बिप्पाको असर गाईभैंसीमा समेत, भारतबाट गाईभैंसी ल्याउने प्रस्ताव अलपत्र


YYY
२१ कात्तिक, काठमाडौं । प्रधानमन्त्री डा. बाबुराम भट्टराईको भारत भ्रमणको सिलसिलामा गाईभैंसी आयातको कुरा पनि उठ्ने भनेर निकै हल्लीखल्ली भयो ।


तर प्रधानमन्त्रीसहित नेपाली टोली भ्रमणबाट फर्किएपछि यो चर्चा त्यसै सेलायो । भारतसित भएको बिप्पा सम्झौताले बहस र विवाद उब्जाएसँगै गाईभैंसी आयातको कुरा पनि ओझेलमा पर्यो । भारतसित १० हजार गाईभैंसी आयातको कुरा भ्रमणको बेला भयो कि भएन भनेर स्पष्ट जवाफ कसैले दिएको छैन । ‘पहिले चर्चा त थियो, तर प्रधानमन्त्रीले भेटघाटको क्रममा यस्तो प्रस्ताव गर्नुभएको थाहा भएन’ योजना आयोगका उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले भन्नुभयो । कृषि मन्त्रालयका प्रवक्ता हरि दाहाल भने यस्तो प्रस्ताव नै तयार नभएको बताउनुहुन्छ । ‘गाईभैंसी आयातबारे मन्त्रालयले कुनै गृहकार्य नै गरेको थिएन’ दाहालले दावी गर्नुभयो -’भारतबाट १० हजार गाईभैंसी ल्याउने भन्ने कुरा हल्ला मात्र हो ।’

प्रवक्ताको भनाई झुटो

कृषि प्रवक्ताले गृहकार्य नभएको दाबी गरेपनि भारत जानुअघि गाईभैंसी आयात गर्ने तयारी तीव्र भएको थियो । भारतसित गरिने प्रस्ताव तयार पार्न कृषि मन्त्रालयले एउटा कार्यदल नै बनायो । कार्यदलले झण्डै एक हप्ता गृहकार्य गरेर प्रस्ताव तयार पारेर प्रवक्ता दाहाललाई बुझाएको थियो । ‘प्रवक्ताले किन झुटो बोल्नुभयो थाहा छैन’ कार्यदलका एक सदस्यले भने -’गाईभैंसी आयातको लागि हामीले प्रस्ताव तयार पारेर उहाँकै हातमा बुझाएका हौं ।’ प्रवक्ता दाहालको हातबाट प्रधानमन्त्रीकहाँ नपुगेको या प्रधानमन्त्रीले नै भारतमा प्रस्ताव नगरेको हुन सक्ने स्रोतको भनाई छ । ‘बिप्पा लगायतका ठूला विषयले गाईभैंसी आयात सम्बन्धी विषय ओझेलमा परेको हुन सक्छ’ कार्यदलका ती सदस्यले भने । भारतबाट १० हजार गाईभैंसी ल्याउन सकिएमा दूध अभावको समस्या तत्कालको लागि समाधान हुने भएकाले यसलाई प्राथमिकता दिइएको थियो । भारतले गाईभैंसी निर्यातमा प्रतिबन्ध लगाएकाले नेपालमा दूधको अभाव बढेको छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]