इजरायलको 'हुला लेक' र बर्थडे सर्प्राइज


YYY

इजरायलको 'हुला लेक' र बर्थडे सर्प्राइज --यात्रा संस्मरण
Deeps Shah
कामको एकरसतालाई बदल्ने यो मेरो एक चतुर्याइँ हो। केही दिन सम्मको घरमै बसाइ भएपछी म झक्झक्याउँछु मेरी अन्नदाता 'चिपोरा' लाई! जसको घरेलु नाम 'चिता' । "चिता! डन्ट यु थिङ्क उइ नट गोइङ एनिहोएर फर लङ् टाइम? आई गेस उइ ह्याभ टु बि फ्रेस लिटिल बिट!" कहिले तुरुन्तै गन्तब्यको चाँजो मिलाउन लाग्छिन भने कहिले टार्छिन उसै। तर बेलाबेलामा आएआँप गए झटारो गर्न भने म छोड्दिन।
एक बिहानको मेरो चतुर्याइँले रङ्ग देखायो। हामी लाग्यौँ एक सुन्दर घमाइलो बिहानीलाई जिस्क्याउँदै एकदिनको घुमघाममा। मेरो जन्मदिनको उपहार स्वरुप भनेर चिपोराले मिलाइन् इजरायलको एक असाध्य सुन्दर स्थान' हुला लेक' को घुमघाम। अक्टोबरको सुन्दर बिहानिलाई सजाएको थियो कलिलो घामले। इजरायली आकाश सफा निलो थियो ठ्याक्कै मेरो नेपाली आकाश जस्तो। छरितो स्कर्ट र टि शर्ट शरीरमा उनेर चिपोरालाई थन्क्याएँ कारमा। मेरो ब्याग पहिलेबाटै तयार थियो सानो डायरि, पेन, पानीको बोतल, सनग्लास, मेरो पुन्टे क्यामेरा, एकपोको टिस्यु पेपर यिनै खिच्रिङ्ग मिच्रिङ्ग आदी ले। घरको मूलढोका ताला मार्दै थिएँ उता चिपोरको भतिजा ले कार स्टार्ट गरिहाल्यो। संधै झैँ पछील्लो सिटमा बसेँ। बिहानको कलिलो घाममा चकिलो बातावरणलाई नियालेर मलाई कहिल्यै पुग्दैन। छहराको पानीमा भर्खर नुहाएर डिलमा गोडा खसालेर बसेकी षोडषी झैँ लाग्ने प्रकृतिको बिहानी सौन्दर्य हेरेर अघाउने कुन मान्छे होला र संसारमा!! कारको हुइँक्याइसङ्गै बाहिरको स्निग्धता नियाल्न भनेर सन्ग्लासलाई पनि टाउकोमा टस्काएँ। कारले गती लीन थाल्यो। संधै झैँ चिपोराका काका भतिज गफिन थाले। बिहानी समय, स्कुल, अफिस, कामकाजी मान्छेको चाप रहने हुँदा सडक खचाखच थियो। निकैबेर पछी याद गरेँ हाम्रो कार मुल सडक बाट अन्तै मोडीइसकेछ। निकै बेर देखी याद गर्दै थिएँ। यो हाँगे सडक अगिको सडक भन्दा शान्त छ, ट्राफिक बत्ती एउटा पनि छैन र ठाउठाउमा सडक माथि लम्बेतन फलामे ह्याङ्गरमा के के झुन्डिएका छन् क्यामेरा जस्ता लाग्ने। निकैबेर त्यो देखेपछी मैले चिपोरालाई सोधेँ ,यो सडक यती शान्त कसरी ?? किन ट्राफिक बत्ती पनि छैन र यो ठाउठाउमा माथि झुण्ड्याइएको के हो?? चिपोराको उत्तर थियो," दिस