कथा-- निला जीवित फर्की


YYY

कथा-- निला जीवित फर्की
दीप्स शाह
deepssanu@gmail.com
इजरायलिहरु भेट्हुँदा, बिदा हुँदा अङालो मारेझैँ गरेर गाला जोर्दै चुप्पा गर्दारहेछन् एकअर्कासँग। उनिहरुको यस्तो संस्कारले छक्क मात्र परिन निला सुरुसुरुमा उकुसमुकुस समेत भई। घरको चौपट आर्थिक अवस्था र नबिन(उसको श्रीमान) को भाँचिएको गोडाले निम्त्याएको बेरोजगारीले गर्दा आहत भएर इजरायल उडेकी रहिछे निला सन् २००८ मा। मायालु लोग्ने र दुई लालाबाला छोडेर इजरायल उडेदेखी निलाको आँखा कैयौँ रात बन्द भएनन् त महिनौँ ओभाएनन् पनि। तर बानी शायद निरन्तरताको उपज होला। बिस्तारै अभ्यस्त हुँदै जान थालेकी निलालाई इजरायली हरुको यो अन्ङालो मार्दै गाला जोर्ने परम्पराको भूतले कस्तो घाँटी उँट्ठ्याए झैँ हुन्थ्यो। नेपालमा विवाहित महिलाले त्यस्प्रकारको स्पर्श भनेको लोग्ने बाटमात्रै अनुभब गर्नेहो। उमेर सङ्गै बाबा, दाजुभाइहरु पनि स्पर्शित अनुभब र सामिप्यबाट बिस्तारै अलग्गिँदै सूदूर लाग्ने संस्कार बाट आएको निलाले सुरुसुरुको त्यो अङ्गाले परम्पराबाट आजित भएर नबिनलाई पनि सुनाएकी थीई। निला भन्दा एक लेभल माथिको शिक्षा आर्जन गरेको नबिनले निर्धक्क भनेको थ्यो," ह्या! निला! तिमी कती ट्रडिस्नल थिन्किङ राख्छौ! त्यस्तो सामान्य कुरामा के नानाभाँती सोचेको त!" नबिनलाई नै पच्छ भने आ होस् न त! भनेर उसले आफुले स्याहार्ने इजरायली बुढीआमैका सन्तान कसैसँग पनि त्यो गाला जोर्ने र अन्ङालोमार्ने कुरामा आपत्ति जनाइन। अझै भनुँ बिस्तारै बानी पार्दै गई।
घर छोड्नुको पीडा कम गर्न कहिले ठुलो स्वरमा टिभी खोल्थी त कहिले इजरायली बुढीको नङ काट्दै , कपाल कोर्दै एक्लै मुस्कुराउन खोज्थी। एक एक दिन गन्दै क्यालेन्डर पल्टाउँथी। इजरायली तलबी सिस्टम अनुसार प्र्त्यक अङ्रेजी महिनाको १० तारिखमा तलब पाएको रात झनै सुत्त्दिनथी। हतार हतार बुढीआमैलाई खुवाइपियाइ गरी बिस्तारामा लडाईंदिएर आफ्नो बिस्तारामा थपक्क बस्थी र सय डलरको आठओटा नोट पल्टाइपल्टाइ हेर्थी र फेरी गन्थी अनी फेरी गन्थी। अनी सिरानीबाट नबिन र बच्चाहरुको फोटो निकालेर एक्लै वार्ता गर्न थालथी। "नबिन! आज तलब पाएँ नि। अब शनिबार तेलअभिब गएर ट्रान्स्फर गर्छु। हेर यही पैसाको लागि म यहाँ आएँ। हामी छुट्टीयौँ तर यही पैसा हात परेको दिन म कत्ती खुशी हुन सक्दिन। तिमीसङ्ग अलग्गिएर महिनाभरी यो बुढीको गु सोरेर कमाएको यो ८ पत्ता सयडलरको नोट ले तिम्रो सामिप्यता, तिमीप्रतिको प्यास बुझाउन नसक्दो रहेछ नबिन! म त यही ६ महिनामै कायल भैसकेँ ! आई मिसिङ्ग यु!" भन्दै हातको डलरको बिटो एकातिर पन्छाएर नबिनको फोटो भिजुन्जेल क्वाँ क्वाँ रुन्थी। खल्तिबाट मोबाइल निकालेर मिस कल दिन्थी। फोन पनि कती गर्नु एउटा कलिङ्ग कार्ड किन्यो ५० सेकेल जान्छ ,भनेको लग्भग नेपाली १००० रुपैयाँ । कार्ड किनेपछी सक्सक लागेर चुस्चुस कल गर्दागर्दै एकैदिनमा सकिन्छ। उफ्फ! एकहजार एकैदिनमा फोन गरेर सक्नु! त्यतिले त दुइटै बच्चाको एक महिनाको स्कुल फी तिर्न पुग्छ भन्दै कुँडिन्थी ।
