आज घरघरमा घटस्थापना गरी आरम्भ हुँदै छ दसैं पर्व


YYY
काठमाण्डौ, ११ असोज,

हिन्दू नेपालीहरुको चाड बडादसैं आज घरघरमा घटस्थापना गरी आरम्भ हुँदै छ । आज बिहान १० बजेर २७ मिनेटमा घटनास्थापनाको साइत रहेको नेपाल पन्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका अनुसार यो बडादसैंको टीकाको उत्तम साइत असोज १९ गते बिहीबार बिहान १० बजेर ३५ मिनेट जाँदा रहेको छ ।

भगवान श्री रामचन्द्रले रावणमाथि विजय हासिल गर्ने उद्देश्यले शक्ति प्राप्तिका लागि शक्तिस्वरुपा महामाया भगवतीको आह्वान गर्न घडाको स्थापना गरी बालुवाको चौकीमा जौ छरी पूजा आराधना गरेको विश्वासमा आज हिन्दू धर्मावलम्बीहरुले आ-आफ्ना पूजाकोठा वा दसैं घरमा विधिपूर्वक दियो कलश र गणेशको पूजा गर्ने र माटोको पूर्ण घडामा गाईको गोबर राखी घाम नछिर्ने अँध्यारो कोठामा जौ वा मकै रोपेर जमरा राखी पन्चरत्न चढाई शक्तिरुपी दुर्गा भवानीको आराधना गर्ने परम्परा छ । यसरी उमारिने जमरा विजयादशमीका दिन मान्यजनहरुबाट टीका ग्रहण गर्दा लगाइन्छ । दसैंको टीका लगाउँदा अरु फूलको सट्टा समृद्धिको प्रतीक पहेंलो जमरालाई प्रयोग गरिन्छ ।

परम्पराअनुसार घटनास्थापनाको उपलक्ष्यमा आज हनुमानढोका दरबारमा रहेको दसैं घरमा वैदिक विधिपूर्वक जमरा राखी महाकाली महालक्ष्मी महासरस्वतीलगायत नवदुर्गा र अन्य शक्तिपीठहरुमा नवरात्रिपूजाको शुभारम्भ हुन्छ । नवरात्रिको उपलक्ष्यमा बिहान घरघरमा र भगवतीका मन्दिरहरुमा चण्डी र भगवती स्तोत्र पाठ गर्ने गरिन्छ । बडादसैंको उपलक्ष्यमा आजैदेखि नेपालराज्यभरका शिक्षण संस्था र अदालतहरु कोजाग्रत पूर्णिमाको दिनसम्मका लागि बिदा गरिएका छन् ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]