इज पेएबल रोड,एण्ड दोज ह्याङिङ थिङ्स आर क्यामेरा।" उनका अनुसार त्यसबेला हामी बत्तिँदैगरेको सडक पैसा तिर्नुपर्ने सडक रे। जहाँ कुनै ट्राफिक क्रसिङ्ग र बत्ती छैन। छोटो र सिधा हुनेहुँदा हतारो हुनेहरु यही सडक प्रयोग गर्दारहेछन्। प्राइभेट सडक भनेपनी हुने त्यो सडकको ठाउँठाउमा मुल सडक छोडेर बाहिरिने हाँगे सडक थिए। त्यो सडक प्रयोगकर्ताले किलोमिटरको हिसाबले बिल तिर्नुपर्दो रहेछ। ति ठौठाउमा माथि झुण्ड्याइएका क्यामेराले गाडीको नबरप्लेटको फोटो सहित गूडेको किलोमिटरको गणना र हिसाबकिताब् रेकर्ड गर्दो रहेछ। र पछी बिल पठाउँदोरहेछ। कुरो सुनेर मलाई अचम्म लाग्यो। सडकमा गूडेको पनि पैसा तिर्नपर्ने?? सबैतिर त नपर्ने ,के छ यो सडकमा त्यस्तो खास्?? यि सबै सोधाईको जवाफ पाएपछी भने चित्त बुझ्यो मेरो। कुरो कस्तो रहेछ भने जनताको आवश्यकता र सुबिधा अनी पुँजी को लगानिको उचित तालमेललाई हेर्दै ठुलाठुला ज्वाइन्ट कम्पनीहरुले यस्तो बाटो निर्माण गर्दारहेछन् सरकारसङको निस्चित शर्त र मापदण्डमा । जुन बिना ट्राफिक झन्झट सजिलै र छिट्टै गन्तब्यमा पुग्न सकिने हुनाले हतारमा रहेकाहरु यही सडकबाट गूड्दा रहेछन र पैसा तिर्दारहेछन्। आजको यान्त्रिक समयका मान्छे न हुन् कस्लाई हतारो हुँदैन र? त्यसो र यस्ता सडक प्रयोगकर्ताको खाँचो हुने कुरै भएन। यसरी सडक निर्माण गरेपछी निर्माणकर्ता कम्पनिले उद्घाटनको २५ बर्ष सम्म प्रयोगकर्ताहरुबाट पैसा उठाउँदोरहेछ। र २५ बर्ष पछी उक्त सडक स्वत:: सरकारी सम्पत्ति हुनेरहेछ। क्या गज्जब! मलाई यस्तो तरिका मन पर्योि।
यसो गरिँदा १:पुँजिवालाहरुको पुंजिको उचित लगानी र सन्चालन,२: जनताले निस्चित रकम तिरेर बढी सुबिधा प्राप्त गर्न सक्ने, ३:देशको निर्माण कार्यमा टेवा पुग्दै दिर्घकालिन उपलब्धी पनि हुने।
खैर हामीमा यो पद्दती, लगानिको सुरक्षित बातावरण , दिर्घकालिन सोच र सरकारी संयन्त्रको चुस्त परिचालन् खासै भइनसकेको मुलुकमा यो त्यती प्रभाबकारी नहोला पनि। मेरो सोचको भुल्को भुल्किंदैगर्दा कारले हामीलाई हुला लेकको छेउमा पुर्याइसकेछ। कार पार्किङ गरेर टिकट किनिसकेपछी एउटा कभर्ड वागन (हेर्दा गल्फ कार जस्तो देखिने साधन) मा बसेर लाग्यौँ हुला लेकको सुन्दरता नियाल्न। टिकट काउन्टरबाट एउटा टि.भी रिमोट कन्ट्रोल जस्तो उपकरण पनि थमाइएको थियो हामीलाई.
