भेटवार्ता - सुनिल सङ्गम I


YYY


प्रवासमा बसेर निरन्तर साहित्य साधना र सेवामा समर्पित श्रष्टा सुनिल सङ्गम अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज पोर्तुगल च्याप्टरका अध्यक्ष हुनुहुन्छ । हालसालै उहाँको "थोपा थोपा" नामक गीति संग्रह पनि प्रकाशनमा आएको छ । मिठा र मन छुने गीतहरु सिर्जना गर्ने गीतकारका रुपमा परिचित उनै सर्जकलाइ आज हामीले साहित्यसंसारको भेटवार्तामा निम्ता गरेका छौं । प्रस्तुत छ साहित्यसंसारका कृष्णपक्षसंग भएको उहाँको छोटो भेटवार्ता ।

सर्वप्रथम पोर्तुगलको अनेसास च्याप्टरको नेतृत्व सम्हाल्नु भएकोमा हार्दिक बधाई छ,
धन्यवाद कृष्ण जी यहालाई पनि

१) अहिले कहाँ के गर्दै हुनुहुन्छ ? साहित्य सिर्जनालाई कसरी अगाडी बढाउदै हुनु हुन्छ ?


- अहिले म पोर्तुगलमा छु र यहाँ अरु नेपालीहरु जस्तै म पनि संघर्ष गर्दै छु | म जहाँ रहे पनि सृजनाकै क्रममा छु धेरै समयको अन्तराल पछि बिभिन्न बाधा-ब्यावधानको बाबजुद पनि हामीले पोर्तुगलमा अंतर्राष्ट्रिय नेपाली साहित्य समाजको च्याप्टर गठन गरेका छौ आउंदा दिनहरुमा संगठित भएर बिभिन्न योजना सहित बिभिन्न कार्यक्रमहरु गर्दै नेपाली भाषा र साहित्यको लागि अगाड़ी बढ्ने छौं

२) पोर्तुगलको साहित्यिक माहौल कस्तो छ ? पोर्तुगलवासी नेपालीहरुमा साहित्यप्रतिको अभिरुची कस्तो पाउनु भयो ?
- पोर्तुगलको साहित्यिक माहौल अलि फरक रुपमा पाएँ मैले तर अब सक्रियताका साथ अगाडी बढ्छ भन्ने बिश्वास छ | यहाँका साथीहरुमा रूचि नै नभएको पनि होइन, एकदमै रूचि भएका र लागि पर्ने साथिहरु पनि हुनुहुन्छ भने कोही पदलुप्त, साहित्यभित्र पनि राजनीति गर्ने , आफ्नो औकात बिर्सिने, असहयोग गर्ने र मुख्ले एउटा काम र मनले अर्को गर्ने प्रवृतिको भेटियो र त्यही हुलमा सच्चा , असली,लगनशील साहित्यिक ब्यक्तित्वहरुको पहिचान गरेर मात्र अगाडी बढ्ने सोचको कारण नै अनेसास पोर्तुगल गठनमा ढिलो भएको हो |

३) अनेसाससँगको यहाँको आबद्धता र इजरायलको अनुभव कस्तो रह्यो ?
- अनेसासमा मेरो आबद्धताको कुरा गर्दा अनेसास इजरायलको स्थापनालाई कहिले भुल्न सक्दिन | त्यही स्थापनाले केन्द्रीय प्रकाशन अंतरदृष्टिको संपादक र अन्तराष्ट्रिय साहित्यमा घुलमिल हुने मौका पाएँ | तपाईंहरु सँगै हुदाका साहित्यिक क्षणहरुमा मेरो सृजनाहरुले अझ फक्रिने मौक़ा पायो भने संस्थागत रुपमा मलाई अझै अनुभवी र परिपक्व बनायो | अहिले अनेसास इजरायलको गतिबिधि र साथीहरुको रचनाहरू पढ्न पाउँदा एकदम ख़ुशी लाग्छ |

४) पोर्तुगलमा अब साहित्यिक गतिबिधि कसरी अगाडी बढ्नेछ ? आगामी योजना हरु के के छन ?
- भरखर सुरु भएको छ | हामी योजनाहरू बनाउदै छौ | बिना स्वार्थ, बिना राजनिती नेपाली भाषा साहित्यमा लागिपरेका छौं | द्धैमासिक साहित्यिक कार्यक्रमहरु गर्ने छौं | साहित्यिक  गोष्ठी, जयन्ती, प्रतियोगिता, कार्यशाला, सम्मान, पुरस्कार, प्रकाशन र सहयोग जस्ता कार्यक्रमहरु नेपाली भाषा र साहित्यको हितको निम्ति निरन्तर गरिने छ |