बिस्तारै बानी पर्दै गयो । भनुँ पार्दै गई। भित्र भने हार्दिकताको ह पनि नहुने जस्ता लाग्ने यि इजरायलीहरु बाहिर भने कस्तो लोलोपोतो माया गर्छन्\। देखेर निला वाक्क हुन्थी। साँच्चै भनुँ भने घोर इर्श्या गर्थी। आफ्नोभने उता आफ्नै लोग्नेको हात समेत समातेर कहिल्यै बाटाघाटामा हिँद्न पाएको होइन। एसो कहिले कतै जान पर्यो भने घर बाट सङ्गै निस्केपनी दुइपाइला हिँडेपछी नबिन अगाडिअगाडी लम्किहाल्थ्यो र निला भने पछीपछी हराएको बाख्रो खोज्न निस्केको गोठाल्निजस्तो स्याँस्याँफ्याँफ्याँ गर्दै बुर्कुस्सिन पर्थ्यो । उसोत निलालाई हात समातेरै नभएपनी सङ्गैसङ्गै हिँड्न रहर कती हुन्थ्यो कती। तर समाज नै उस्तो होला र त खोइ लाज शरम केले के ले रोक्थ्यो त्यसो हुन र जहिल्यै सरदर ५ हातको दुरी नघटाइ बाटो नाप्थे। तर यहाँ लाज नभाका पात्तर हरु! चौबाटोमै उभिएर चुप्पाचुप्पी गर्छन्\ लौ! गालीगरे जस्तो गर्दै इर्श्याको आगो ओकल्थी र आफ्नो प्यारो, इमान्दार मायालु नबिनलाई सम्झिँदै आँखा भिजाउँथी। । अली अन्तरमुखी भएरै होला निलाका उस्तो धेरै साथीसङी पनि थिएनन्। उसकै घर पल्लोपट्टी दात्ती बाजे(कट्टर धार्मिक बाजे स्याहार्ने एउटी अधबैंसे रोमानियन आइमाइ सँग उसको मैत्री जम्न पुग्यो। तर निकै समय सम्म एकोहोरो। कस्तो कि रोमानियन आइमाइ 'सुलिना' भने हित्तचित्तको कुरो पनि गर्थिन् निलासँग तर निला भने उही सामान्य दैनिकी हलुका गन्थन गर्थी तर अन्तरंग कुरो खोल्दिनथी।
यस्तैमा आक्कलझुक्कल साथीहरुसँग कुराहुँदा कतिले यतै ब्वाइफ्रेण्ड गर्ल्फ्रेण्ड ब्यबस्था गरेका। कतिका इन्टर्नेट लभ पर्दैगरेको, कतिले आफ्ना लोग्ने श्वासनेलाई यतै झिकाउन लागेका कुरा सुन्दासुन्दा एकदिन बिचार गरी र नबिनलाई फोन लगाइ। अलिकती पैसो जम्मा गरेर अलिअली रिण अरु थपेर नबिनलाई पनि इजरायल झिकाउने, बच्चाहरुलाई मावलामा छोड्दिने, दुबै जोइपोइ मिलेर छिट्टो पैसो कमाउने र नेपाल फर्किएर हाइसोखको जीवन जिउने कल्पना, सपना र योजनाको बेलिबिस्तार निलाको मुखबाट सुनेपछी नबिनले लामो मौनता तोड्दै बिचार गरौँन त भनेको थियो। उसोत बाइक एक्सिडेण्ट मा भाँचिएको गोडा पनि अब त चल्ने भइसकेका थिए। समानता र स्व-हकका जती भाषाण सुने र छाँटेपनी यथार्थ जिन्दगीमा नबिन नेपाली