सहमति कार्यान्वन गर्न प्रधानमन्त्रीलाई मधेशी मोर्चाको दबाव


YYY
भदौ २८ काठमाडौं। सरकार गठनका क्रममा भएको चार बुँदे सहमति कार्यान्वयनका बिषयमा सत्तारुढ संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले प्रधानमन्त्री डा. बावुराम भट्टराईलाई भेट गरेर दबाव दिएको छ । सिंहदरबारमा आज प्रधानमन्त्री डा. भट्टराईसंग भएको मधेशी मोर्चामा आवद्ध मधेशवादी दलका शीर्ष नेतृत्वले सामूहिक रुपमा डा. भट्टराईसंग भेटगरेर सरकार गठनका समयमा भएको सहमति कार्यान्वयन गर्न दबाव दिएको हो । भेटपछि सञ्चारकर्मीसंग कुरागर्दै सद्भावना पार्टीका अध्यक्ष स्वास्थ्यमन्त्री राजेन्द्र महतोले माओवादी र मधेशी मोर्चाबीच सरकार निर्माणका बेला भएको सहमति कार्यान्वयनमा भएको प्रगतिका बारे प्रधानमन्त्रीसंग जानकारी दिएको बताउनुभयो।

सरकार निर्माण भएको १५ दिन भित्र समावेशी विधेयक संसदमा दर्ता गराउने सहमति भएपनि त्यस बिषयमा काम नभएको भन्दै मधेशी मोर्चाले प्रधानमन्त्रीसंग असन्तुष्टि जनाएको छ । सेनालाई समावेशी बनाउने र मधेशीका लागि सेनामा विज्ञापन गर्ने विषयमा के प्रगति भएको छ भन्ने विषयमा पनि मोर्चाले प्रधानमन्त्रीसंग जानकारी मागेको महतोले बताउनुभयो । उहाँले बजेटमा परिमार्जन गर्ने सहमति भएअनुसार मोर्चाले उठाएका केही विषयहरु बजेटमा समेटिनुपर्ने तर्फ प्रधानमन्त्रीको ध्यानार्षण गराएको उल्लेख गर्नुभयो।

प्रत्युत्तरमा प्रधानमन्त्री डा. भट्टराईले सबै सहमतिहरु कार्यान्वयन गर्न आफू प्रतिवद्ध रहेको र काममा प्रगति भइरहेको बताउनुभएको छ । प्रधानमन्त्री डा. भट्टराईसंगको भेटका लागि मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष एवम् गृहमन्त्री विजय गचछदार, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, फोरम गणतान्त्रिकका अध्यक्ष जयप्रकाश प्रसाद गुप्ता, सदभावनाका अध्यक्ष राजेन्द्र महतो र तमलोपा नेपालका अध्यक्ष महेन्द्र राय लगायत सरकारमा सहभागी मोर्चाका मन्त्री तथा अन्य नेताहरु जानुभएको थियो।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]