प्रधानमन्त्रीद्वारा शान्ति प्रकृयामा सघाउन अन्तराष्ट्रिय समुदायलाई आह्वान


YYY
७ असोज, न्यूयोर्क । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अन्तराष्ट्रिय समूदायसमक्ष शान्ति र संविधान निर्माण प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने प्रतिवद्धता जनाउनु भएको छ ।

शनिबार संयुक्त राष्ट्रसंघको ६६ औं महासभालाई सम्वोधन गर्दै प्रधानमन्त्री भट्टराईले आफ्नो नेतृत्वको सरकार शान्ति र संविधान निर्माण प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन प्रतिवद्ध रहेको बताउनु भयो । सबै राजनीतिक दलहरुको सहमतिकै आधारमा शान्ति र संविधान निर्माण प्रक्रिया पूरा गरि नेपालको विद्यमान संक्रमणकाल पूरा गर्ने उहाँको भनाई छ । नेपालको शान्ति प्रक्रियामा संयुक्त राष्ट्रसंघले खेलेको भूमिकाको प्रशंसा गर्दै भट्टराईले शान्ति र संविधान निर्माण प्रक्रियामा अन्तराष्ट्रिय समूदायको सहयोग र सद्भाव पाउने विश्वास ब्यक्त गर्नुभयो । नेपालको जारी शान्ति प्रक्रिया मौलिक रहेको भन्दै उहाँले यो विश्वका लागि उदाहरण भएको बताउनु भयो ।



प्रधानमन्त्री डा. भट्टराईले लुम्बिनीको विकासमा सहयोग गर्न अन्तराष्ट्रिय समुदायलाई आहृवान गर्नुभयो । उहाँले लुम्बिनीको विकासका लागि तत्काल अन्तराष्ट्रिय समितिलाई सक्रिय पार्नु पर्नेमा जोड दिनुभयो । जलवायु परिर्वतनले नेपालको हिमाल र दक्षिण एसियामा गम्भीर असर परेको भन्दै उहाँले त्यसका लागि औद्योगिक देशहरु जिम्मेबार रहेको बताउनु भयो ।

राष्ट्रसंघको शान्ति सेनामा नेपालले अहम भूमिका खेलेको भन्दै प्रधानमन्त्री डा. भट्टराईले नेपाल अन्तराष्ट्रिय शान्ति र सुरक्षा स्थापनामा आफ्नो प्रतिवद्ध रहेको बताउनु भयो । शान्ति सेनामा ८० हजार नेपाली सेनाले भाग लिएको र उनीहरु मध्ये ६२ जना मारिएको भन्दै उहाँले नेतृत्व तहमा नेपालको समान सहभागिता हुनु पर्नेमा जोड दिनुभयो ।

नेपालजस्तै द्वन्द्वोत्तर मुलकको पुन निर्माणका लागि संयुक्त राष्ट्रसंघ वेग्लै मार्सल प्लानका साथ आउनुपर्ने माग गर्दै प्रधानमन्त्रीले सांकेतिक सहयोगमात्र पर्याप्त नहुने बताउनुभयो ।

संयुक्त राष्ट्रसंघको समेत पुनसंरचनामा जोड दिंदै भट्टराईले राष्ट्रसंघको महासभा ‘बिश्व संसद’को भूमिकामा हुनुपर्ने बताउनुभयो । सुरक्षा परिषद्को विस्तार, राष्ट्रसंघको कार्यशैलीमा सुधार लगायतका पक्षमा नेपाल रहेको जानकारी गराउँदै उहाँले अन्तराष्ट्रिय शान्ति स्थापनाका लागि साना राष्ट्रहरुको भूमिकालाई पनि कदर गरिनुपर्ने बताउनुभयो । मध्यपूर्वमा शान्ति स्थापना हुनुपर्ने मत राख्दै प्रधानमन्त्रीले बर्षौदेखि स्वतन्त्रताका लागि लड्दै आएका प्यालेष्टाइनीलाई समर्थन गर्नु आफ्नो मुलुकको सैद्धान्तिक पक्षधरता रहेको बताउनुभयो ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]