समाजको लोग्ने मान्छे थियो। आफ्नो अशक्तता र श्वासनिको कमाइमा बाँच्नुपरेको पीडाले उसलाई भित्रभित्रै गलाइरहेको थियो। काम सुरु नै गरेपनी निलाको तुलनामा उसको कमाइ निकै कम्ती नै हुने पक्का थियो। मुखले केही ब्यक्त नगरेपनी उसलाई श्वासनी भन्दा आफु तल परेको हिनताबोधले खाइरहेको थियो। त्यसैले रातभरी दलिन गनेपछी भोलिपल्टै निलालाई फोन गरेर आफु तैयार रहेको जानकारी दिलायो। निला खुशी र बिस्मातको भुमरीमा एकैपटक उचालिएर पछारिन पुगेकी थिई नबिनको जवाफ सुनेर। जोइपोइ मिलेर छिट्टै पैसो कमाउन सकिने, इजरायली जोडीझैँ कुमा जोडेर भुमध्य सागरको पानी निल्याल्ने कल्पनागर्दा खुशीको सगरमाथा टेक्थी त बाबु आमाले दुबैले पैसाका लागि छोड्नुपरेको अभागी बच्चासम्झिँदा यसो नगरुँ भन्दै आँखाको कोश पुच्छ्थी। आखिर उसले यो सब छिट्टै नै यो बनबास टुङ्याउनको लागि गर्दै थिई। नबिनको हिनताग्रस्त मनोबिज्ञानसँग त ऊ पूर्णत: बेखबर थिई। आखिर खबर होस् पनि कसरी ! त्यही लोग्ने जो बि यड पास गरेको छ। त्यही लोग्ने हो क्याम्पसे राजनीतिमा नारिहकहितको आवाज गुन्जाउँदै हिँड्थ्यो र कहीँ न कहीं नबिनको त्यही उदारपन्थी सोच र फराकिलो बैचारिक दायरा देखेर नै उसले नबिनसङ्गको बैबाहिक यात्रालाई शहर्ष स्विकारेकी थिई। त्यही माथि अभाबको लडाईं सँग जुध्धै कत्रो विश्वाश गरेर आफुलाई बैदेशिक रोजगारमा जाने चाँजोपाँजो मिलाएको थियो नबिनले नै! यस्तो उदार, यती आधुनिक बिचार राख्ने समसोची लोग्नेले श्वासनिको कमाइ र लोग्नेको कमाइ भनेर साँध्सिमाना लगाउला भन्ने उसले सोचोस् पनि कसरी! नित्तान्त पैसाकै निम्ती दुई लालाबालालाई चटक्कै बाउआमाले नै छोड्न मनले नमानेपनी कुन्निकहाँनिर आभाबले ममतालाई ओभरटेक गरिसकेछ। सल्लाह अनुरुप नबिन निला गएकै म्यानपावरको दैलो चिहाउन पुग्यो । लाग्नेजती पैसा निला ले अनी इजरायलबाट साथीसङ्गीहरुसङ रिन सापट गरेर पठाउने भई। अब मन निचरेर निर्णय नै गरिसकेपछी ढुक्कले नबिनको भिसा लाग्ने दिन गन्न थाली। कम्सेकम लोग्नेको सामिप्यता त पाइनेभयो। एक्लै ४ बर्ष दु:ख गर्नुको साटो दुइजना मिलेर दुई बर्ष मै गर्यो अनी मजाले घर फर्क्यो। उसैपनी यि इजरायलीलाई मुखभरीको जवाफ दिनपनी उसको नबिन आइपुग्नुपर्ने थियो। शारिरिक् सामिप्यता बिना माया प्रेम नै नहोला जस्तो यि नकच्चरा नकच्चरिहरु सोध्छन् बेलाबेलामा,"आत लेबाद? एन्लाख खाबेर?(तिमी एक्लै? ब्वाइफ्रेण्ड छैन?" एख लिस्तदेर लेबाद? बाला बे नेपाल ,,आत लो रोच्च्सा पो एखात खाबेर? कसरी म्यानेज गर्नु? श्रीमान नेपालमा! तिमी यहीँ एउटा ब्वाइफ्रेण्ड चाहँदिनौ?"? )नाता र सम्बन्धमा शारिरिक सामिप्यता बिना इमान्दारिता नै हुँदैन क्यारे यि बिदेशीहरुको त उफ्फ्फ! निला गर्बिलो जवाफ दिन्थी रबाफको साथ," ओद कामा खोदेस बाली याबो पो! आनाख्नु लो ओसिम काखा । मेखाकिम ले बाल! के(ही महिनामै मेरो लोग्ने यहीँ आउंदैछ। हामी यस्तो गर्दैनौँ आफ्नो लोग्नेलाई पर्खिन्छौँ!" )पखेस्न ! नबिन आएपछी यि पातरपातर्नीलाई कसरी देखाउँछु आँखैअगाडी म्वाइ खाएर भन्दै मुर्मुरिन्थी।
