लागि समाज र सरोकारवालाहरूको भूमिका जरुरी छ । ठमेलमा अहिले झण्डै ९० मसाज पार्लर छन् । परिषद्का अध्यक्ष तेजेन्द्रनाथ श्रेष्ठले, 'माथिबाटै कडा निर्देशन र आदेश नआएसम्म स्थानीय प्रहरीले पनि कारबाही गर्ने हिम्मत जुटाउन सक्दैन ।' महानगरपालिका र मसाज व्यवसायी संघले छरिएर रहेका मसाजलाई नेटवर्क र जानकारीमा राख्न थालेको दर्ता प्रयास पनि असफल भएको छ । जिल्ला प्रशासन, कम्पनी रजिष्ट्रार र घरेलुमा दर्ता भएको भन्दै अधिकांश व्यवसायीले महानगर एवं संघमा आबद्ध हुन मानेका छैनन् ।

ठमेल वडा कार्यालयका सचिव सुमन अधिकारीले २५ मसाज पार्लरले नवीकरण र २१ ले मात्र नयाँ दर्ता गराएको जानकारी दिए । मसाज व्यवसायीहरूले यसका लागि २ हजार रुपैयाँभन्दा बढी शुल्क तिर्नुपर्छ । मसाज व्यवसायी संघमा ७४ मसाज पार्लर आबद्ध भएको देखिन्छ । संघका अध्यक्ष केबी लामाले केही व्यवसायीहरूले संहिता लागू गर्न अटेर गरेको बताए ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]