५) भर्खर यहाँको गीति संग्रह 'थोपा थोपा' प्रकाशित भयो ? यसमा कस्ता खाले गीतहरु समेटिएका छन ?
- मलाई जहाँ जहिले जसरी जुन बिषयले प्रभाब पार्यो , मैले त्यही बिषय बस्तुहरु माथि शब्दहरु उतारें | मैले मेरा गीतहरुमा धेरै थरिका जीवनहरु लेखेको छु | मान्छेको जीवनलाई प्रेमले गहिरो प्रभाब पार्दो रहेछ मैले त्यही प्रेमका गीतहरु लेखें |त्यस्तै प्रेममा प्रेमिहरू पागल पनि बन्दा रहेछन मैले तिनै प्रेमिहरू लेखें | त्यागी , दयालु र मायालुहरू लेखें जालिझेलीहरू र निष्ठुरीहरु पनि लेखें | कतै छांया लेखें कतै माया लेखें | कतै माटो लेखें कतै बाटो लेखें | देश लेखें भेष पनि लेखें अनि सुन्दर प्रकृति पनि लेखें,  हो यिनै गीतहरु थोपा-थोपा भित्र समेटिएका छन |

६) संग्रहको शिर्षक "थोपा थोपा" चाहि किन राख्नु भयो ? कुनै विशेष कारण ?
- थोपा- थोपा रगतमा तिम्रै माया सल्बलाउंछ
 तिम्रो छोरो हेर आमा ममताको गीतगाउंछ
                     आमा प्रति समर्पित अति नै मार्मिक ममतामयी यो गीत नै आफ्नो जन्मदिने स्वर्गीय आमा प्रति समर्पण गरेको छु | बास्तबमा यो गीत निकै कर्णप्रिय पनि बनेको छ |

७) यहाँका धेरै गीतहरु रेकर्ड भएका छन, साहित्य लेखनको मुख्य विधाको रुपमा गीतलाइ नै रोज्नुको कारण के हो ?
- सानै देखि गीत संगीत सुन्ने र संगीतको केही ज्ञान भएको कारण पनि हुन सक्छ गीतमा जति सन्तुष्टि मलाई अरु बिधामा हुदैन तसर्थ कहिलेकाहीं संगीत गर्छु र गाउंछु पनि

८) विशेषत यहाँ गीतकार भनेर नै परिचित हुनुहुन्छ, यद्यपि मैलेचाहि शुरुमा "नेपाल चौतारी" मा छापिएको बहुचर्चित कथा "मेरो स्वास्नी र जुंगे" बाट तपाईलाई चिनेको हुँ । आफूचाहि तपाइँ के भन्न रुचाउनु हुन्छ ? गीत बाहेक अन्य विधामा यहाँको लेखन कस्तो हुदैछ ?
-लेख्न त म साहित्यको अन्य बिधा नि लेख्छु इजरायल रहँदा थुप्रै कथाहरु र अन्य लेखहरु पनि प्रकाशित भयो तर गीतबाट अर्थात गीतकार भनेरै श्रोताहरु तथा पाठकहरुले चिन्ने गरेकाले र मेरो सफलता गीतमा नै भएको कारण म आफुलाई गीतकार नै भन्न रुचाउछु | तर पनि गजल संग्रह "गल्ली चोक" र कथा संग्रह "मारिलो" प्रकाशनको तयारी गर्दै छु |

९) प्रवासी नेपाली साहित्यको स्थिति कस्तो पाउनु भएको छ ?
- प्रबासी नेपाली साहित्यको स्थिती एकदमै राम्रो छ एकातिर घर-परिवार र देशबाट टाढा रहदाका सृजनाहरु गतिला हुन्छन् भने प्रकाशन गर्ने पैसाको पनि कमाईले गर्दा सजिलो पर्ने अनि प्रबासको थोरै फुर्सदमा पनि आफ्नो भाषा साहित्यको लागि धेरै जोश-जांगर सृजना हुने साथै इलोक्ट्रोनिक मिडिया र माध्यमले संसार नै सानो र छिटो बनेको अन्तराष्ट्रिय सन्जालले गर्दा पनि स्थिति राम्रो बन्दै गएको छ |

१०) फुर्सदमा के गर्न रुचाउनु हुन्छ तपाईं ?
- समाचारहरु पढ्न ,गीत सुन्न, खाना पकाउन र परिवारसंग घूमघाम गर्न मन लाग्छ |

११) आफ्नै गीत सुनेर कहिले रुनु भएको छ ? त्यस्तो धेरै भावुक बनाउने कुनै विशेष गीत छ कि ?
- थोपा-थोपा गीत सुन्दा आमा सम्झिन्छु भावुक हुन्छु कहिलेकाहीं सम्हालिन गाह्रो हुन्छ |

१२) गीत कस्तो हुनु पर्छ ? लय वा भाव कुन बढी महत्वपूर्ण ठान्नु हुन्छ ?
- गीत सरल, भावमय, लयात्मक,चुटुक्क अनुप्राश मिलेको मन छुने खालको हुनु पर्छ | गीतमा मात्र होइन हरेक बिधामा भाव नै महत्त्वपूर्ण हुन्छ तर गीतमा भावसंगै लय पनि महत्त्वपूर्ण हुन्छ भने अनुप्रासलाई पनि महत्त्व दिन्छु म |