दिन बित्न के बेर लाग्छ र! समयको कुदाइमा हामी जोडीनुपर्दैन। उसैले लतार्दै लगिहाल्दोरहेछ। अन्तत: नबिनले पनि पाइला टेक्यो बेनगुरियन बिमानस्थल इजरायलमा एक झल्मलाउंदो रातमा। निर्धारित भन्दा २ घण्टा पहिल्यै एअरपोर्ट पुगेको निला अधिर भई अराइभल गेटको बाहिर उंघिरहेकी थिई। जसै नबिन देखापर्यो। निला स्तम्भित भई। उसका गोडा एकाएक जमेर कक्रक्क परे। खुब इजरायलैलाई मनमनै इख्याउँथी नबिन आएपछी आँखैअगाडी म्वाइ खान्छु भन्दै तर आँखैसामु नबिन उभिएको त्यस स्वर्णिम पलमा उसका हातगोडा कक्रिए। वास्तबमै संस्कार भनेको दुइचार बर्षको बिदेशी हावापानीले कहाँ पखालिनेरहेछ र! हर्षले मोतीका दाना गालाहुँदै छाती भिजाउन पुगे तर उसले सोचेजस्तो झम्टेर म्वाइ खान उसको त्यो गढेको संस्कारले ,सिकाइले,भोगाइले खोइ के ले दिएन। बरु नबिन नै नजिक आयो र बिस्तारै काँधमा हात राख्दै भनेको थियो," निली! मोटाइछौ राम्ररी!" आँखा पुछ्दै निहुरेर पोइका गोडा छोइ। त्यती परिमार्जन भएछ उसको संस्कारमा नत्र त झपक्क निधारले पोइका गोडा छुने गर्थी नेपालमा। त्यसरात जोइपोइ रोएरै रात काटे। भेटेको खुशीमा। त्यसबखत सम्म गुमाएको त्यो सामिप्यताको यादमा, छोडेर आएका साना नानीहरुको सम्झनामा र बाँकी सम्भाबित उज्यालो भबिस्यको कल्पनामा जोइपोइका चार आँखा गोल्भेँडा बनेका थिए बिहान सम्ममा। निलाकी इजरायलको कोही नजिकको साथी भनेकै सुलिना थिई। उसैलाई भेटाइ भोलिपल्टै नबिनलाई लगेर। निलाले स्याहर्ने बुढीआमैका सन्तानले नबिन आएको खुशीमा एक सांझ घरमै बार्बेक्यु पार्टी समेत आयोजना गरे। सबै खुशी थिए। निला खुशीले उछालिएकी थिई।
नबिनको इजरायल आगमनसङ्गै निलाको अनुहारमा गुलाफ फक्रिएको थियो भने ओठमा लालुपाते। निलाको काम देखी करिब दुइघन्टा दुरिमा नबिनले पनि एक अशक्त् इजरायली बाजे स्याहार्ने काम सुरुगर्यो। निलाको कल्पना जस्तै जोइपोइका कमाइ र सामिप्यताले दिन बित्तै गए। कसोकसो छोराछोरीका याद पनि नबिनकै अनुहार नियाल्दै मन बुझाउँथी । सुरुका केही महिना नबिन हरेक हप्ता निलाकोमा आउने गर्थ्यो। रातभरी रोएर हाँसेर बच्चाहरुका सम्झना गरेर खुशी हुन्थे दुइजना। नबिन असल थियो। इमान्दार लाग्थ्यो। हरेक महिनाको तलब निलाकै हातमा गनिदिन्थ्यो। एक्दिन नबिनले अबदेखी