सानिमालाई वाणिज्य बैंकको स्वीकृति


YYY
सुदर्शन सापकोटा, काठमाडौं, कात्तिक ९- सानिमा विकास बैंकले ‘क’ वर्गको वाणिज्य बैंक बन्ने अनुमति पाएको छ। राष्ट्र बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले सानिमाद्वारा स्तरोन्नतिका लागि दिइएको निवेदनलाई सैद्धान्तिक स्वीकृति दिएको हो।
सानिमामा गैरआवासीय नेपाली (एनआरएन) को ५० प्रतिशतभन्दा बढी लगानी छ। सानिमा अब मुलुकको ३२ औं वाणिज्य बैंक हुनेछ। कर्पोरेट कार्यालयबाहेक सानिमाका २० शाखा छन्। सैद्धान्तिक सहमतिसँगै वाणिज्य बैंकका रूपमा काम गर्नका लागि आवश्यक तयारी गर्न सानिमालाई निर्देशन दिइने निर्णय भएको छ। बैंकले सम्पूर्ण तयारी सकेपछि अन्तिम स्वीकृतिका लागि आवेदन दिनुपर्छ।’आगामी चार महिनाभित्र सानिमालाई वाणिज्य बैंकका रूपमा कारोबार गर्न दिने तयारीमा छौं,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘त्यसअघि नै उसले सम्पूर्ण प्रक्रिया पूरा गरिसक्नुपर्छ।’सानिमाले पनि ढिलोमा यसै आर्थिक वर्षभित्र वाणिज्य बैंक भई कारोबार गर्ने जनाएको छ। स्तर बढाउन निवेदन दिएकाले नेपाल स्टक एक्स्चेन्जमा सूचीकृत सानिमाको सेयर कारोबार झन्डै डेढ वर्षदेखि रोक्का थियो। लामो समयसम्म सेयर किनबेच रोकिँदा सर्वसाधारण लगानीकर्ता मर्कामा परेका थिए।
वाणिज्य बैंकका लागि आवश्यक पर्ने पुँजी सानिमाले पुर्‍याइसकेको छ। उसमा सेयर धनीका लगानी २ अर्ब १ करोड रुपैयाँ छ। ६ अर्ब २८ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ६ अर्ब ३७ करोड ऋण लगानी गरेको छ। पुँजी पर्याप्तता अनुपात ३०.५१ प्रतिशत रहेको बैंकको कर्जा-निक्षेप अनुपात ७५.४१ प्रतिशत छ। एनआरएनहरूको ५० प्रतिशतभन्दा बढी लगानीमा सञ्चालित बैंकका अध्यक्ष जीवा लामिछाने हुन्। उनी गैरआवासीय नेपाली संघका नवनिर्वाचित अध्यक्ष पनि हुन्। बैंकले चाँडै गर्न लागेको वार्षिक साधारणसभाबाट स्तरोन्नतिका प्रक्रिया पारित गर्नेछ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]