भट्टराइले भने 'सम्बन्ध विस्तारका लागि मालदिभ्स भ्रमण फलदायी'


YYY
प्रधानमन्त्री डा बाबुराम भट्टराईले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १७ औँ शिखर सम्मेलन क्षेत्रीय सहयोग अभिवृद्धिका लागि फलदायी भएको बताए।
शिखर सम्मेलनमा भाग लिएर आज राति स्वदेश फर्केपछि विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले सार्क मुलुकका सरकार प्रमुख तथा राष्ट्राध्यक्षले सदस्य मुलुकबीचको मतभेद अन्त्य गर्ने तथा आपसमा मैत्री एवम् समझदारी विस्तार, दक्षिण एसियालाई जमिन, जल, सञ्चार, यस क्षेत्रका जनता-जनताबीचको सम्बन्ध प्रवर्द्धन, मालसामानको निर्बाध आवागमनलगायत भौतिकरूपमा सम्पर्क बढाउन सहमत भएको बताए।

प्रधानमन्त्रीले दक्षिण एसियाली मुलुकहरूबीच सहमति, सहकार्य र सहभागिताका निम्ति भौतिक पूर्वाधार निर्माण गर्न आठै मुलुकका सरकार प्रमुख तथा राष्ट्राध्यक्षले सहमति जनाएर सार्कलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको बताए।

दक्षिण एसियाली स्वतन्त्र व्यापार सम्झौता (साफ्टा) को पूर्ण एवम् प्रभावकारी कार्यान्वयनका लागि सार्क मन्त्रिपरिषद्लाई निर्देशन दिइएको, वस्तुको निकासीमा उत्पन्न अवरोध हटाउन र गैर करलगायत सबै अवरोध हटाउन मन्त्रिपरिषद्ले कार्य गर्ने उनले जानकारी दिए।

...व्यापार सहज बनाउन उक्त सम्झौता हाम्रो जस्तो सानो अर्थतन्त्र भएको मुलुकका निम्ति फलदायी हुनेमा हामी विश्वस्त छौँ '- लगानी तथा व्यापार बढाउन साफ्टा सहयोगी सिद्ध हुने आशा व्यक्त गर्दै प्रधानमन्त्रीले भने।

तुलनात्मक लाभको क्षेत्र पर्यटनलाई पनि १७ औँ शिखर सम्मेलनले उच्च प्राथमिकता दिएको उल्लेख गर्दै उनले आगामी वर्ष मालद्विभ्समा नै व्यापार र पर्यटन मेला आयोजना गरिने बताए।

सम्मेलनमा प्राकृतिक विपत्तिका बेला द्रुत उद्धारको व्यवस्थासम्बन्धी सम्झौता बीज बैंक, क्षेत्रीय गुणस्तर कार्यान्वयन तथा क्षेत्रीय मानक सम्झौतामा हस्ताक्षर गरेको जानकारी दिए।

सम्मेलनका क्रममा सातवटै सदस्य मुलुकका सरकार प्रमुख एवम् राष्ट्राध्यक्ष तथा पर्यवेक्षक देशका प्रतिनिधिसँग भएका द्विपक्षीय भेटवार्ता ती मुलुकसँग नेपालको सम्बन्ध प्रवर्द्धनमा फलदायी भएको प्रधानमन्त्रीले उल्लेख गरे।

भूटानी शरणार्थी समस्या समाधानबारे त्यहाँका प्रधानमन्त्रीसँग विचारविमर्श भएको र आगामी मङ्सिरभित्रै द्विपक्षीय बैठक गरेर त्यसलाई टुङ्ग्याउन भूटान सहमत भएको जानकारी प्रधानमन्त्रीले दिए।

श्रीलङ्का र मालद्विभ्ससँग सिधा हवाई सम्पर्क कायम गर्ने, बङ्गलादेशले नेपाललाई मोङ्ला बन्दरगाह उपयोग गर्न दिने, पाकिस्तानसँगको व्यापार बढाउने विषयमा पनि त्यहाँका सरकार प्रमुख एवम् राष्ट्राध्यक्षसँग छलफल भएको उनले बताए।

मालद्विभ्समा पाँच हजार नेपाली रहेका जानकारी दिँदै उनले उक्त मुलुकसँग श्रम सम्झौता गर्ने र राजदूतावास खोल्ने विषयमा पनि कुराकानी भएको उल्लेख गरे।

दक्षिण तथा मध्य एसिया मामिलाका लागि अमेरिकी सहायक विदेशमन्त्री रबर्ट ब्लेकसँगको भेटवार्तामा एकीकृत नेकपा (माओवादी)लाई आतङ्कवादीको सूचीबाट हटाउने प्रक्रिया औपचारिकरुपमा सुरु गरिसकेको जानकारी आफूलाई प्राप्त भएको उनले बताए।

सहायक विदेशमन्त्री ब्लेकले शान्ति र संविधानका निम्ति हालै भएको सातबुँदे सहमतिको मुक्तकण्ठले प्रशंसा गरेको प्रधानमन्त्रीको भनाइ थियो।

सभासद् बालकृष्ण ढुङ्गेललाई माफी दिन सरकारले प्रक्रियागत ढङ्गले राष्ट्रपतिसमक्ष सिफारिस गरेको स्पष्ट गर्दै विशिष्ट अवस्थामा भएको निर्णयलाई आलोचना गर्नु सान्दर्भिक नहुने तर्क गर्नुभयो।

'शान्ति सम्झौताअनुसार द्वन्द्वकालका मुद्दा फिर्ता लिने सहमति भएको थियो, त्यसैअनुसार सभासद् ढुङ्गेललाई आम माफीका लागि सिफारिस भएको हो, प्रतिपक्षीले असहमति जनाउनु, सुझाव दिनु र आलोचना गर्नु बहुदलमा स्वभाविक हो '-सत्य निरुपण र मेलमिलाप गर्ने वर्तमान सरकारको चाहना दोहोर्‍याउँदै प्रधानमन्त्रीले भने।

प्रधानमन्त्रीको स्वागतका लागि विमानस्थलमा सभामुख, उपप्रधान एवम् गृहमन्त्री, मन्त्रीगण, संवैधानिक प्रमुखलगायतको उपस्थिति थियो।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]