हरेक हप्ता नभेटिने कुरा गर्यो। उसका अनुसार कामको केही दुरीमा नबिनले ओभर्टाइम पाएको रहेछ अर्को एक जना बाजे कुर्नुपर्ने रे ,त्यस्बापत ५०$ दिनेरे। निलाले आनाकानी गर्दै थिई। नबिनले सम्झायो। "हेर त्यतिका समय हामी एक्लाएक्लाई थियौँ र त भएकै थियो भने अहिले हामी कम्सेकम महिनामा त भेटिन्छौँ नि! हातमा आउनलगेको लक्ष्मी किन लत्याउनु!" लोग्नेको कुरो मनासिब् लाग्यो निलालाई। त्यसबेला देखी नबिन महिनामा एक्पटक तलब र ३ हप्ताको ओभरटाइमको पैसा समेत सबै एक एक हिसाब गरेर निलाको हातमा राख्न आइपुग्थ्यो। त्यही एकरातको माधुर्यताले महिना गन्दै बस्नथाली निला। निला सोच्थी अब केही बर्ष हो यो कहर जिन्दगी अनी त दु:खका दिन सकिने भए!+++++++
नबिन आएदेखी निला र सुलिनाको भेट्घाट पनि पातलिएको थियो .एक झिस्मिसे बिहान घरपछाडीको माख्सान(स्टोर रुम) मा बाजेको खितुल (डाइपर) को प्याकेट झिक्न जाँदा पर झाङ्गनिरको जैतुनको रुखमा छायाजस्तो झल्यकझुलुक गरेको देखी सुलिनाले। के रहेछ भनी अलिक नजिक जाँदा त्यहा निला थिई। जैतुनको हाँगामा डोरी बाँधेर आफ्नो घाँटि कस्न ठीक परेकी निलालाई देख्नासाथ सुलिना झम्टेर पुगी र निलालाई रोकी। उमेरमा आमाछोरी जस्ता लाग्ने सुलिना र निलाको आँखा जुध्यो। निलाको आँखा चम्किला नभएर राता राता थियो। नाक पनि आँखैजस्ता थिए रातै। 'लेट मि डाइ सुलिना! माइ लाइफ इज ओभर! आइ कान्ट लिभ विद आउट नबिन! हि लेफ्ट मि एन्ड माइ किड्स! हि डिसिभ मि!" निला चिच्याउन थाली। सुलिना हक्कबक्क परी। एक थप्पड गालामा बजाएर अनेक पटक नबिनको बारेमा सोधेपछी बल्ल निलाले बताई। सुरुमा निलाका कुरा सुलिनाले एकरत्ती पत्त्याइन। पत्याओस पनि कसरी! सकेसम्म आन्तरिक कुरा धेर नखोल्ने निलाले जतिपनी कुरागर्थी नबिनको तारिफ मात्रै गर्थी। जब नबिन इजरायल आयो तब सुलिनाले यकिन गरी कि नबिन निलाको तारिफ भन्दा अझै माथिको रहेछ। बरु टोलाएर घण्टौँ आकाश नियाल्ने तर मनको बह हत्तपत्त नपोख्ने निला आज यसरी एकाएक चुपचाप यो परदेशमा जीवन टुङ्ग्याउन लागेको देख्दा सुलिना स्वयँ थामिन नसकेर घुँक्क घुँक्क गर्न थालि। निलालाई कुनै जोर्जुलुम गरिन बस् रुन दिई। भारी मनको आधा भार आँशुमा बगाएपछी बल्ल निलाको मुखबाट शब्द निस्किन थालयो। सुन्दा कुनै चलचित्रको काहानी जस्तो लाग्ने यथार्थ निलाको मुखबाट सुन्दा सुलिनाका मुख ह्वाङ्गै रहे निकैबेर सम्म अचम्म अचम्मले। त्यतिमाथी निलाले भगवान मान्ने नबिन आफु इजरायल आएको केही महिनामै ओभरटाइम पाएको बहानामा निलासङ्ग्ग टाढिएको त खास कारण एकदमै घ्रिणित रहेछ निलाको अनुसार। नबिनको ओभरटाइम कुनै अशक्त बाजे हेर्नु नभएर एउटी इण्डियन केटी