प्रतिष्ठित कम्पनी नै छलीमा संलग्न


YYY
कमला थापा
कर छल्न साना कम्पनीको बिल प्रयोग •ठूला व्यवसायिक घराना योजनाबद्ध छलीमा संलग्न •कम नाफा देखाउन नक्कली बिल प्रयोग
काठमाडौं, १३ कात्तिक

मुलुकका प्रतिष्ठित ठूला व्यावसायिक कम्पनी र फर्महरूले नक्कली बिलविजकमार्फत योजनाबद्ध रूपमा राजस्व छलीमा संलग्न रहेको पाइएको छ । आन्तरिक राजस्व विभागले गत वर्षदेखि मूल्य अभिवृद्धि कर (भ्याट) छली सम्बन्धमा गर्दै आएको अनुसन्धानमा यस्तो देखिएको हो ।
राजस्व छली गर्नेमा अधिकांश सवारी साधन आयातकर्ता तथा विक्रेता, निर्माण व्यवसाय, हाउजिङ, जलविद्युत् आयोजना, इलेक्ट्रोनिक्स व्यापारलगायत बहुराष्ट्रिय कम्पनीका स्थानीय बिक्रीमा संलग्न ठूला व्यावसायिक घरानाहरू रहेको पाइएको छ । ठूला कम्पनीहरूले साना कम्पनी र कानुनी दायरामा रहेर व्यवसाय गरेका कम्पनीको नाममा नक्कली बिल बनाई छली गरेको अनुसन्धानमा भेटिएको छ ।
राष्ट्रिय सूचना आयोगको आदेशअनुसार भ्याट छली गर्ने कम्पनीको नाम र अनुसन्धानको प्रारम्भीक नतिजा अर्थ मन्त्रालले सार्वजनिक गरेको हो । सार्वजनिक महत्वको सूचना गोप्य राख्न नपाइने दाबी गर्दै फ्रिडम फोरमका अध्यक्ष तारानाथ दाहालले गत जेठमा दिएको निवेदनउपर सूचना उपलब्ध गराउनू भन्ने सूचना आयोगको आदेशमार्फत अर्थसचिव कृष्णहरि बाँस्कोटाले प्रतिवेदन आइतबार अध्यक्ष दाहाललाई उपलब्ध गराएका हुन् ।
विभागले झुट्टा एवं नक्कली मूल्यअभिवृद्धि कर विजकबाट भएको कर छली सम्बन्धमा अध्ययन तथा छानबिन प्रतिवदेन गत फागुन २० गते अर्थ मन्त्रालयमा पेस गरेको थियो ।
प्रतिवदेनले भ्याट छली गर्ने कम्पनीहरूमध्ये निर्माण ठेक्का र आपूर्तिसम्बन्धी काम गर्ने व्यवसायीले आयकर घटाउन नक्कली बिल प्रयोग गर्ने गरेको जनाएको छ । राम्रो नाफा कमाउने ठूला आयातकर्ता र बिक्री मूल्य पारदर्शी भएका व्यवसायीले आफ्ना ब्रान्डको स्थानीय खरिद र सेवा खरिदका नाममा यस्ता विजकको प्रयोग गरेको अनुसन्धानका क्रममा पाइएको हो । ठूला उद्योगहरूले पुँजीगत खर्च बढी देखाई भ्याट दाबी गर्न, वित्तीय क्षेत्रबाट बढी ऋण प्रवाह गराई कोषको अन्यत्र प्रयोग गर्न, दीर्घकालसम्म ह्रास खर्च र ब्याज खर्च दाबी गरी कर छली गर्न नक्कली बिल प्रयोग गर्ने गरेको भेटिएको छ । यस्तो छली आर्थिक वर्ष ०६४÷६५ देखि नै हुँदै आएको अनुमान प्रतिवेदनले गरेको छ । भन्सार चोरीपैठारीमा संस्थागत क्षेत्रमा आपूर्ति गर्नुपर्दा, न्यून विजकीकरण गरी आयात भएका वस्तु बजारमूल्यमा आपूर्ति गर्नुपर्दासमेत नक्कली बिलविजक जारी भएको पाइएको छ । ठूला करदाता कार्यालयअन्तर्गत वार्षिक २५ करोडभन्दा बढी कारोबार गर्ने कम्पनीहरूले स्थानीय खरिदमा नक्कली बिलविजकको प्रयोग बढी गरेको पाइएको छ । यसलाई नियोजित छलीको रूपमा प्रतिवेदनमा औंल्याइएको छ ।

ठूला उद्योग र व्यापारिक फर्मले थोक व्यवसायीलाई वस्तु बिक्री गर्दा कुनै नक्कली फर्म खडा गरेर तथा कानुनअनुसार कर तिरिरहेको कम्पनीको समेत बिल प्रयोग गरेर खरिद बिक्री गर्ने र आफ्नो कारोबार नदेखाउने गरेको अनुसन्धानले देखाएको छ । त्यस्ता फर्मले नक्कली विजक लिई कर कट्टी दाबी भने गर्दै आएको पाइएको छ ।

उत्पादनकर्ता, डिस्ट्रिब्युटर्स तथा डिलरले नै थोक तथा खुद्रा बिक्रीमा सक्कली बिलविजक जारी नगर्दा आम उपभोक्ताले खरिदमा सहज रुपमा बिल पाउने अवस्था नरहेको पाइएको प्रतिवेदनमा औंल्याइएको छ ।
नक्कली बिलविजक जारी भएका र प्रयोग गरेका ५१८ कम्पनी तथा फर्ममध्ये विभागले असोज मसान्तसम्म ३६५ कम्पनीको प्रारम्भिक अनुसन्धान पूरा गरेको छ । बाँकी १५३ कम्पनीमध्ये १०५ कम्पनी ठूला करदाताअन्तर्गत रहेका छन् । ३६५ कम्पनीबाट विभागले ३ अर्ब ४५ करोड कर निर्धारण गरेकोमा अहिलेसम्म ७२ करोड असुली भइसकेको छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]