राजमार्गका होटलमा यात्रुसँग मनपरी मूल्य


YYY
सानुबाबु तिमिल्सिना,धादिङ, आश्विन १२,

दुई वटा पुरी, अलिकति तरकारी, थोरै चना र एक पित्को अचारको कति रुपैयाँ पर्ला ? सबैको सहजै अनुमान बढीमा ५० रुपैयाँसम्म हुन सक्छ । यति परिणामको खाजा खाएका झापाका उमेश थापाले बुधबार धार्केको अन्नपूर्ण होटलमा १ सय रुपैयाँ तिरे । उनी मात्र यस्तो लुटका पीडित भने होइनन् । विभिन्न जिल्लाबाट राजधानी प्रवेश गर्ने र जिल्ला र्फकने यात्रु नौबिसे-धार्के खण्डमा सञ्चालित होटलहरूमा चर्को मूल्य तिर्न बाध्य हुँदै आएका छन् ।

महँगो छ भन्ने जान्दाजान्दै खाजा र खाना खान बाध्य हुनुपरेको यात्रुले बताएका छन् । चालकले तिनै होटलमा लगेर रोक्छन् । त्यहाँ नखाए अर्को स्थानसम्म पुग्दा भोकले आकुलव्याकुल पार्ने भएकाले चर्को मूल्य तिर्न बाध्य भएको थापाले बताए ।

कतिपय अवस्थामा यात्रुले खानेकुराको मूल्य नसोधी खाएपछि पैसा तिर्ने बेलामा होटल व्यवसायीले अचाक्ली असुल्ने गरेको अनुभव यात्रुहरूले सुनाए । दाङबाट काठमाडौं जाँदै गरेका तिलबहादुर भण्डारीले धार्केको सयपत्री होटलमा सामान्य खाजा खाँदा १ सय ८० रुपैयाँ तिरेको गुनासो गरे । धार्के एरियामा पहिलोपटक खाजा खाएका भण्डारीले त्यती महँगो नपर्ला भन्ने सोचेका थिए । 'यति सामान्य खाजाको ५० रुपैयाँसम्म पर्ला भन्ने सोचेको थिएँ' उनले भने । होटलमा मूल्य सूची नभएकाले आफूहरू नराम्रेसँग ठगिएको थापाले बताए । 'मूल्यसूची भए मूल्य हेरेर खाने/नखाने निर्णय गर्न सकिन्थ्यो,' उनले भने ।

व्यवसायीहरूले बसका चालकलाई भत्ता दिएर सवारी आपmनै होटलमा रोक्न लगाएर यात्रुसँग मनपरी मूल्य असुल्ने गरेको यात्रुको गुनासो छ । केही बसका चालकले होटलवालासँग भत्ता लिने गरेको स्विकारे । होटल व्यवसायीहरूले समेत व्यवसाय बढाउन चालकलाई पैसा दिएर बस रोक्न लगाउने गरेको स्विकारेका छन् । 'बस नरोकिएसम्म आफूहरूको व्यापार नहुने भएकाले थोरै रकम चालकलाई दिएर रोक्न लगाउने गरेका छौं,' अन्नपूर्ण होटलका सञ्चालक जनार्दन प्रधानले भने । बसका चालकलाई अवस्था हेरी प्रतिटि्रप २ सयदेखि ३ सय रुपैयाँसम्म दिने गरिएको उनले बताए । धार्केका अधिकांश होटलले चालकलाई रकम दिने गरेको उनले बताए ।

यसैबीच अनुगमन टोली आएकाले बुधबार अधिकांश होटलमा खाना र खाजाको मूल्य अरू दिनको तुलनामा निकै सस्तो भएको यात्रुले बताएका छन् । अनुगमन टोली आउँदै गरेको जानकारी पाएपछि होटल व्यवसायीले मूल्य घटाएका थिए । अघिपछि ६० रुपैयाँ पर्ने प|mाई चाउचाउलाई बुधबार अधिकांश होटलमा ३० रुपैयाँमा दिइएको पाएको खाद्य अधिकार जिल्ला सञ्जाल धादिङका राजेन्द्र बस्नेतले बताए । यसैगरी अघिपछि १ सय ५० रुपैयाँ पर्ने मासुभातको बुधबार १ सय २० लिइएको एक यात्रुले बताए । कान्तिपुर

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]