रहिछे जो एक अन्धी बहिरी इजरायली बुढी स्याहार्दीरहिछे। निकै धनी बुढी स्याहार्ने इण्डियन केटी हेर्नमा पनि अत्यन्तै राम्री रहिछे बिबाहित भएर पनि निला भन्दा जवान पनि रहिछे। भगवान जानोस् नबिनले उसलाई फसायो या त्यो मेघना नाम गरेकी इण्डियनले नबिनलाई फसाइ तर दुबइ एकअर्कामा फसिसकेका रहेछन्। निलाको विश्वाश कायम राख्न र मेघनाको बैंशालु भोक टार्न नबिन र मेघना दुबै मिलेर नबिनले बिताएको हप्तान्तमा ओभरटाइम मुताबिक को ५०$ मेघनाले दिने र त्यही पैसा नबिनले निलाको हातमा राखिदिने गर्दारहेछन जुन घ्रिणित सत्यसँग निला महिनौँ बेखबर थिई। हिसाब कत्ती तलमाथी नगरि ओभरटाइम समेतको पैसा एक एक हातमा राखिदिने नबिन सुरुसुरुमा त महिनाको एकपटक आउँदा निकै थाकेको हुन्थ्यो। बिचरा कामले गलेको होला भन्दै निला राती अबेर सम्म जैतुनको तेलले नबिनको गोडा मालिस गर्थी तर हरेकपटक जसो महिनान्तमा आउँदा पछीपछी निलाले केही फरक पन आउंदै थिई। बिशेष गरी शारिरिक सम्बन्धमा नबिनको रुची ठ्याम्मै हराएको थियो। कहिलेकाहीँ संका आएपनी बिचरा कामले भुतुक्क थाकेको छ। यस्तो सोच्दापनी मलाई पाप लाग्छ भन्दै बस्थी तर लोग्ने मान्छे न हो। बैदेशिक रोजगारमा भासिएपछी कसैका लोग्नेले ढोका दिएको त कसैका श्वासनीले जहाज डुबाएको। लोग्ने बिदेशमा श्वासनी नेपालमा मस्तिमा धुत।श्वासनी बिदेशमा त लोग्ने अर्कैसँग मस्त हुनेगरेका घटना त प्रसस्तै सुनिन्थ्यो तर लोग्नेश्वासनी दुइटै सँगैहुने अवशर पाएका, चित्त बुझ्दो कमाइ गरिरहेका र कुनै धोखाधडी व्यबहार नदेखिएको यस्तो अवस्थामा आफ्नै लोग्ने त्यसरी गिर्ला या कुनै केटी मान्छे शारिरिक भोक मेटाउनकै लागि कोही विवाहित लोग्नेमान्छेलाई ज्याला तिरेर अपनाउली भन्ने कुरा त निलाले सपनामा समेत सोचेकी थिइन। पहिले पहिले श्रीमान बिदेसिन्थे धेर र लोग्नेको पसिना घरमा बसिबसि परपुरुषमाथी उडाउने स्वास्नीहरुको बयान समाजका सबै भलाद्मीको मुखको मन्त्र थियो। अहिले श्रीमतीहरु पनि कमाउन निस्किन्छन र घरको लोग्नेलाई थाङ्नामा सुताएर ब्वाइफ्रेण्डसङ्ग झुत्तीने श्वासनीहरुको समाचार(चाहे त्यो कुन हद सम्म बधाईँचढाइ गरिएकै किन नओस्) प्रचार गरेर स्वाद लिनेको कमी छैन चाहे ति अनपढ गंवार जमात हुन् या बौद्दिक वर्ग! तर श्रीमतिकै नाकमुनी कसैसँग ज्यालामा सुतेर परिवार तथा समाजकै आँखामा छारोहल्ने नबिनहरुको खबर कस्ले राख्नु! चर्चा कस्ले गर्नु र किन गर्नु?? आखिर नबिन नबिन हो र यो समाजको लोग्ने मान्छे हो । त्यै काम निलाबाट हुँदो हो त यो समाज जिब्रो फड्कारी फड्कारी बडो स्वादले उक्त खबर डकार्थ्यो । +++++++++++
