राजमार्ग रेडियो सञ्चालन


YYY
धादिङ, असोज १७- नेपालमै पहिलोपटक राजमार्गका यात्रु, चालक र अन्य सडक प्रयोगकर्ताको चासो र सरोकारका विषय समेटिने गरी सामुदायिक रेडियो राजमार्गको प्रसारण सुरु भएको छ।
सडक र सडकसँग सम्बन्धित विषयवस्तुमा केन्द्रित भएर धादिङको रानीमालाबाट प्रसारण हुने रेडियो राजमार्गले काठमाडौँ र धादिङको सिमाना नागढुङ्गादेखि चितवनको मुग्लिनसम्मको राजमार्गमा यात्रा गर्ने र राजमार्गसँग सम्बन्धित महानुभावलाई सूचना र अभिव्यक्तिको माध्यमबाट रूपान्तरण गर्ने उद्देश्य लिएको छ।

राजमार्गको यात्रामा सूचना र सङ्गीतका लागि रेडियो राजमार्गलाई ९२.१ मेघाहर्जमा सुन्न सकिन्छ। रेडियो राजमार्ग सदैव सडकको सुरक्षा उचित प्रयोग र ट्राफिक व्यवस्थापनमा केन्द्रित रहनेछ।

हामीले सूचना तथा सञ्चार मन्त्रालयको अनुमतिमा अमेरिकाको नटेल कम्पनीको ट्रान्समिटरमार्फत नेपालमै पहिलोपल्ट रेडियो डाटा सिस्टम (आरडिएस) प्रविधिको पनि प्रयोग गरेको रेडियो सञ्चालक राजमार्ग सामुदायिक सञ्चार केन्द्रका अध्यक्ष नारायणचन्द्र सुवेदीले जानकारी दिए।

यो प्रविधिले श्रोताले डिजिटल रेडियो सेटमै रेडियोको नाम पढ्न र छोटो लिखित सन्देशहरू पढ्न पनि सक्ने बताइएको छ।

प्रविधि परीक्षण गरेको रेडियो राजमार्ग हिन्दुहरूको बडादसैँको फूलपातीको दिनदेखि परीक्षण प्रसारणमा आएको सुवेदीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रेस विज्ञप्तिमा राजमार्गको सूचना, शिक्षा र सडक उपयोगको विषयमा नागरिक सवालका विभिन्न पक्षमा सहकार्य गर्ने पनि उल्लेख गरिएको छ। रासस

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]