हुला लेक उत्तरी इजरायलमा अवस्थित एक अती महत्वपूर्ण स्थान हो। जुन स्थान बिसौँ शताब्दीको सुरुवात तिर सम्म एक उपेक्षित ठाउँ थियो बिकराल मलेरियाको कारण। त्यसपछी सरकारी तवरबाट हुला लेक लाई पूर्णत: सुकाएर बिबिध औषधी किटनासक रसायनहरुको प्रयोगपछी मलेरिया मुक्त घोषित गरी सर्बसाधारणको लागि खुल्ल गरिएको अती मनोरम प्राकृतिक चित्ताकर्षक स्थल बनेको रहेछ। मलेरिया मुक्त घोषणापछी खेर्मोन को हिउँपहाडबाट पानी ल्याएर पुन: भरेपछी अहिले माइक्रो सिस्टम अनुसार लेक भित्र पानी जीबजनाबर, चराचुरुङ्गि , फ्लोरा-फाउना जस्ता स्थान बिशेषमा पाइने जीब-बनस्पतीका निमित्त पनि एक स्वर्ग बनेको रहेछ । समग्रमा हुला भ्याली भनेर चिनिने त्यो ठाउँ बिशेषगरी जाडो मौसमको सुरुवात सङ्गै जाडो छल्नका लागि युरोपबाट बथानका बथान चराहरु यहाँ आइपुग्दा रहेछन् र केही महिना यहीँ रहँदा रहेछन्। त्यसरी भेला भएका हजारौँ लाखौं चराहरुको बथानले कृषिबालिमा नोक्सान नपुर्याउन भनेर इजरायली सरकारले हजारौँ टन दाना गेडागूडी त्यहीँ भ्याली भित्रै उपलब्ध गराउनेरहेछ र त्यही मौकाको सदुपयोग गर्दै धेरै भन्दा धेरै प्रजाती चराहरुको एकमुस्ठ बसाइको अदभूत प्रदर्शनमा देशी बिदेशी पर्यटक पनि भित्र्याउँदोरहेछ। आफु त संसारकै सुन्दर प्राकृतिक हरियालिदेश बाट आएको न परेँ , प्रकृतिक सुन्दरता भनेपछी खान पनि भुल्ने मान्छे। खुशीले फुरुङ्ग हुँदै कभर्ड वागनमा सवारी चलिरह्यो। अगी काउण्टरमा दिइएको रिमोट कन्ट्रोल जस्तो उपकरणको पनि निकै पो काम रहेछ। भ्यालिमा घुम्ने एउटा ब्यबस्थित नक्सा र निर्दिष्ट दिशा रहेछ। र ठाउँठाउँमा नम्बर लेखेर बोर्ड राखेको रहेछ। घुम्दै जाँदा जती नम्बर लेखेको बोर्ड नजिक पुगिन्छ त्यो उपकरणमा त्यतिनै नम्बर थिच्दा आफु उभिएको स्थान ओरिपरि के के जीब पाईन्छन् , कस्ता बनस्पती पाईन्छन् र केके का लागि उपयोगी हुन्छन् जस्ता अनेक जानकारी रेडियोले झैँ फरर भन्दोरहेछ।
अचम्मका पानी हांस, बिभिन्न प्रजातिका चराचुरुङ्गि, पानी भित्र रहने एकखालको मुसा प्रजातिको जीब, परपर सम्म टाउको उठाएर टिल्टिल हावामा हल्लिरहेका सुनौला फूलपातहरुको अदभूत सुन्दरता नियालेर लग्भग आधा दिन घर्केपछि हाम्रो फिर्ती यात्रा सुरुभयो गलिलिको बाटो हुँदै। यतिबेला सम्म घुमघामको मज्जा सङ्गै भोकले साम्राज्य फिँजाइसकेको थियो। बाटोमा पर्ने एक ऐतिहासिक रेस्टुरेन्ट जसको नाम रहेछ 'चिकेन इन बास्केट' मा दिउसोको खाना खाएर यात्रा सुचारु गर्ने सल्लाह बमोजिम हाम्रो कार मोडियो त्यतै। जुन रेस्टुरेन्ट लग्भग इजरायलको स्वतन्त्रताकै ताका