आखिर जिन्दगी न हो कुन मोडमा कस्तो तमासा देख्नु र भोग्नुपर्ने हो भन्ने कस्लाई थाहा! मान्छेको इमान्दारिता न त निधारमा खोपिएको हुन्छ न त व्यबहारमै झल्किनेरहेछ। आखिर बिपत्ती ढोल नबजाइ नै आउँदोरहेछ हठात् हठात्! जतिनै थाकेपनी महिनामा एकरात श्रीमती भेट्दा किन यस्तो उपेक्षा!! केही त पक्कै छ भनेर जासुसी गर्दा निलाले नबिनको त्यो पर्दाभित्रको ओभरटाइम उदाङ्गो पारीछे। पहिले त नबिन र मेघनाले आनकानी गरेछन् तर नखुस्किनु धोती खुस्किसकेपछी अन्तमा नबिन र मेघनाले एकसाथ घोषणा गरेछन् अब उप्रान्त उसले नबिन पाउँदिन। उसको लोग्ने पाउंदिन र पाउँदिन उसका लालाबालाको पिता!! त्यसबिहान निला यती रोइकी सुलिनाले उसका आँशु टिपेर राखेकी भए त्यसका सामु लालसागर सानो हुँदोहो। आफ्नी छोरी समानकी एउटी सफा मनकी केटी त्यसरी निरिह बनेर आफ्नै छातीमा टाउको जोतेर रोइरहंदा रोमानियामा जन्मेकी सुलिनाको मन कसैगरी थामिएन। दुबै अङ्गालो मारेर निकैबेर रोइरहे। लामो सुंकसुंक पछी निलाले आफुलाई केही हलुको पाइ। सँगइ मर्ने जिउने कसम खाएर जिन्दगी अगाडि बढाएको लोग्ने जसलाई ऊ भगवान मान्थी।जसले उसका गर्भमा बिज रोपेर दुई सन्तान जन्माउने सौभाग्य दिएको थियो त्यस्तो मान्छेको धोकामा आज कोही नित्तान्त पराइ कहाँकहाँ एउटी परदेशी जो सँग हिजो भेट भएको हो र शायद फेरी कहिल्यै नहोलापनी। उसैका छातीमा आडलगेर त्यसरी रुंदा आफुलाई निकै बिचरी निकै एक्ली पाइ।
टाउको उठाएर भनी," सुलिना! म अब बाँच्न सक्दिन! नबिन बिनाको जीवन म कुनै धनसम्पतीमा जोख्न सक्दिन। बाबुबाट त्यागिएका बच्चाहरुको उदास अनुहार म कसैगरी नियाल्न सक्दिन। म बाट ठुलो भूल भयो कि मैले नबिनलाई इजरायल ल्याएँ। म अब बाँच्दिन। मैले बच्चाहरुबाट उनका बाबु छिनेँ।," सुलिनाले मायाले मुसार्नुको साटो यसपाली एक गतिलो थप्पड निलाको गालामा बजाइ। निला उसैपनी केही सोच्न नसक्ने अवस्थामा थिई। यसबखत ति रोमानियन महिला एक भगवान बराबर भएर उभीईन निलाको अगाडि। सुलिनाले निकैबेर सम्झाइन् अझै भनुँ निलाका आँखा खोलिदीईन्। जिन्दगीको सत्य उद्घाटन गरिदीईन्। सही मानेमा बाँच्न सिकाइन्। जुन सत्य आज सम्म निलाले महसुस समेत गरेकी थिईन त्यो सत्य आज ति रोमानियनले आँखा अगाडि राखीदीईन्। निकै लामो सम्भाषपछी अन्तमा सुलिनाले भनिन्," हेर निला! जिन्दगीको अर्थ मर्नु होइन। मर्नु त सिद्दिनु हो, समाप्त हुनु हो। तिमी आज जीवनमा छौ। जो तिम्रा इच्छा र हातले चलाऊने र पाउने कुरो होइन। त्यसलाई भगवानको कृपा मानेर सदुपयोग गर। कोही आफ्नो जिम्मेवारी बाट भाग्यो भनेर तिमी पनि भाग्ने? कोही स्वार्थी भयो भनेर तिमी पनि हुने? कम्सेकम ति साना नानीहरुलाई सम्झ। यती राम्रो घरबार, परिवार