१३) प्राविधिक पक्ष या संरचना बाहेक गज़ल र गीतमा खास भिन्नता के हो ?
- गीत अलिकति सरल हुन्छ र स्थायीको भावमा बाधिएको हुन्छ भने गायकीमा बिशेष भिन्नता हुन्छ |

१४) कुन गीतकारबाट बढी प्रभावित हुनु हुन्छ ? मनपर्ने गीतकारको नाम लिनु पर्दा ?
- हरिभक्त कटुवाल ,रत्नशमशेर थापा ,गोपाल योन्जन र कालीप्रशाद रिजलका गीतहरु औधी मन पर्छ | मेरा अदृश्य गुरुहरू पनि उहाँहरु नै हुन |

१५)प्रेमको बिषयमा केन्द्रित भएर धेरै रचनाहरु गरि सक्नु भएको छ, तपाईलाई चाहि के हो जस्तो लाग्छ प्रेम ?
- प्रेम त मान्छेले आत्मा भित्र देखि गरिने अनुभूति हो |

१६)अनि जीवन चाहि के हो नि ?
- जीवन अनुभव हो जहाँ हरेक कुराको अनुभब हुन्छ |

१७)फेसबुक कत्तिको चलाउनु हुन्छ ? फेसबुकमा फस्टाउँदै गएको साहित्य संस्कृतिलाई कसरी हेर्नु भएको छ ?
- दिनको १ पटक भ्याए सम्म बस्छु । फेसबुकले हामी जस्ता लेख्नेहरुका लागि सहज रुपमा भावनाहरु आदान-प्रदान गर्ने थलो बनाइदिएको छ भने रचनाहरु चोरी हुने डर पनि उत्तिकै छ । यदि कसैलाई कसैको रचना मन पर्छ भने सकेसम्म अनुमति लिएर नाम सहित राखिदिदा राम्रो हुने थियो |

१८)नेपाली साहित्य अहिले कता जादैछ जस्तो लाग्छ ?
- नेपाली साहित्यको स्थिति अहिले राम्रो छ | लेख्ने साथीहरु धेरै निस्किएका छन | नयाँ नयाँ प्रयोग पनि भैरहेकै छ । मीडियाले बिश्व नै सानो बनाइदिएको स्थितिमा झन आधुनिक र सहज रुपमा नयाँ प्रबिधि र नयाँ युगमा प्रवेश  गरी अगाडी बढ्दैछ भने हामी लेख्ने साथीहरुले पनि पाठकहरुको रुचिलाई ध्यानमा राखेर समय अनुसारको बिषय बस्तु छनोट गरी संख्यामा भन्दा गुणस्तरमा ध्यान पुर्याउन जरुरी छ |

१९)देशको राजनीतिक अवस्था प्रति कत्तिको चासो राख्नु हुन्छ, कसरी हेर्नु हुन्छ नेपालको राजनीनैतिक स्थितिलाइ ?
- नेपाली भएको नाताले पक्कै पनि आफ्नो देशको राजनीति प्रति चासो छ र चिन्ता लाग्छ नेताहरूले देश बिगारे, अहिलेको राजनीतिक स्थिती एकदमै जटिल र अन्योलको स्थिती छ कुनै साधारण नागारिकले केही भन्न सक्ने स्थिती छैन तर हामी आशा गरौं शान्ति प्रक्रिया चाडै निश्कर्समा पुग्नेछ | संबिधान जारी हुनेछ | देशमा शान्ति, शुसाशन र भष्टाचारमुक्त कानूनी राज्यको स्थापना हुने छ |

२०)अन्त्यमा मैले सोध्न भुलेका र यहाँलाई भन्न मन परेका केही छन भने साहित्यसंसारका पाठकहरुलाई भन्न सक्नुहुन्छ ।
- मेरो पुस्तक थोपा-थोपा पढिदिनु होला तारीफ मात्र होइन कमी-कमजोरी पनि औल्याइदिनु होला सल्लाह सुझावको लागि sangamtime@yahoo.com मा पत्राचार गर्नु होला । मेरो लागि स्थान दिनु भएकोमा साहित्यसंसार डट कम परिवार लगायत बिशेष कृष्णपक्षजी यहाँलाई धेरै-धेरै धन्यबाद दिन चाहन्छु । साथै देश-बिदेशमा रहनु हुने संपूर्ण साहित्यिक ब्याक्तित्त्वहरु, साहित्यप्रेमीहरु ,मेरा मित्रहरु र शुभ-चिन्तकहरुमा शुभ-दीपावलीको मंगलमय हार्दिक शुभ -कामना |


प्रस्तुति - कृष्णपक्ष 




भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]