दक्षिण अमेरिकाबाट बसाइँ आएको एक धनाढ्य याहूदीले सुरुगरेको इजरायलको एक प्रसिद्द रेस्टुरेन्ट र घोडा फार्म रहेछ र उहिल्यै जवानीका दिनमा कहिले सुटुक्क जोडी त कहिले पारिवारिक रमाइलोमा चिपोरा धेरैपटक पुगेको र रमाएको रेस्टुरेन्ट पनि रहेछ। टेबल घेरेर बसेपछी मेनु लिएर वेटर आइपुगुन्जेल यती भनिभ्याइन उनले। निकै सफा, आकर्षक र ब्यबस्थित अनी खचाखच त्यो रेस्टुरेन्टको नाम त्यहा पाइने एक खाध्यपदार्थ सङ्ग जोडीएको रहेछ। साना साना भुरा कुखुराको सबेटा खस्रो पिठोमा मलेर डीप फ्राइगरेपछी सानो चिटिक्कको बांसको टोकरीमा राखेर ल्याइँदोरहेछ र त्यसको नाम रहेछ 'चिकेन इन बास्केट' । त्यही नाम नै रेस्टुरेन्टको नाम पनि रहेछ। सुन्दा रमाइलो लाग्यो र हामी तिनैजानाले खानाको मेन आइटम सङ्गै एक एक चिकेन इन बास्केट पनि अर्डर गर्यौँ। भोकले थाल खानु कि भात भएको बेलामा खाना आइपुग्यो अगाडि। खाना हेरेपछी त हामी तिनछक! चिकेन इन बास्केट त चिकेन इन डोको जस्तो पो रहेछ! एकै भागले तीन जाना त्रिप्त हुने जस्तो रहेछ तर हामी तीन को अलगलग बास्केटले राम्रै हंसायो । अझै मैले चिपोरालाई भनेँ पनी तिम्रो जवानीको पानीपंधेरो रेस्टुरेन्टको परिकारको मात्रा तिमीलाई थाहा थिएन त? पहिलाई भनु पर्थ्यो नि! उनको जवाफ थियो," लङ टाइम आ'म् नट हियर , सो आइ फर्गोट।"
साह्रै रमाइलो बातावरणमा खाना खाइओरी म फ्रेस रुममा पसेको त फर्किँदा टेबुल घेरेर दुई तीन वेटर वेट्रेस एक सानो थालिमा झिर्झिरे मैनबत्ती सहित सानो केक बोकेर "ह्याप्पी बर्थ डे! ह्यापी बर्थ डे!" भन्दै मलाई पर्खिरहेका रहेछन्। म एकछिन नभएको मौकामा चिपोराले मेरोलागी त्यो सर्प्राइजको बन्दोबस्त गरीभ्याइछिन्। एक्छिन स्तब्ध बनेँ र सबैलाई धन्यवाद भनें बिशेष चिपोरालाई। आफ्नाहरुबाट टाढा दूरदेशमा रहँदा पराइले देखाएको यो आत्मियताले साच्चै नै आँखा सजल भए र परम्परा नभएपनी मेरो खुशीको ख्यालगरी जन्मदिनको खुशीयालिमा परको मिठाइ पसलदेखी सुटुक्क केक किनेर मुस्कुराउँदै घर आउने मेरो राजाको अनुहार झल्झली त्यही झिर्झिर गरिरहेको मैनबत्तिको शिखामा कल्पिँदै एकछिन निक्कै भाबुक बनेछु। केक काट्ने र खाने कार्यक्रमको समाप्ती सङ्गै हाम्रो कार हुइँकियो घर तिर। बाटाभरी अगिको पैसा तिर्नुपर्ने रोड, हुला लेकको अलौकिक सौन्दर्यता, चिकेन इन बास्केटको चिकेन इन डोको साइज र सर्प्राइज बर्थ्डे विशको दृष्या मनभरी झिकिलमिलिक गरिरहे। मनमनै अंकित गरेँ,"मेरा महत्वपूर्ण घुमडुलको डायरिमा आजको दिन पनि उध्रित हुनेछ।"

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]