तलब नपाएपछि दुई नेपाली जापानबाट फर्किए


YYY
- मोहन गुरुङ

जापान इन्टरनेसनल ट्रेनिङ कोअपरेसन अर्गनाइजेसन (जिट्को) अन्तर्गत औद्योगिक प्रशिक्षार्थी कामदारका रूपमा जापान पुगेका दुई नेपाली महिला रोजगारदाताले तोकिएको तलब र सेवासुविधा नदिएपछि स्वदेश फर्किएका छन् । फ्युजन इन्टरनेसनल म्यानपावरमार्फत औद्योगिक कामदारका रूपमा जापान पुगेका ती नेपाली चार महिनामै फर्किएका हुन् ।

चार महिनाअघि जापानको एड्भान्स एसोसिएसनमा सिलाइ काममा गएका दुई नेपाली महिला तोकिएको पारिश्रमिक नपाएपछि फर्किएको फ्युजन इन्टरनेसनलका सञ्चालक तथा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव कुमुद खनालले जानकारी दिए । “रोजगारदातासँग तीन वर्षको सम्झौता गरेर औद्योगिक प्रशिक्षार्थी कामदार पठाएका थियौँ,” सञ्चालक खनालले भने, “रोजगारदाताले तलब नदिँदा चार महिनामै स्वदेश फर्किन बाध्य भएका छन् ।” उनका अनुसार तीन वर्षभित्र कामदारको सम्पूर्ण जिम्मेवार रोजगारदाता हुनुपर्ने थियो । ५० हजार रुपैयाँ लागतमा कामदार पठाएकाले क्षतिपूर्ति दिन नसकिने उनले बताए ।

रोजगारदाताले नेपाली कामदारलाई तलब, सेवासुविधा नदिएको जानकारी आएपछि कूटनीतिक पहल गर्न जापानी दूतवासलाई आग्रह गरेको उनले बताए । उनका अनुसार जिट्कोलाई पनि नेपाली कामदारको समस्या हल गर्न आग्रह गरिएको थियो । “तर, जापानी दूतावास र जिट्को मिलेर नेपाली कामदारलाई फिर्ता पठाउने काम भएको छ,” उनले भने, “दूतावासले कामदारको तलब तथा सेवासुविधा व्यवस्थित गर्न पहल गर्नुपर्ने थियोे, गल्ती गर्ने पक्षलाई कारबाही गर्नुपथ्र्यो ।” सरकारले कूटनीतिक पहल गरी कामदारलाई न्याय दिलाउनुपर्ने उनको भनाइ छ ।

उनका अनुसार कामदारहरूले तलब नपाएपछि दूतावास र जिट्कोलाई जानकारी गराइएको थियो । “दूतावासले नेपाली कामदारको तलब दिलाउन पहल गर्न नसकेको भन्दै फर्काइएको हो,” उनले भने, “यो सरकारको कूटनीतिक कमजोरी हो ।”

रोजगारदाताले भने नेपाली कामदारले काम गर्न नचाहेको बताएको उनले जानकारी दिए । तोकिएको सेवासुविधा दिइँदै आए पनि नेपाली कामदारले नै काम गर्न नचाहेकाले समस्या उत्पन्न भएको रोजगारदाता कम्पनीको भनाइ छ ।

सन् २००३ मा नेपाल र जापानबीच जिट्कोअन्तर्गत औद्योगिक प्रशिक्षार्थी कामदार लैजाने सम्झौता भएको थियो । त्यसबेला नेपाल उद्योग वाणिज्य महासंघलाई मात्र कामदार पठाउन स्वीकृित दिइएको थियो । महासंघले ठूलो संख्यामा औद्योगिक प्रशिक्षार्थी कामदार पठाउन नसकेपछि म्यानपावर एजेन्सीलाई पनि जिट्कोले आबद्ध गरेको थियो । अहिलेसम्म महासंघबाट ४० र म्यानपावर एजेन्सीबाट करिब ४० नेपाली कामदार जापान गएका छन् ।

जिट्कोको प्रक्रिया झन्झटिलो भएकाले ठूलो संख्यामा नेपाली कामदार पठाउन नसकिएको म्यानपावर व्यवसायीहरू बताउँछन् । जापानका रोजगारदाताले परीक्षणका रूपमा ३÷४ जना कामदार लिन्छ्न, ती कामदारले राम्रो काम गरेमात्र अन्य कामदारको माग गर्ने गर्छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]