उपत्यकामा ६ हजार फ्ल्याट, मोल १३ लाखदेखि २ करोडसम्म


YYY



व्यवस्थित बसोबास चाहनेका लागि हाउजिङ कम्पनीका उपत्यकामा मात्रै ६ हजार फ्ल्याट आएका छन्। सहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय काठमाडौंबाट हालसम्म उपत्यकाका तीन जिल्लामा ५८ कम्पनीले ४ हजार ९ सय ३९ संयुक्त आवास फ्ल्याट (अपार्टमेन्ट) बनाउने अनुमति पाएका छन्।

हाउजिङ कम्पनीले भने ६ हजार निर्माण गरिरहेको बताएका छन्। केहीले स्वीकृति नलिई बनाइरहेकाले वास्तविक संख्या बढी छ। मध्यमवर्गका उपभोक्ता र उच्चवर्गलाई लक्ष्य गरेर काठमाडौँ लगायत देशका विभिन्न सहरमा अपार्टमेन्ट निर्माण गरिरहेको कम्पनीले जनाएका छन् । निर्माण भइरहेको अपार्टमेन्ट १३ लाखदेखि २ करोडसम्मका छन्।

विदेशमा निकैअघि चलनमा आएको फ्ल्याट किनबेच नेपालका लागि नयाँ अवधारणा हो। आफूले बनाउन झन्झट नहुने, सुरक्षा, पानी विद्युत सहज र आकर्षक डिजाइन हुने भएकाले पेशाकर्मीहरु यस्ता फ्ल्याटप्रति आकर्षित भएका छन्। बैंक तथा वित्तीय संस्थावाट ऋण लिएर कित्ता बन्दीमा किन्न पाउने भएकाले पनि पेसाकर्मीहरु यस्ता फ्ल्याटप्रति आकर्षित भएका हुन्।

‘स्वीकृति लिने चरणमा रहेकाको संख्या पनि उल्लेख्य छ,’ डिभिजन कार्यालयका प्रमुख शम्भु केसीले भने। उपत्यकाभित्र अपार्टमेन्ट बनाउने कम्पनीको संख्या धेरै भए पनि सबैले अहिलेसम्म स्वीकृति पाइसकेका छैनन्। वातावरणीय प्रभाव मूल्यांकन (इआइए) भइनसकेकाले धेरैले स्वीकृति पाउन बाँकी रहेको केसीले बताए। ‘हामीले इआइए प्रतिवेदन बिना कसैलाई पनि अनुमति दिँदैनौं,’ उनले भने, ‘यसले गर्दा धेरैको अनुमति रोकिएको छ।’

नेपाल जग्गा तथा आवास विकास संघका सचिव भेषराज लोहनीका अनुसार उपत्यकामा अहिले झन्डै ६ हजार युनिट अपार्टमेन्ट निर्माणाधीन छन्। वातावरण मन्त्रालयबाट वातावरणीय परीक्षण गर्न ढिलाइ हुने गरेकाले सबैले स्वीकृति भने पाइसकेका छैनन्। संयुक्त आवासको स्वामित्वसम्बन्धी ऐनअनुसार यस्ता अपार्टमेन्ट निर्माण गर्नुपूर्व नगर विकास समिति, स्थानीय निकाय, डिभिजन कार्यालयबाट स्वीकृति लिनुका साथै इआइए गराउनुपर्छ। यो प्रक्रिया पूरा गर्न ६ महिनादेखि १ वर्षसम्म लाग्छ। अनुमति प्रक्रिया लामो भएको भन्दै डिभिजनको स्वीकृतिबिनै निर्माण गरिरहेका १९ वटा कम्पनीको कार्यालयले केही समयअघि निर्माण रोक्का गरेको थियो। उनीहरुले स्वीकृतिका लागि प्रक्रिया सुरु गरेपछि भने निर्माण गर्न दिएको छ।

डिभिजन कार्यालयबाट स्वीकृति लिनेमध्ये सबैभन्दा ठूलो कम्पनी सांग्रिला हाउजिङ हो। सांग्रिलाले राजधानीको गोठाटारमा बनाउन लागेको सनसिटी पहिलो चरणमा ६ सयवटा युनिट र दोस्रो चरणमा ३ सय ६४ वटा युनिट निर्माण गर्ने स्वीकृति पाएको छ।
पछिल्लो समयमा घरजग्गा कारोबारमा देखिएको मन्दीका कारण यस वर्ष भने कार्यालयबाट स्वीकृति लिने कम्पनीको संख्या घटेको छ। गत वैशाखदेखि हालसम्म कार्यालयबाट चारवटा कम्पनीले स्वीकृति लिएका छन्। गत वर्षको यस अवधिमा भने ७ वटा कम्पनीले स्वीकृति लिएका थिए। केसीका अनुसार पहिलेदेखि नै प्रक्रियामा रहेका कम्पनीले मात्र यस वर्ष स्वीकृति लिएका हुन्। नयाँ कम्पनी भने दर्ताका लागि आएका छैनन्।

डिभिजनको स्वीकृति नलिइकनै निर्माण सुरु गरेका र बुकिङ खुला गरेका कम्पनीबाट ग्राहक ठगिन सक्ने सम्भावना रहेको केसीले बताए। उनले घरजग्गा व्यवसायीलाई दिएको ऋण उठ्न समस्या भएपछि केही बैंकर्सहरुले आफूले लगानी गरेको कम्पनीले स्वीकृति लिए नलिएको बुझ्न आएको बताए। ‘यसले वित्तीय संस्थाले लगानी गर्दा सचेत हुनुपर्ने देखाएको छ,’ उनले भने।
एक गैर सरकारी संस्थाले गरेको अध्ययन अनुसार राजधानीमा वार्षिक ४० हजार युनिट अपार्टमेन्टको आवश्यकता पर्छ। तर, हाउजिङ कम्पनीले अहिले निर्माण गरिरहेका घर र अपार्टमेन्टले मागको करिब ६ प्रतिशतमात्र पूर्ति गरिरहेका छन्।

गत वर्ष राजधानीका पाँच नगरपालिकाबाट १२ हजार ८ सय घरका लागि स्वीकृति लिइएको थियो। यसरी स्वीकृति नलिने र नगरपालिका क्षेत्र बाहिर निर्माण भएका घरको संख्या पनि यत्तिकै रहेको अनुमान छ। संघका अनुसार उपत्यकामा वार्षिक २५ हजार घर निर्माण हुने गर्छन्। संघको तथ्यांकअनुसार हाल उपत्यकाका तीन जिल्लामा ८९ कम्पनीले करिब ६ हजार अपार्टमेन्ट र ३८ वटा कम्पनी हाउजिङ कोलोनीमा करिब १ हजार ८ सय घर निर्माण गरिरहेका छन्। यसमध्ये केहीको भने निर्माण सम्पन्न भई ग्राहकलाई हस्तान्तरणसमेत भइसकेको छ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]