मातृभूमी (कथा)


YYY
उकाली ओराली अनि त्यो बिच बाटोमा परेको ठुलो बरपिपलको भञ्ज्याङ्ग चौतारी सम्झन थाल्छु, जब म मेरो किचनको टेवलमा बसेर डाउन टाउनको गगनचुम्बी बिल्डिङ्गहरुको शहर अनि छेवैमा परेको त्यो निलो समुद्रको किनारलाई नियाल्दै गर्दा र मुल्यांकन गर्न थाल्छु, के छ र यहाँ मेरो प्यारो देशको जस्तो प्राकृतिक सुन्दरता! तर पनि कृतिम भएपनि देशलाई आकर्षित बनाएका छन् र सँग-सँगै हरेक कुराहरुमा बिकसित बनाएका छन्। हरेक् कुराहरुको सुबिधा छ। फेरि म मेरै देशमा डुब्न पुग्छु। त्यो हरियाली वन-जंगल, डाडाँ काँडा अनि छङ्छङ्ग गर्दै बग्ने अबिरल छाँगा छहरा आहा! मेरो नेपाल कति रमणिय छ। हुनत अझै पनि मेरो घर खरकै त्यान्द्राले बारेको छ। बर्षा लाग्न थालेपछि हामी स-परिवार एउटा कुनामा बसेर छानाबाट चुहिएको पानीलाई भाडाँ-कुडाँमा समेट्ने चेस्टा गर्थ्यौ। आज पनि म त्यो बालकपनमा भएको तितो सत्यलाई म यो सुविधासम्पन्न देशको एउटा घरको सिमित कोठामा बसेर सम्झन पुग्दा आँखा रसाउन पुग्छन्।

घरमा दु:खको भकारी भएपनि मेरो आदरणीय अभि-भावकले मलाई पढ्नको लागि सधैं प्रोत्साहन दिनु हुन्थ्यो। हुनत मेरो अभिभावकमा छोरालाई पढाएर ठूलो मान्छे बनाउने र मेरो छोरा बीर या साहसी सुपुत्र बनोस्, सबैले प्रशंशा गर्न लायक बनोस् भन्ने ठूलो सपनालाई धेरै टाढा राख्नु भएको थियो। मात्र यति आशा थियो कि बर्षौँ देखि भोगीरहेको गरिबीताको तिक्तता हटोस हामीले जस्तो दु:खकष्टको जीवन छोराले भोग्न नपरोस्। अनि यो आशालाई टुट्न नदिनु मेरो कर्तब्य ठान्थे र राम्रो संग पढ्थे। गाउँको स्कुलमा पढाइ सकेर शहरमा पढ्नको लागि झोला सामल बोकेर हिडें। जेनतेन गरेर क्याम्पसको पढाई पनि सके।पढाई मेरो सानै देखि उच्चस्थानमै थियो ।क्याम्पसमा पनि म प्रथम स्थानमा उत्तिर्ण भएको कारण मलाई क्याम्पसबाट छात्रब्रितिमा बिदेश पढ्न पठाउने निर्णय भयो। यो निर्णय लिएर म बाबा -आमालाई सुनाउन पुगे। सधैं दु:ख झेलेर बसेको मनिसलाई एक्कासि सुख आउदा या खुशीको खबर पाउदा त्यो खुशीमा रमाउन दु:ख सहनु भन्दा पनि सयौं गुणा कठिन पर्दो रहेछ। सायद त्यसैले होला मेरो खुशीको खबर सुनेर बाबा-आमाको गला नै अबरुद्ध हुन पुग्यो र अंगालोमा बाँधेर बररर आँसु झारी "धन्य प्रभु" भन्नु भयो। अन्तत्वगोत्वा म बाबा-आमाको माया र आशिर्बाद लिएर पढ्न बिदेश पुगे। जब गाउँबाट शहर पुग्दा त अलमल्ल पर्न पुगेको व्यक्ति यो ठुलो देशमा म अनौठो अनुभब गर्न पुगे।आफ्नो गाउँ अर्थात् देशको माया कती लाग्छ र कती सम्झना आउछ भन्ने कुरा एकपटक विदेसिने व्यक्त्तिलाई नै थाहा हुन्छ। तैपनी समयानुकुल नयाँ ठाउँ नौलो परिवेशमा आफुलाई परिमार्जित गर्दै बिदेशको युनिभर्सिटिमा पढाइलाई निरन्तरता दिन थाले। बिद्यार्थी भएको कारण आम्दानी गर्नको लागि अनुमती थिएन तैपनि लुकि छिपी कमाएको पैसा घररतिर पनि पठाउन थाले। जसले गर्दा घरमा खुशीका रेखाहरु देखिन थाले।

