तीन महिना गालीगलौज नगरौँ, खुट्टा नतानौँ : दाहाल


YYY
काठमाडौँ, भदौ १९- एनेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले अहिलेको समय राजनीतिक दलका लागि अग्निपरीक्षा भएको बताउँदै संविधानसभाको थपिएको पछिल्लो तीन महिनामा एकअर्कालाई गालीगलौज गर्ने, खुट्टा तान्ने प्रवृत्ति नगर्न आग्रह गरेका छन्।

दाहालले यो अवधिमा शान्ति र संविधानको जिम्मेवारी पूरा गर्न सकिने दृढता व्यक्त गर्दै शान्ति र संविधानको जिम्मेवारी कुनै पार्टी विशेषले सक्यो भने आफू समाप्त भइन्छ भन्ने मनोवृत्ति त्याग्न जरुरी भएको बताए। अध्यक्ष प्रचण्डले मुलुकमा राजनीतिक दलका नेताहरुलाई गाली गरेर आफू रमाउने आत्मरति बढ्दै गएको र आफ्नो गल्ती, कमजोरी ढाकछोप गर्ने प्रवृत्तिले राजनीतिलाई धुमिल पारेको धारणा राखे।

राजनीतिक दलहरुले आगामी तीन महिना जनअपेक्षाअनुसार शान्ति र संविधानको पक्षमा आफ्ना काम कारबाही केन्द्रित गर्नुपर्ने उनको कथन थियो। एबीसी टेलिभिजनको चौथो वार्षिकोत्सवका अवसरमा आज आयोजित अन्तरक्रिया कार्यक्रममा दाहालले आगामी तीन महिना शान्ति र संविधानका लागि सकारात्मक ढङ्गले सोचेर सहमतिका साथ अगाडि बढ्न जरुरी भएको उल्लेख गरे।

कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले शान्ति प्रक्रियालाई अगाडि बढाउन सेना समायोजनसम्बन्धी विशेष समितिलाई प्रभावकारी तुल्याउन आवश्यक रहेको बताउँदै समायोजनको प्रक्रिया थालिनु अघि लडाकुको वर्गीकरण, ढाँचालगायतका विषयमा राजनीतिक सहमति हुन आवश्यक रहेको बताए।

शान्ति प्रक्रिया पूरा नभई संविधान जारी गर्नुहुन्न भन्नेमा आफ्नो पार्टी दृढ रहेको बताउँदै शिविर पूर्णरुपमा खाली नभएसम्म र माओवादी सेनाबाट अलग नभएसम्म उसको नेतृत्व नस्वीकार्ने आफ्नो पार्टीको अडान उनले दोहोर्‍याए। नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतमले आफ्नो पार्टीले सरकारको राम्रो कामको समर्थन र नराम्रो कामको विरोध गर्ने बताए।


राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिक दलले सत्तामुखी नभई मुलुक र जनतामुखी कार्यक्रम सञ्चालन गर्नुपर्छ भन्दै नेताहरुमा सत्ताका लागि जस्तोसुकै सम्झौता गर्ने परिपाटीले मुलुकमा विकृति र दण्डहीनता मौलाउन गई जनआन्दोलनको उपलब्धि रक्षा गर्न नसक्ने अवस्था सिर्जना हुँदै गएको धारणा व्यक्त गरे।

नेपाली काँग्रेसका नेता डा नारायण खड्काले एनेकपा (माओवादी) शान्ति र लोकतन्त्रको मूल्य मान्यतालाई स्वीकारेर आएको छ वर्षको अवधिमा दलहरुबीच भएका सहमति कति कार्यान्वयन भए भएनन्, कुन पक्षबाट सहमति पालनामा कमीकमजोरी भयो त्यसको समीक्षा र मूल्याङ्कन गरेर अघि बढ्न जरुरी रहेको बताए।

पूर्वमन्त्री गणेश शाहले संविधानसभा एकमात्र विकल्प हो भन्ने मानसिकतालाई त्यागेर मुलुक र जनसरोकारका विषयलाई समेत सँगसँगै लानुपर्छ भन्ने मान्यताअनुरुप दलहरुले काम गर्नुपर्ने बताए। नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष प्रदीपराज पाण्डेले अहिले आर्थिक एजेण्डा ओझेलमा परेकाले नै मुलुकले आर्थिक समृद्धि हासिल गर्न नसकेको तर्क प्रस्तुत गरे।

नागरिक समाजका प्रतिनिधि डा रेणु राजभण्डारीले संविधानसभाको थपेको तीन महिनामा संविधान र शान्तिका काम पूरा गर्ने छौँ भनि नेताहरुले जनतालाई आश्वस्त पार्न जरुरी रहेको बताए। वरिष्ठ पत्रकार किशोर नेपालले नेताहरुले सबैभन्दा पहिला संविधान बनाउने सहमति गरेपछि मात्र सरकार गठन गर्ने सहमति गरेको भए अराजकता र दण्डहीनता अन्त्य गर्न मद्दत पुग्थ्यो भने।

अधिकारकर्मी डा अर्जुन कार्कीले नेताहरुले जनआन्दोलनको उपलब्धिलाई आफ्नो निजी स्वार्थका लागि प्रयोग गरेको आरोप लगाए। नागरिक समाजका अगुवा श्याम श्रेष्ठले संविधानसभाको जनादेश र दलहरुबीच विगतमा भएका सहमति इमान्दारीपूर्वक पालना गरे शान्ति र संविधान संविधान लेखनका लागि अहिले अत्यन्त अनुकूल समय रहेको बताए।

मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरले संविधानसभाको पछिल्लोपटक थपेको तीन महिनाको समय देश र जनताका लागि काम गर्ने दलहरुलाई अन्तिम अवसर भएकाले इमान्दारीपूर्वक जनादेशको भावनाअनुसार शान्ति र संविधानको दायित्व पूरा गर्न सुझाव दिए। रासस

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]