प्रेममl पर्दा शिक्षाबाट बञ्चित किशोरीका पीडा


YYY
कार्तिक २२ ललितपुर । “‘तिमीलाई नपाए म मर्छु’ यही वाक्य ऊ बारम्बार मेरा सामु दोहो¥याउने गथ्र्यो । आज पनि म उसको त्यही कुरालाई विश्वास गरेकामा पश्चाताप गरिरहेकी छु ।” लेले गाविसमा पर्ने लप्सेकी २२ वर्षीया चन्द्रमाया तामाङले आफ्नो व्यथा यसरी सुनाइन् ।

‘केबल १३ वर्षकी थिएँ । उमेर ठूलै भएपछि विद्यालय जान थालेकीले कक्षा २ मा पढ्दै थिएँ । प्रेम के हो, बिहे के हो ? केही थाहा थिएन । मलाई उसको दाजुले तिमीलाई नपाए मेरो भाइ मर्छु भनेको छ, यदि उसलाई केही भएमा म तिमीलाई पुलिस लगाएर पक्रिन्छु भन्यो’– उनले आफ्नो विगत कोट्याइन् ।

‘साँच्चै पो हो कि जस्तो लाग्यो, निकै डर पनि लाग्यो । घरमा आमाबाबु, दाजुहरू र एक बहिनी थिए । कसैसँग केही कुरा गर्न सकिन । मैले आफुखुसी बिहे गरेँ अर्थात् आमाबाबुको अनुमतिबिना म त्यस केटासँग भागेँ’– एकोहोरिएर उनले भनिन् ।

‘केही समय निकै राम्रोसँग बित्यो, अनि सुरु भयो मेरा दुःखका दिन । सधैँजसो उसले मलाई पिट्ने गथ्र्यो । त्यही कारणले होला मेरो पहिलो गर्भ तुहियो । यसले जति पिटाई त सायद कसैले पनि खाँदैन होला, गाउँलेले पिटेको देखेर यसै भन्थे’– उनी थप्छिन् ।

अहिले उनको साथमा सात वर्षीया छोरी छिन् । आफूले सानोमा पढ्न नपाए पनि आफ्नी छोरीलाई भने धेरै पढाउने उनको इच्छा थियो । तर लोग्नेले अर्की ल्याएपछि उनको त्यो इच्छा पनि अधुरै रह्यो ।

लोग्नेले सौता ल्याएर हेर्न छाडेपछि बोर्डिङमा पढिरहेकी छोरीको पढाइ छुटाउनुपरेको उनी बताउँछिन् । आफ्नी बहिनी कलेजमा पढ्न जाने गरेको देखेर आफूले नपढेकामा उनले साह्रै पछुतो मानिरहेकी छन् ।

हाल उनी आफ्नो माइतीमा बसिरहेकी छन्, छोरीका साथमा । आमाबाबुलाई घर र खेतको काममा सघाउँदै आफ्नो विगतलाई सम्झँदै उनका दिन बितिरहेका छन् । उनीमात्र होइन, उनकी आफ्नै काकाकी छोरी दिदी नानु पनि बेलामा पढ्न नसकेकामा दुःखी छन् ।

पढ्दापढ्दै सानै उमेरमा विवाह गर्न पुगेकी नानुको पनि समस्या उस्तै हो । घरमा तीनवटी आमा रहेकी उनलाई बाबुले सधैँ जाँडरक्सी खाएर झगडा गरेको देख्दा दिक्क लाग्थ्यो ।

उनी भन्छिन्– ‘त्यसै बेला उनी मेरो जीवनमा आएका थिए ।’ गाडीका सहचालक रहेका आफ्नो पतिको बारेमा बताउँदै उनले भनिन्– ‘घर नजिकै रहेको ठाउँमा रोडा कुट्ने काम गर्थें । त्यतिबेला मायाप्रेम भन्ने थाह नभए पनि उनीसँग भागेर विवाह गरेँ । अहिले गाडी चालक बनेका छन् । समयमा पढ्नुपर्छ भन्ने ज्ञान भएको भए सायद म विवाह गर्ने थिइन होला ।’

तर आफ्ना साथीसङ्गी सबै विवाह गरेर जान थालेपछि उनले पनि विवाह गरेकी थिइन् । यस गाउँमा सबैजसो केटीले १६ पनि नपुग्दै विवाह गरेको उनले बताइन् ।


पढाइको महत्व नबुझेकै कारण शिक्षा लिन नपाएको र अन्धकारमय जीवन बिताउनु परिरहेको उनीहरूको अनुभव छ । दुवैजनाको सन्तान छोरी नै भएकाले आफ्नी छोरीलाई धेरै पढाएर शिक्षाको ज्योति दिने प्रतिबद्धता उनीहरूले व्यक्त गरे ।



यस भेगका किशोरीहरू सानै उमेरमा विवाह गर्ने गरेका कारण शिक्षा लिने अवसरबाट वञ्चित हुने गरेको देउराली प्राथमिक विद्यालयका प्रधानाध्यापक ज्ञानबहादुर देशार बताउनुहुन्छ ।

तामाङ वस्ती रहेको यस क्षेत्रमा प्रावि शिक्षा पूरा गर्ने छात्राको सङ्ख्या औँलामा गन्न सकिने मात्र छ । अरूको सिको गर्ने व्यवहारका कारण छात्राहरूले छिट्टै नै विवाह गर्ने गरेको उहाँको ठम्याई छ ।

उहाँ भन्नुहुन्छ– ‘एकजना साथीले विवाह गरेको देख्ने बित्तिकै अर्कोले पनि त्यसैको सिको गरी विवाह गरिहाल्छन् । बिहेको अर्थ पनि थाह नहुने उमेरमा अरूको लहैलहैमा लागेर विवाह गर्ने प्रवृत्ति धेरै छ ।’

यस क्षेत्रमा दुई छात्रामात्र उच्च माध्यमिक तहमा अध्ययन गर्दैछन् । यस भेगका करिब ८० प्रतिशत छात्राले १३÷१४ वर्षकै उमेरमा विवाह गर्दै आइरहेको प्रधानाध्यापक देशार बताउनुहुन्छ ।

कमजोर आर्थिक अवस्था र पारिवारिक झैझगडाका कारण उनीहरूको मानसिकता नै घरबाट टाढा हुनुपर्छ भन्ने भएकाले किशोरीहरू विवाह नै घर त्याग गर्ने सबैभन्दा राम्रो उपाय ठान्दछन् ।

अबको पुस्ताले भने शिक्षालाई महत्व दिने गरेको उहाँले बताउनुभयो । अभिभावकमा पनि आफ्नो सन्तानलाई पढाउनुपर्छ भन्ने चेतना आइसकेकाले सानै उमेरमा बालबालिका विद्यालयमा भर्ना गर्न ल्याउन थालेका छन् ।

सायद अब चन्द्रमाया र नानुलेझैँ अन्य किशोरीले उमेरमै पढ्न नपाउँदा जीवन अन्धकारमा बिताउनुपर्ने छैन। रासस

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]