छोडेर त्यस्तो स्वार्थी हुन सक्ने नबिनले तिम्रो समाप्तिपछी ति बच्चालाई हेर्छ? नहेरेको अवस्थामा तिनका हालत के होला, तिमी अनुमान गर्न सक्छौ? सन्तानको सवालमा सारा दुनियाँले आमालाई महान मानेको छ निला! त्यो महान शब्दको कदर गर र त्यो जिम्मेवारी निभाउ! नबिन गयो तिम्रो जिन्दगीबाट तर अरु सबै बाँकी छ। तिमी बाँकिछौ।" --------अरु के के भन्दै थिई सुलिना तर निलाको कानमा "...सन्तानको सवालमा सारा दुनियाँले आमालाई महान मानेको छ निला! त्यो महानशब्दको कदर गर र त्यो जिम्मेवारी निभाउ!" मात्रै गुन्जिरह्यो। झम्टेर सुलिनालाई अङालो मारी र निकै बेर गाला जोरेर अडिएपछी भनी," सुलिना! आज म प्रण गर्छु कि म अब गलत गर्नेछैन। म आफुमाथिको सबै जिम्मेवारी निभाउने प्रयास गरिरहनेछु। र सत्य सत्य! नबिनलाई बिर्सिनेछैन। म उसको प्रेम हुन सकिन । ऊ मेरो जिन्दगी हुनसकेन तर सत्य यही हो कि मेरा बच्चाको बाबु उही हो। मैले माया गरेको मान्छे उही हो। म भन्न सक्दिन कि जीवनको कुनै मोडमा नबिन फर्केर म कहाँ आउला । हो म अत्यन्तै क्रुद्द छु नबिनको यो निर्णयप्रती तर उसलाई घ्रिणा गर्न सक्दिन सुलिना! गाह्रोगारो छ म मेरो नबिनलाई म कोहिअरुसँग रमाएको हेरुँ तर कम्सेकम नबिन खुशी छ कतै। तिमी सही छौ! जिन्दगी यतिमै सकिएको छैन न त मेरो जिम्मेवारी टुङ्गिएको छ। तिम्रो यो गुण म् कहिल्यै भुल्नेछैन सुलिना! तिमी मेरी आमा हौ आमा! जसले जीवन दिन्छ । तिमीले आज मलाई मात्र बचाएकी छैनौ कि मेरा दुई साना नानीहरुलाई आमा दिएकी छौ। उनिहरुलाई भबिस्य दिएकी छौ र सहारा दिएकी छौ। धन्यवाद सुनिला! यतिबेला म सँग धेरथोर पैसा छ। गतिलो काम छ र शायद असरल्ल जिन्दगी छ तर मेरा बच्चा छैनन् साथमा। नबिन हुँदा सम्म म एक्लै छु भन्ने आभास थिएन शायद त्यही स्वार्थमा मैले बच्चाहरुलाई भुलेछु। या त कम्ती याद गरेछु। अब एक्लै भएं तिनका याद बेस्सरी आयो। म अर्को हप्ता नै नेपाल फर्किन्छु । तिम्रो यो गुन म तिमीलाई सँधै याद गरेर तिर्नेछु सुनिला!" यती भनेर निला साहसी अनुहार लिएर फर्की । सुलिना निला गएको हेरिरही।+++++++++++++++++
अगी निलाले बांधेको र झण्डैझण्डै निलाको जीवन समाप्त गर्न तम्सेको डोरी जैतुनको हाँगामा हल्लिरहेको थियो चिसो बतासको झोँकासङ्गै। सुलिना मुस्कुराइ; अन्तत: निला जिउँदै फर्की-……निला बाकसमा होइन जिउँदो सरिरमा नेपाल जाँदैछे। सुलिनाले डोरी एक झट्कामा तानी र पर हुत्त्याइदीई। पूर्व क्षितिजमा सुनौलो घाम मुस्कुराउने तर्खरमा थियो जसले निस्पट्ट अंधेरो रात छिचोलेरैपनी उज्यालोको अर्को अध्याय सुरुवात गरिसकेको थियो।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]