अब यता पढाइको कोर्स पनि सकियो। परिक्षाफल प्रकाशित भयो। भाग्य भनौं या मेहनतको परिणाम फेरि म प्रथम स्थानमा नै उत्तिर्ण हुन पुगे। अब मलाई यहिको सरकारले काम गर्ने अनुमति दिन लागे अनि सबै बुद्धिजिवी भनाउदाहरुले भन्न लागे तिमी बौद्धिक छौ, तिम्रो सरल इमान्दारीता स्वभावले तिम्रो व्यक्तित्व झल्काउछ। तिमी महान छौ र हाम्रो देशमा बस्न लायक छौ अनि तिमी जस्तो व्यक्ति हामीलाई आवश्यक पनि छ त्यसैले तिमीलाई चाहिने सम्पुर्ण सुविधा दिन तत्पर छौ तिमी आफ्नो परिवार बोलाएर यहि बस्न सक्छौ......... आदि आदि कुराहरु गरेर मलाई रोक्न खोजेकोमा म मनमनै रिसले आक्रोस हुदै थिए र भने म जस्तो व्यक्ति तिमीहरुको सम्पन्नशाली देशमा त खाँचो छ भने मेरो देश जहाँ धेरै काम गर्नै बाँकी छ र त्यहाँ पनि तिमीहरु जस्तै सुविधामा बाँच्न चाहने व्यक्तिहरु छन् भने त्यहाँ झन म जस्तो व्यक्तिको अति खाँचो छ। फेरि मैंले पाएको सफलता मेरो देशको गौरव पनि हो भने म यसलाई कसरी मेटाउन सक्छु र........? अनि म जस्ता हरेक सफल बिद्यार्थीहरु यसरी नै बिदेशमै पलायन हुने हो भने मेरो खरको झुपडी खरमै र त्यो पानी चुहिने छानो यथास्थितिमा नै रहनेछ। त्यसैले म यहाँ रोकिन चाहन्न। यदि म यहाँ बसे भने मेरो देशको माटोले मलाई धिक्कार्नेछ। हुनत म यहाँ बसेर काम गरेर मेरो पौरखको मुल्यले त्यहाँ केहि सहयोग गर्न नसक्ने पनि होइन तर म चाहन्छु कि मेरो देशको माटोलाई म आफैले हलुका स्पर्श गर्न सकुँ अनि देशको लागि केहि गर्न नसके पनि मेरो सानो गाउँमा चन्र्दमासको उज्ज्यालो ल्याउन कोशीश गर्नेछु। मैले जे जति देखें,जाने,भोगेका सीपहरु म मेरो गाउँ मै लगेर प्रयोग गर्नेछु। मेरो ममतामयी दयाको खानि मेरो गाउँले मलाई सुस्त नगर्न प्रत्येक पल चेतावनी दिइरहेको छ।

म यसरी एकोहोरो आफ्नो मातृभूमीप्रति भावुकतामा गहिरिएर बर्बराईरहेको देखेर छक्क पर्दै बिदेशी मेरा बुद्धिजिवी सल्लाहकारहरुले भने तिम्रो देशभक्ती, देशप्रेमी भावनाको हामी प्रशंशा र कदर दुबै गर्नेछौ। तर तिम्रो देशमा दु:खको पर्बत छ, जहाँ अकिंचन गरिबिले श्रेणी चढ्दैछ भने त्यस्तो ठाउँमा के तिमी एक्लैले चाहे जस्तो विकसित बनाउन सक्छौ? सक्दैनौ। तिमी एक्लैलाई कठिन पर्नेछ। बिचमा कुरा काट्दै फेरि भने हो म एक्लैलाई असाध्यै कठिन पर्छ "एक थुकि सुकि सयौ थुकि नदि बग्छ " भने झैं मैले पनि सुरुवात मात्र गर्ने हो। त्यहाँ पनि थुप्रै पढेलेखेका बुद्धिजिबीहरु छन् उनिहरुमा पनि देशप्रेमी अथवा देशमा केहि गरौ भन्ने भावना छ। एउटा कमिलाले त तान्न नसकेको वस्तुलाई अरु कमिलाले साथ दिन्छन् भने हामी त बुद्धिजिवी अनि श्रेष्ठ प्राणी हौ, एकजनाले थालेको काममा हातमा हात मिलाउन अवश्यै अगाडि बढ्नेछन्। त्यसैले म मेरो गाउँको अव्यक्ततालाई केहि मात्रामा भएपनि जगमगाउन सफल हुनेछु। म मेरो गाउँमा बर्षौ देखि नबलेको दाउरालाई रगडेर आगो बाल्न सम्म भएपनि सफल बन्नेछु र मलाई त्यसैमा धेरै शान्ती र खुशी मिल्नेछ। म तिमीहरुको सुबिधासम्पन्न देशलाई हेर्दै मेरो गरिबिताले घचघच्याएको देशलाई प्रत्येक पल सम्झदै मनभरी दु:ख बोक्न चाहन्न त्यसैले म विलम्व नगरी चाँडै जानेछु। मेरो त्यो देश मेरो त्यो गाउँ कति रमाउनेछ मेरो आगमनमा स्वागतार्थको लागि मेरो गाउँ मुस्कुराउनेछ। मलाई त्यसैमा वृहद आनन्द मिल्नेछ।


अस्मिता त्रिपाठी
क्यानडा

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]